कक्षाकोठा जाँदैनन्, ट्युसन पढ्न सुर्खेततिर लर्को

कालीकोट,६ पाैष ।

 तिलागुफा–१ फोइमहादेवस्थित मालिका मावि बजेडीचौरमा कक्षा १० को हाजिरी रजिस्टरमा यस वर्ष २४ छात्र र २३ छात्रा गरी ४७ विद्यार्थी भर्ना छन् । तर विद्यालयमा एक जना पनि आउँदैनन् ।

‘सबै ट्युसन पढ्न सुर्खेततिर झरे,’ प्रधानाध्यापक खड्कराज पाण्डेले भने, ‘आधारभूत तहको दरबन्दी भएको विद्यालयले राहत र निजी स्रोतका शिक्षक राखेर १० कक्षासम्म विद्यालय चलाएका छौं, कसरी विद्यार्थीलाई ट्युसन पढ्न नजाऊ भनेर भन्ने ?’

चिसो बढेपछि माथिल्लो मात्र होइन, तल्लो कक्षाका विद्यार्थी पनि नियमित छैनन् । मंसिर १९ गते तिलागुफाको मालिकाचौरस्थित विद्यालयमा पुगेको जिल्लास्तरीय अनुगमन टोलीले कक्षा ९ मा ४१ जना भर्ना भए पनि कक्षामा २२ जना उपस्थित भएको भेटायो । अझ तलका कक्षामा ३० प्रतिशतभन्दा कम विद्यार्थी भेटिएको शिक्षा विकास तथा समन्वय इकाइ निमित्त प्रमुख प्रकाश धितालले बताए ।

उनका अनुसार टोलीले विद्यार्थीको नियमितता, गुणस्तरीय भौतिक पूर्वाधारको निर्माण, व्यवस्थापन, शिक्षक, अभिभावक र विद्यार्थीबीच अन्तरक्रियामा जोड दिँदै टोलीले सुझाव लेख्यो ।

यस्तै, राचुलीस्थित कालिका माविमा कक्षा १० मा १७ छात्रा र १४ छात्र गरी ३१ जना भर्ना भए पनि विद्यालयमा एक जना पनि छैनन् । ‘चिसो सिजनमा सबै सुर्खेत जाने चलन छ,’ शिक्षक बखतबहादुर शाहीले भने, ‘मावि तहमा शिक्षक भए पनि विद्यार्थी विद्यालय नआउने समस्या छ ।’

स्थानीय तहको चुनावपछि सुधारोन्मुख हुने अपेक्षा गरिएको शिक्षा क्षेत्रमा भइरहेको लापरबाहीबारे विद्यालय परिवार नै बेखबर हुनु दुःखद भएको अभिभावक जनक बुढाले बताए । ‘शिक्षकले भए पनि नपढाएपछि कर्जा–सापटी गरेरै भए पनि बालबालिकालाई ट्युसन पढ्न सुर्खेत पठाउनुपरेको छ,’ उनले भने, ‘एसईई नजिकिएको छ, बालबालिकाले कोर्स पूरा भएको छैन भनेपछि सुर्खेत पठाउनुको विकल्प छैन ।’ उनका छोरा १५ वर्षीय राजु र १६ वर्षीया छोरी गीता अहिले ट्युसन पढ्न सुर्खेतमा छन् ।

मालिका माविका प्रधानाध्यापक खड्कराज पाण्डेले सबै सरोकारवालाको सहयोग नभएसम्म विद्यालय सुधार गर्न कठिन भएको गुनासो गरे । ‘जाडोको निहुँ बनाएर विद्यालयमा भर्ना भएकामध्ये ३० प्रतिशत विद्यार्थी पनि नियमित आउँदैनन्,’ उनले भने, ‘कक्षा १० मा त एक जना पनि उपस्थित हुँदैनन् ।’ उनले मावि तहको दरबन्दी नभएको विद्यालयमा निजी स्रोतमा राखिएका ४ शिक्षकबाट पठनपाठन सञ्चालन गरिएको छ ।

त्यस्तै यहाँका दुर्गा मावि रतडा, कालिका मावि खल्ला, शिवालय मावि चिल्खायालगायत विद्यालयका पनि कक्षा १० का विद्यार्थी एसईईको तयारीका लागि सदरमुकाम मान्म, सुर्खेत, नेपालगन्जलगायतका ठाउँ झरिसकेको अभिभावकले बताए । ‘यता पढाइ हुँदैन,’ अभिभावक नवराज शाहीले भने, ‘ऋण सापट गरेर बच्चाहरू ट्युसन पढ्न सुर्खेत पठायौं ।’

कोरोनाले थलिएको विद्यालय क्षेत्रमा वैशाख र मंसिरको चुनावले पनि पठनपाठनमा बाधा पु¥याएको शिवालय मावि चिल्खायाका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिर्ख सुनारले बताए । कालीकोटका सबै स्थानीय तहले शिक्षा क्षेत्रमा ससर्त र निःसर्त गरी २१ देखि ३१ प्रतिशत बजेट विनियोजन गरेर खर्च गरे पनि लगानीअनुसारको उपलब्धि नभएको शिक्षा विकास तथा समन्वय इकाइ निमित्त प्रमुख प्रकाश धितालले बताए ।

कान्तिपुर 

कक्षाकोठा जाँदैनन्, ट्युसन पढ्न सुर्खेततिर लर्को

देउवालाई छैटौँ पटक प्रधानमन्त्री बन्ने बाटो खुला

कक्षाकोठा जाँदैनन्, ट्युसन पढ्न सुर्खेततिर लर्को

रुकुम पश्चिमको मुसीकोटमा कृषि मेला सुरु

Leave a comment

Your email address will not be published. Required fields are marked *