सुर्खेत खण्डमा एकसाथ निर्माण हुँदै, एक दर्जनभन्दा बढी पक्की पुल

सुर्खेत, ७ माघ ।
मदन भण्डारी राजमार्ग अन्तरगत सुर्खेत खण्डमा एक दर्जनभन्दा बढी अर्थात १५ वटा पुल बन्ने भएका छन् । जिल्लाको पूर्वक्षेत्र अर्थात धुलियाबिटदेखि भेडाबारीसम्म १२ वटा र पश्चिम खण्डमा तीन वटा पुल बन्न लागेका हुन् । सुर्खेतको पश्चिम खण्डमा विद्यापुर खोला, गुटु खोला र विउरेनी खोलामा र पूर्वी खण्डमा कल्याणको थोत्री खोला, खहरेखोला, गमखोला, चिङगाढ खोला, गंगटेखोला, करेखोला र रतु खोला लगायत विभिन्न खोलामा १२ वटा पुल निर्माण गर्न लागिएको मदन भण्डारी आयोजना निर्देशनालयका इन्जिनियर शिवशरण तिमल्सिनाले जानकारी दिए । उनका अनुसार चालु आर्थिक बर्षमा सानाठूला गरी १५ वटा पक्की पुल बन्नेछन् ।

१५ वटै पुल निर्माणका लागि ठेक्का प्रक्रिया सुरु भएको छ । हाल आयोजनाले पुल निर्माणका लागि बोलपत्र पेश गरेका कम्पनी छनौट र प्राविधिक मूल्यांकन लगायतका काम गरिरहेको छ । अबको हप्ता दिनभित्र ठेक्का टुंगाउने तिमिलसेनाले जनाए । राजमार्ग अन्तरगत सुर्खेतको पूर्वी खण्डमा स्तरोन्नति गर्न लागिएको छ । स्तरोन्नतिपछि पनि उपयुक्त हुनेगरी पुल निर्माण गर्न लागिएको हो । १५ पुल मध्ये अधिकांश ठूला हुन् भने केही साना पनि छन् । प्राविधिक हिसावले ठूला पुल निर्माण गर्नका असम्भव देखिएका खोलाहरुमा मात्रै पुलहरु निर्माण गरिनेछ ।

राष्ट्रिय राजमार्ग भएका कारण बाँकी क्षेत्रमा भने ठूला आधारका पुलहरु बन्नेछन् । पूर्वी खण्डमा थप तीन वटा पुल निर्माणका लागि ठेक्का प्रक्रिया थालिएको छ । तीन वटा पुलको पनि प्राविधिक अध्ययन सकिएको छ । ति पुल निर्माणको लागि पनि चाल आर्थिक बर्षमै ठेक्का सुरु गर्ने आयोजनाले जनाएको छ । ‘सुर्खेत खण्डमा १५ वटा पुलको ठेक्का प्रक्रिया टुंगिन लागेको छ’ उनले भने, ‘बाँकी तीन वटा पुलको पनि छिट्टै ठेक्का हुन्छ ।’

आयोजनाले सुर्खेतमा १२९ किलोमिटर सडक समेट्छ । जस मध्ये पूर्वमा ३५ र पश्चिममा ९४ किलोमिटर पर्छ । पूर्वमा धुलियाबिट–भेडाबारी–बोटेचौर सडक खण्ड र पश्चिममा बड्डीचौर–बेनीघाट सडकखण्ड पर्दछन् । यी दुबै सडक पुराना तर प्राथमिकतामा नपरेका सडकहरु हुन् । पूर्वीक्षेत्र अर्थात धुलियाबिट–भेडाबारी– बोटेचौर सडकको स्तरोन्नति गर्न थालिएको छ ।

डीपीआर अनुसार सडक नौ मिटर चौडाइसम्म कालोपत्रे गरिनेछ । हाल सडकमा औसत चार मिटर चौडाइ छ । स्तरोन्नति गर्दा झण्डै ५२ प्रतिशत सडक चौडा हुनेछ । आयोजना कार्यान्वयन गर्दा वीरेन्द्रनगर ११ र १३, लेकबेशीका १, २, ३, ४, ६, ७, ९ र १० र गुर्भाकोटका १०, १२, १३ र १४ वडाहरु प्रत्येक्ष प्रभावित हुनेछन् । सडक स्तरोन्नति भएको खण्डमा पूर्वका नागरिकलाई वीरेन्द्रनगर आउन सहज हुनेछ ।

२०३२ सालमा ट्याक खुलेको भेडाबारी सडक खण्ड ४६ बर्षसम्म स्तरोन्नति भएको छैन। पूर्वी खण्डमा करिव एकअर्ब रकममा तीन वटा निर्माण कम्पनी (कालीका, केएस र विधान्सी जेभी) ले स्तरोन्नतिको ठेक्का लिएका छन् । त्यस खण्डमा तीन चरणमा काम गर्ने तयारी भइरहेको छ । स्तरोन्नतिको काम अगाडि बढाउन आयोजनाले सुर्खेतमा कार्यालय राखेको छ ।

बनेन पश्चिम खण्डको प्रतिवेदन
मदन भण्डारी राजमार्ग अन्तरगत सुर्खेतको पश्चिम खण्डको स्तरोन्नतिमा ढिलाइ भएको छ । प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन (आईइ) हुन नसक्दा स्तरोन्नतिमा ढिलाइ भएको हो । ‘पश्चिम खण्ड अझै आइई भएकै छैन’ मदन भण्डारी राजमार्ग योजना कार्यालय सुर्खेतका इन्जिनियर जितेन्द्र शाहले भने, ‘ आइई तयार भएपछि मात्रै बाँकी काम सुरु हुन्छ ।’

आयोजनाले पूर्व र पश्चिम खण्डमा एकैसाथ डीपीआर र आइई थालेको थियो । पश्चिम खण्डको डीपीआर निर्माणकै चरणमा स्थानीयले अवरोध गरेका थिए । स्थानीयले पञ्चपुरीको खम्बागाडे पलैटे, बराइँचे हुँदै बाबियाचौर जोड्नुपर्ने कि खम्बागाडे शिवधाम बाबियाचौर हुँदै बाबियाचौर जोड्नुपर्ने भन्ने विषयमा विवाद भएको थियो ।

यही विवादका कारण सुरुवातमै वातावरणीय प्रभाव मूल्यांकनको काम प्रभावित भएको थियो । पश्चिम खण्डमा बराहताल गाउँपालिकाको बड्डिचौर हुँदै पश्चिम वेनीघाटसम्म ९४ किलोमिटर सडक पर्दछ । २०५१ सालमा ट्याक खोलिएको पश्चिम खण्ड अहिलेसम्म कालोपत्रे समेत हुन सकेको छैन । कालोपत्रे नहुँदा स्थानीयले सास्ती खेपिरहेका छन् ।

सुर्खेत खण्डमा एकसाथ निर्माण हुँदै, एक दर्जनभन्दा बढी पक्की पुल

साढे अठार करोडमा छिन्चु बसपार्क बन्दै

सुर्खेत खण्डमा एकसाथ निर्माण हुँदै, एक दर्जनभन्दा बढी पक्की पुल

कर्मचारी संगठनको अध्यक्षमा रावल

Leave a comment

Your email address will not be published. Required fields are marked *