दुई मान्छेको ज्यानलिने पाटेबाघ घुईयाबारीबाट समातियो

दिलिप ढकाल
भेरीगंगा, १ भदौं ।
सल्यानको कालिमाटी गाउपालिका वडा नम्बर ७ घुईयाबारी बाट पाटे बाघ नियन्त्रण मा लिइएको छ । बर्दिया राष्ट्रिय निकुञ्जको टोली, चेतन उपभोक्ता समिति तथा स्थानीयको सहयोगमा बुधबार बिहान करिब ९ बजे आसपासको समयमा पाटे बाघ नियन्त्रणमा लिइएको भेरीगंगा नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष प्रेम बहादुर सारुले जानकारी दिनुभयो ।

कालिमाटी गाउँपालिका–७ मा बुधबार बिहान गोठमा बाँधेका २ वटा गोरु मारे पछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । बाघले गोरु मारेको सुचना पाएपछि घटना स्थलमा पुगेका बर्दिया राष्ट्रिय निकुञ्जको टोली र प्रहरीले उक्त पाटे बाघ लाई नियन्त्रणमा लिएको जनाइएको छ ।
यस अघि आईतबार भेरीगंगा ५ बबई गेरुवानीका ४८ बर्षिय राम बहादुर चन्द, ६७ बर्षीय कबि वलीको पनि बाघको आक्रमणबाट ज्यान गएको थियो । आइतबार घटना भएको ठाउँ भन्दा करिब २ किलोमिटर टाढाबाट बाघ नियन्त्रण लिइएको वडा अध्यक्ष सारुले जानकारी दिनुभयो ।
नियन्त्रणमा लिएको सो बाघ बाँके राष्ट्रिय निकुञ्जमा पठाईएको छ । यसअघि आईतबार २ जनाको ज्यान लिएको बाघ पनि यहि हुन सक्ने अनुमान गरिएको समेत उहाँले बताउनु भएको छ ।





