निर्वाचनका लागि जाजरकोटमा तयारी पूरा

जाजरकोट,२८ कात्तिक ।
मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि जाजरकोटमा तयारी पूरा भएको छ । निर्वाचनका लागि तालिम सकिएको र सामग्री बुझाउने काम मात्र बाँकी रहेको जिल्ला निर्वाचन कार्यालय जाजरकोटले जनाएको छ । क्षेत्र नम्बर १ र २ मा खटिने मतदान र सहायक मतदान अधिकृतलाई २५,२६ र २७ गते तालिम प्रदान गरिएको छ ।
क्षेत्र नम्बर १ अन्तर्गतका ७५ मतदान अधिकृत, ७५ सहायक मतदान अधिकृत र ३ सय ७५ सहायक कर्मचारी रहेका छन् भने क्षेत्र नम्बर २ अन्तर्गतका ६७ जना मतदान अधिकृत, ६७ सहायक मतदान अधिकृत ३ सय ३५ सहायक कर्मचारी र ६७ जना सहयोगी कर्मचारीलाई तालिम सम्पन्न भएको जिल्ला निर्वाचन कार्यालय प्रमुख नविन कुमार कठायतले दर्शन खबरलाई बताए ।
तालिममा कानुनी, व्यावहारिक र सैद्धान्तिक पक्षबारे जानकारी दिइइएको छ । मतदान अधिकृत र सहायक मतदान अधिकृतले गर्नुपर्ने काम, कर्तव्य, अधिकारको क्षेत्र तथा मतदान केन्द्र निर्माण गर्ने तरिकाका विषयमा जानकारी गराइएको छ । मतदान केन्द्रमा पुग्नुअघि र पुगेपछि गर्नुपर्ने काम, मतदातालाई भित्र भोट हाल्न कसरी पठाउने, भोट हालिसकेपछि सुरक्षित कसरी बाहिर ल्याउने, निर्वाचन सकिएपछि के के गर्नेलगायत विषयमा तालिममा जानकारी गराइएको उनले बताए ।
प्रमुख कठायतले निर्वाचनमा खटिने कर्मचारीले निष्पक्ष भएर जिम्मेवारी पूरा गर्नुपर्ने बताए । कठायतले आचारसंहिता बाँधिएर निर्वाचनलाई सम्पन्न गराउनेतर्फ ध्यान दिन आग्रह गर्दै भने “निर्वाचनमा खटिएपछि सबैले आफ्नो आस्थालाई बिर्सिनुपर्छ, सबैलाई समान नजरले हेरेर निष्पक्षरुपमा निर्वाचन सम्पन्न गराउनेतर्फ लाग्नुपर्छ ।” जिल्लामा निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको तथा कर्मचारीलाई मतदान केन्द्रमा पठाउन र सामग्री बुझाउन मात्र बाँकी रहेको निर्वाचन अधिकारी कठायतले बताए ।





