पहिलेका सहकर्मी अहिलेका प्रतिस्पर्धी

जाजरकोट, २ कात्तिक ।
विगतको निर्वाचनमा एउटै मञ्चबाट भाषण गरेका तीन सहकर्मी अहिले चुनावी मैदानमा प्रतिस्पर्धामा उत्रिएका छन्। सत्ता गठबन्धन दल वाम लोकतान्त्रिकबाट नेकपा माओवादी केन्द्रका उपमहासचिव शक्ति बस्नेत र नेकपा एमालेका केन्द्रीय सदस्य निरज आचार्य तथा स्वतन्त्र उम्मेदवार नरबहादुर कार्की प्रतिनिधि सभा सदस्यका लागि प्रतिस्पर्धी भएका हुन् ।
२०७४ सालको चुनावमा शक्ति बस्नेतलाई एमालेका निरज आचार्य र स्वतन्त्रका नरबहादुर कार्कीले सघाएका थिए भने यतिबेला सत्ता गठबन्धन दल वाम लोकतान्त्रिकबाट बस्नेत तथा एमालेबाट आचार्य र स्वतन्त्रबाट कार्की प्रतिनिधि सभामा प्रतिस्पर्धा गरेका छन् ।
मङ्सिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनमा आफ्नो पक्षमा मतदातालाई फकाउन उम्मेदवारसहित नेता कार्यकर्ता गाउँबस्ती पुगेका छन् । विगतलाई फर्किएर हेर्दा जाजरकोटमा नेपाली कांग्रेस, एमाले, राप्रपा र माओवादीका उम्मेदवारले विजय प्राप्त गर्दै आएका छन्।
यतिबेला माओवादी केन्द्र र नेपाली कांग्रेसको गठबन्धन छ। गृह, स्वास्थ्य र वनमन्त्रीसमेत हुनुभएका नेकपा माआवादी केन्द्रका उपमहासचिव बस्नेत सत्ता गठबन्धन दल वाम लोकतान्त्रिकबाट पुनः उम्मेदवार बनेका छन् । उनि तेस्रो पटक चुनाव जित्ने दाउमा छन् । गत निर्वाचनमा एमाले–माओवादी गठबन्धनका कारण प्रदेश सभाको उम्मेदवारबाट वञ्चित भएका नेता आचार्यलाई नेकपा एमालेले प्रतिनिधि सभा सदस्यमा उम्मेदवार बनाएको छ।

साना दलले उम्मेदवारी दिए पनि बस्नेत र आचार्यबीच प्रतिस्पर्धा हुने देखिन्छ। राजनीतिक दल र स्वतन्त्र उम्मेदवारलगायतका नेता कार्यकर्तालाई पाँच वर्षमा गर्ने योजनासहित गाउँबस्तीका घरदैलोमा पुग्न भ्याइनभ्याइ भएको छ।
यता राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रतिनिधि सभामा दीपक खनाल, स्वतन्त्र रूपमा जीवन रूपान्तरणका अभियन्ता अन्तर्राष्ट्रिय प्रशिक्षक नरबहादुर कार्की राष्ट्रिय स्वतन्त्र पार्टीबाट राजबहादुर शाही चुनावी मैदानमा उत्रिएर बस्नेत र आचार्यलाई टक्कर दिने प्रयासमा छन् ।
यसैगरी प्रदेश सभा (क)मा सत्ता गठबन्धन दलबाट वेदराज सिंह, एमालेबाट डम्बरबहादुर सिंह, प्रदेश सभा (ख)मा सत्ता गठबन्धन दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य राजीवविक्रम शाह, एमालेबाट खिमबहादुर शाही स्वतन्त्र रूपमा कमानबहादुर खड्का, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रदेश सभा (क)मा गणेश बटाला र (ख)मा कृष्णबहादुर शाही उम्मेदवार बनेका छन् ।
सातवटा पालिका रहेको जाजरकोटमा भेरी, नलगाड नगरपालिका, बारेकोट र कुशे गाउँपालिकाका पाँचवटा वडा प्रदेश सभा (क)मा छन्। प्रदेश सभा (ख)मा छेडागाड नगरपालिका, शिवालय, जुनीचाँदे र कुशे गाउँपालिकाका चारवटा वडा छन्।
गोरखापत्र





