घरव्यहारले सकेन छेक्न, ढल्कदों उमेरमा पढ्न र लेख्न

सिर्जना बुढाथोकी
सुर्खेत, २९ साउन ।
सामान्यतया शनिबारको दिन धैरैजनाका लागि छुट्टीको दिन, आराम र रमाइलो गर्ने मौकापनि । हप्तादिनको काम विसाएर घरपरिवारसंग समय बिताउने राम्रो अवसरपनि हो शनिबार । हप्ताको ६ दिन मरिमेटेर घरव्यहार र पसलव्यवसायको काम गर्नेले शनिबारको एक दिन सारा कामको तनाव चिन्ता भूलेर आप्mना लागि समय निकाल्ने, परिवारसंग रमाइलो गर्ने र बचेको समय सकेसम्म आराम गर्ने ध्याउन्नमै हुन्छन् ।
तर, वीरेन्द्रनगर १ की बालकमारी सुनारलाई भने अरु दिनभन्दा शनिबार झन् बढि हतारो र काम सकाउने चटारो हुन्छ । शनिबारका दिन घरका साना ठूला सबै जना छुट्टी मनाइँरहदा उनलाई कतिबेला भातभान्सा सकौंला र कुदौलाझैें हुन्छ । विदाको निद , शनिबार भएपनि यस्तै चटारो हुन्छ वीरेन्द्रनगर ३ की विमला रञ्जितकारलाई पनि । घरव्यवहार धान्ने बुहारी घरमा हुँदा हुँदैपनि उनलाई शनिबारको १२ बजेभन्दा अगाडि वीरेन्द्रनगरस्थित अमेरिकन कर्नर पुग्ने हतारो हरेक शनिबार हुन्छन ।
बालकुमारी र विमलाको दैनिकी केहि फरक भएपनि लक्ष्य र गन्तब्य भने एउटै छ, हरेक शनिबार मध्यान्ह १२ बजे अमेरिकन कर्नरमा शुरु हुने अंग्रेजी भाषाको कक्षा लिने । उमेरले नेटो काट्दै गर्दा उनीहरुमा अंग्रेजी भाषा बोल्ने, लेख्ने र सिक्ने हुटहुटी भने हरेक दिन तरुनो हँुदै गइरहेको छ । त्यहि हुट्हुटीले उनीहरुलाई हरेक शनिबार अमेरिकन कर्नरमा हुने अंग्रेजी भाषाको कक्षा पुग्ने हतारो हुने गर्छ ।

एकपटक काठमाण्डौंमा पर्यटन बोर्डको कार्यालय पत्ता लगाउन विमलालाई झण्डै एक हप्ता लाग्यो । कार्यालयकै सामुन्ने उभिएर चारैदिशामा फन्फन्ति घुम्दासमेत उनले आँखै अगाडिको पर्यटन बोर्डको कार्यालय ठम्याउन सकिनन् । कारण थियो, नेपाल पर्यटन बोर्डको कार्यालयको नाम अंग्रेजीमा लेखिएको थियो नेपाल टुरिज्म बोर्ड ।
आफ्ना छोराछोरी, नातिनातिनालाई अंग्रेजीमा लेखिएको अक्षर देखाउँदै ‘यो भनेको के हो ?’ भनेर केहि सोध्दा उल्टै खप्की खानपर्यो उनले ।, ‘Þया…⁄ तपाईंलाई किन चाहियो बुढेशकालमा ?’ भन्ने आफन्तकै करौति जस्ता जवाफले मुटु करक्कै पारेपछि विमलालाई अंग्रेजी नसिकी नहुने धून सवार भयो ।तीनै विमला अहिले आफ्नी नातिनीसंगै अंग्रेजी भाषा सिकिरहकी छन् ।
पर्यटन बोर्डको अफिस मैले एक हप्ता लगाएर भेटाए उनले भनिन ‘त्यो पर्यटन बोर्डको नाम अंग्रेजीमा लेखेको रै’छ, नाम पढ्न नजानेर त्यहि वरपर घूमेर खोज्दा एक हप्ता लाग्यो ।’ व्यक्तिगत इखले मात्र हैन पेशा र व्यवसायकै कारणपनि अंग्रेजी नसिकी नहुने बाध्यतामा रहेका महिलाहरुका लागि अहिले सजिलो ठाउँ बनेको छ अमेरिकन कर्नर ।
वीरेन्द्रनगर नगरपालिका वडा न ६ की बेबा राई पेशाले कपडा सिलाउने काम गर्छिन्न्। उनले आफ्नो व्यवसाय सञ्चालन गरिरहँदा अंग्रेजी भाषा नजानेकै कारण समस्या हुन थालेपछि अंग्रेजी सिक्नुपर्ने बाध्यता उनलाई आइलागेको हो । कपडा सिलाउनका लागि आउने विदेशी ग्राहकले अंग्रेजीमा बोल्दा आपूmले त्यहि अनुसारको जवाफ फर्काउन नसक्दाको समस्या समाधान गर्न उनी यसैगरी शनिबार आइपुग्छिन अंग्रेजी पढ्न, सिक्न ।
घर व्यवहारसंगै कुनै न कुनै उद्यममा जोडिएका उनीहरुजस्ता अधिकांश महिलालाई नयाँ कुरा सिक्ने बुभ्mने जानने फुर्सद अघि पछि हुँदैन् । त्यहि भएर शनिबारको छुट्टीका दिन उनीहरु आप्mनो इच्छा चाहना अनुसारको सिकाइका लागि हतारिने गर्छन् ।

