जन माविमा विद्यार्थीबाट असुलेको अवैध रकम अख्तियारको नियन्त्रणमा

सुर्खेत, १ भदौं ।
विद्यार्थीबाट रसिद, बिल नदिएर अवैध रुपमा असुलेको रकम अख्तियारले नियन्त्रणमा लिएको छ । सुर्खेतको सबैभन्दा पुुरानो, साधन स्रोतले पूर्ण जन नमूना माध्यमिक विद्यालय वीरेन्द्रनगर–६ बाट अवैध रकम नियन्त्रणमा लिइएको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतबाट खटिएको टोलीले विद्यालयमा कार्यरत कार्यालय सहायक र सूचना सहायकको टेबुलको घर्रा र दराजबाट विना रसिद विद्यार्थीबाट संकलन गरिएको २ लाख ७६ हजार ६ सय ९० रुपैयाँ नियन्त्रणमा लिइएको पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालय सुर्खेतले बुधबार पत्रकार सम्मेलन गरी घटनाका विषयमा सूचना अधिकारी भेषराज रिजालले जानकारी दिएका थिए । जन नमूना माध्यमिक विद्यालयले साउन २६ गते प्रकाशित कक्षा–११ को प्रवेश परिक्षाको नतिजामा उत्तिर्ण विद्यार्थीहरुबाट नेपालको संविधान र उच्च अदालत सुर्खेतको २०७८/०८/०१ गतेको परमादेश र २०७८/०२/२३ गतेको अन्तरिम आदेश विपरित भर्ना रकम बिल, रसिद नदिएर असुल गरी लुकाई राखेको थियो ।
निःशुल्क र सर्वशुलभ शिक्षाको कानूनि व्यवस्था विपरित बिल, रसिद नदिएर नगद रकम विद्यार्थीबाट उठाइरहेको सूचना र उजुरीका आधारमा आयोगको टोली छानविनका लागि विद्यालयमा पुगेको थियो ।
विद्यालयमा पुग्दा विद्यालयका कार्यालय सहायक र सूचना सहायकको टेबुल मुनि लुकाई, छिपाई राखिएको अवस्थामा नगद रकम नियन्त्रणमा लिइएको आयोगका सूचना अधिकारी रिजालले जानकारी दिए । उनले भने “हामीले छानविन गरिरहेका छौं । नगदै रकम र केही कागजात नियन्त्रणमा लिएका छौं । बाँकी अनुसन्धान गरी कानून बमोजिम कारवाही प्रक्रिया बढाईनेछ ।”





