ग्रामीण सडकको बेहाल

सल्यान,२८ असोज ।

अविरल वर्षाका कारण ठाउँठाउँमा पहिरो जाँदा मुगु र सल्यानका सबैजसो ग्रामीण सडक तहसनहस भएका छन् । सडकमा पहिरो जाँदा ठूलो क्षति भएकाले सबै सडक सञ्चालनमा ल्याउन दुई महिनाभन्दा बढी समय लाग्ने सडक डिभिजन कार्यालयले जनाएको छ ।

मुगुको गमगढी–सोरुकोट सडकखण्डमा ४८ ठाउँमा पहिरो गएको डिभिजन कार्यालयको तथ्यांक छ । सडक अवरुद्ध हुँदा स्थानीयलाई गमगढी आउन र सोरुकोट जान सास्ती भएको छ । स्थानीयहरू रुमखोलाको उकालो चढेर रारा लेक हुँदै पैदलै सोरुकोट आउजाउ गर्न बाध्य छन् । बाढी पहिरोले गमगढी–सोरुकोट सडक पुरै तहसनहस भएको सोरु गाउँपालिका उपाध्यक्ष केशरबहादुर शाहीले बताए ।

मुगुमकार्मारोङ गाउँपालिका जोड्ने गमगढी–छाइल सडकखण्ड पनि पहिरोले क्षतविच्छेद भएको छ । उक्त सडकको करिब ३५ स्थानमा पहिरो खसेको छ । लुम्स भटडाडीदेखि सालिम खोलासम्मको सडकमा ठूलो क्षति पुगेपछि स्थानीयहरू घण्टौं हिँडेर गन्तव्यमा पुग्न बाध्य भएको लुम्सका कम्मर ऐडीले बताए । ‘

गाडी त कहिले चल्ने हुन् कहिले ?,’ उनले भने, ‘हामीलाई त सडकमा पहिरै पहिरो गएपछि हिँडेर सदरमुकाम आउनसमेत मुस्किल भएको छ ।’ उनका अनुसार गमगढी–बालै–पिना सडकखण्डमा पनि कम्तीमा २० ठाउँमा पहिरो खसेका छ ।

सडक डिभिजन कार्यालयका अनुसार कर्णाली राजमार्गअन्तर्गतको ताल्चा–रारा विमानस्थल–गमगढी सडकखण्डमा पनि ठाउँठाउँमा पहिरो खसेको छ ।

उक्त सडकको कालीकोटको नाग्मादेखि ९४ किलोमिटर सडकमा साना–ठूला गरी ६१ ठाउँमा पहिरो खसेको प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले बताए । उनका अनुसार पहिरोले गमगढी जोड्ने मुख्य राजमार्ग नै अबरुद्ध भएपछि सुर्खेत र नेपालगन्ज जान समस्या भएको छ ।

सडक बन्द हुँदा गमगढीमा दैनिक उपभोग्य वस्तुको अभाव चुलिँदै गएको छ । सडक अवरुद्ध भएपछि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको चामल ढुवानीमा पनि समस्या भएको उनले बताए । वर्षाका कारण अवरुद्ध भएको मुगुको हवाई सेवा भने एक सातादेखि सञ्चालन भएको छ ।

सल्यानमा मापदण्डबिना खनेका सडकमा नालाको व्यवस्था नहुँदा सडकहरू ठाउँठाउँमा चिराचिरा परेका छन् । वर्षाका कारण सडकमा पहिरो जाँदा र हिलाम्मे हुँदा गाडी चल्न नसकेपछि यात्रुहरू गन्तव्यमा पुग्न सकेका छैनन् । कतिपय स्थानमा फसेका गाडी धकेल्दै यात्रा गर्नुपर्ने बाध्यता छ ।

वर्षाले सडक क्षतविच्छेद हुँदा घरबाट सदरमुकाम आउन ६ घन्टाभन्दा बढी समय लागेको कुमाख गाउँपालिका–५ कालागाउँका धनबहादुर बुढाथोकीले बताए । ‘पैदल हिँड्ने बाटोसमेत छैन, जताततै पहिरै पहिरो छ, पहिले २ घण्टामा पुग्न सकिने बाटामा फेरो लगाएर हिँड्नुपर्ने बाध्यता छ,’ उनले भने, ‘अहिले त गाडी चढ्नै डर लाग्ने भइसक्यो ।’

लगातार परेको वर्षाले कच्ची सडकमा गाडी गुडाउनै समस्या भएको बन्गाडकुपिण्डे नगरपालिका–१२ निगालचुलाका पूर्णबहादुर घर्तीले बताए ।

‘लगातारको वर्षाले सदरमुकाम आउने सडकमा झण्डै ५० मिटरको दूरीमा पनि पहिरै पहिरो छ, कुनै ठाउँमा सडक चिरा परेको छ त कतै सडक छेउबाट भासिएको छ,’ उनले भने, ‘असार÷साउनमा वर्षाले क्षति पु¥याएको सडक मर्मत गरेपछि गाडी गुडन थालेका थिए, फेरि जताततै पहिरै पहिरो गयो ।’ उनले सडकको दुरावस्थाका कारण बिरामीलाई अस्पतालसम्म पु¥याउन पनि मुस्किल भएको बताए ।

कालीमाटी गाउँपालिका–५ दम्दवालीका सुरेशकुमार गाहामगरले सडक अबरुद्ध हुँदा घरबाट बाहिर निस्कन नसकेको बताए । लगातारको वर्षाले जिल्लाभरिका २३ सडकमा यातायातका साधन बन्द भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

कपुरकोट गाउँपालिका अध्यक्ष दुर्गा पुनले डोजर लगाएर पहिरो हटाउन खोजे पनि माथिबाट पहिरो खस्ने क्रम नरोकिएकाले समस्या भएको बताए । ‘वर्षा पूर्णरुपमा नरोकिँदा पहिरो हटाउन समस्या भएको छ,’ उनले भने, ‘५ दिनको वर्षाले सडकहरू क्षतविच्छेद भएका छन्, हामीले सुचारु गर्ने प्रयास भने जारी राखेका छौं ।’ दार्मा गाउँपालिका अध्यक्ष निमबहादुर केसीले हिलाम्मे भएका सडकमा ढुंगामाटो हालेर पुर्न थालिएको जानकारी दिए ।

कान्तिपुर

ग्रामीण सडकको बेहाल

राष्ट्रिय महिला भलिबलः एपिएफको विजयी यात्रा सुरु

ग्रामीण सडकको बेहाल

वीरेन्द्रनगर बजार बन्द , व्यावसायीहरुले बुझाए ज्ञापन

Leave a comment

Your email address will not be published. Required fields are marked *