विमला, बेवा, बालकुमारी जस्तै वीरेन्द्रनगर ९ की जानकी थापा, वीरेन्द्रनगर ३ की सुनिता बुढा, वीरेन्द्रनगर १ की ज्ञानु कँडेल लगायतका १३ जना महिलाहरु हरेक शनिबारजसो अमेरिकन कर्नरको हलमा अंग्रेजी सिकिरहेका भेटिन्छन् । अंग्रेजी सिक्नुपर्ने उनीहरुका बाध्यता, रहर र इख सबै उत्तिकै छन् ।
हरेक शनिवार १२ बजेदेखि करिब २ घण्टा उनीहरुलाई कर्नरले अंग्रेजी भाषा कक्षा दिइरहेको छ । उनीहरुलाई यसरी अंग्रेजी सिक्न इच्छा लागेको र उनीहरुले सिक्नका लागी देखाएको चासो देख्दा आपूmपनि निकै खुशी भएको अंग्रेजी पढाई रहेकी सुस्मिता गिरीले बताइन् । ‘उहाँहरुलाई त शुरुमा अंग्रेजी भनेको के रहेछ जो हामीले सिक्ने सक्दैनौ जस्तो लाग्थ्योु, उनले भनिन्, ‘अंग्रेजी सिक्नकै लागि उहाँहरुले जो मेहेनत गर्नुभएको छ त्यो देख्दा मलाई असाध्यै खुशी लागेको छ।’
शुरु शुरुमा अंग्रेजी सिक्न आउँदा आफ्नो नामसमेत भन्न हिच्किचाउने उनीहरुले अहिले माइ नेम इज् भन्दै फरर् अंग्रेजीमा आप्mनो नाम भन्ने मात्र हैन, हाउ आर यु, आई एम फाइन थ्यांकु यु जस्ता सामान्य औपचारिक बोलीचालीका भाषा बोल्न सक्ने भइसकेका छन् । अधवैशै उमेरमा साना केटाकेटीलेझैं ए..बी..सी..डी बाट पढाई शुरु गरेका उनीहरुले अहिले कक्षा कोठा प्रवेश गर्दै गर्दा बोल्ने अंगे्रेजी सुनेर आपूmपनि प्रभावित भएको शिक्षिका गिरीले बताइन् ।
आप्mनो मिहिनेत र उनीहरुको लगनशीलताले ल्याएको परिवर्तनबारे गर्विलो पारामा उनले सुनाइन्, ‘मैले त उहाँहरु सबैलाई जोडर एउटा फेसबुक ग्रुपच्याट पनि बनाएको छु, हामी सबै त्यसमा अंग्रेजीमै कुराकानी गछौं ।’ बुढ्यौली उमेर लाग्दै गरेका आमा समानका महिलाहरुलई यो उसो भनेर सिकाउँदो लागेको समय र मिहिनेत सम्झेर होला, उनीहरुले सिकेजानेका कुराको व्याख्या गरिरहँदा शिक्षिका गिरीका अनुहारमा खुशी र गर्वको भाव मुस्कुराहटका साथ झल्किरहे थियो ।
करिव १० वर्षअघि अमेरिकन राजदूतावासको सहयोगमा सुर्खेत उद्योग वाणिज्य संघअन्तर्गत सञ्चालन हुने गरी वीरेन्द्रनगरमा अमेरिकन कर्नर (इ लाइब्रेरी) को स्थापना भएको हो । खासगरी बालबालिका र युवाहरुलाई दैनिक सकारात्मक क्रियाकलापमा संलग्न बनाउने उद्देश्यले सोहि अनुसारका गतिविधि गर्दै आएको कर्नरले अंग्रेजी सिकाउने अभ्यास थालेको कर्नरका कार्यक्रम संयोजक ह्देश केसीले बताए ।
अंग्रेजी सिक्न, बोल्न चाहनेका लागि निःशुल्क रुपमा कक्षा सञ्चालन गरिएको बताउँदै उनले भने, ’उहाँहरुले अंग्रेजी सिक्नका लागि देखाएको उत्साह र चाहनाकै कारण शनिबारका दिन अंग्रेजी कक्षा शुरु गरिएको हो ।’ ‘समाजलाई कस्तो किसिमका ज्ञान आवश्यक छ, त्यो अमेरिकन कर्नरले दिने गरको छ ।’
उनले भने, ‘हाम्रो संस्कृति अरुलाई बुझाउने र अरुका संस्कृति हामीले बुभ्mने गरी हामीले काम गरिरहेका छौं ।’ बाल तथा युवाहरुको बौद्धिक विकासका साथै स्थानीय महिलाहरुले उत्पादन गरेका घरेलु उत्पादनहरुको पनि विभिन्न देशमा प्रचारप्रसार र प्रवद्र्धनको कामपनि अमेरिकन कर्नरमार्फत हुँदै आएको केसीले जानकारी दिए ।






