महंगो घरभाडा र चर्को व्याजबाट पलायनको अवस्थामा व्यवसायी

पुनम वि.सी.
सुर्खेत, २९ असार
वीरेन्द्रनगर–६ स्थित ‘सिटी भ्यू’ सुर्खेतमा परिचित होटल थियो । सुर्खेतका प्रतिष्ठित व्यापारीहरुको समूहले सञ्चालन गरेको यो होटल अहिले बन्दको अवस्थामा पुगेको छ । कोभिड–१९ को समय अघि वीरेन्द्रनगरमा राम्रो व्यवसायका रुपमा यो होटल सञ्चालन भईरहेको थियो । तर हालको समयमा यस होटलको सेवा बन्द गरिएको छ । कोभिड पछि व्यवसायमा आएको गिरावट, महंगो घरभाडा र बैंकको अस्थिर चकों व्याजका कारण होटल बन्द हुने अवस्थामा पुगेको छ ।

सिटी भ्यू होटल मात्र होइन यहाँ सञ्चालित अन्य व्यवसाय पनि पलायनको स्थितीमा पुगेका छन् । लगानीकर्ताहरु व्यवसाय बन्दै गरी बस्नुपर्ने अवस्था आएको छ । सुर्खेतका व्यवसायीहरु कोभिड–१९ पछिको आर्थिक तरलताको सिकार हुन थालेको देखिन्छ ।

वीरेन्द्रनगर–६ स्थित नेताचौक क्षेत्रमा ‘राजु कलेक्सन’ सञ्चालन गरिरहेका व्यवसायी राप्रप्रसाद जैसीले भने, ‘यहाँ व्यवसायीहरु दोहोरो मारमा परेका छन् । घरवेटीलाई नियमित रुपमा अस्वभाविक महंगो भाडा बुझाउनुपर्ने र बैंकको अस्थिर ब्याज पनि समयमा नै तिर्नुपर्ने अवस्था छ । कोभिड पछि हालको समयमा व्यापार खस्केको अवस्था छ । त्यसमाथी सरकारले आयात व्यापारमा कडाई थालेपछि अहिले सुर्खेतका व्यवसायीहरु पलायनको अवस्थामा पुगेका छन् ।’

फोटो क्याप्सनः वीरेन्द्रनगर स्थित सिद्वार्थ बैंकको शाखा कार्यालयमा सुर्खेत उद्योग वाणिज्य संघका महासचिव भद्र भण्डारीलगायत व्यवसायीहरुको समुह आफ्ना माग सहितको पत्र बुझाउदै । (तस्विर सौजन्यः सुर्खेत उद्योग वाणिज्य संघ)

हालको अवस्थाले मध्ययम वर्गीय व्यापारीलाई पलायनको अवस्थामा पुराएको र पुँजिवादीहरुको हालतमा अर्थतन्त्र पुगेको जैसीको धारणा छ । उनले भने, ‘अहिलेको अवस्थामा धनी वर्गसँग मात्र पैसा छ । मध्यम वर्गीयसहित तलका व्यवसायीहरु प्राय सबैजना मारमा परेका छन् । तरलताको अवस्था बैंकहरुले नै ल्याएका हुन् । अर्को अर्थमा बुझ्नुपर्दा पुँजिवादीहरुको एक समुहसँग देशको अर्थतन्त्रको तालाचावी पुगेको हामीले महशुस गरेका छौँ ।’

व्यवसायहरुले बैंकबाट ऋण लिने समयमा ६ प्रतिशत ब्याजदर थियो । अहिले त्यो पुगेर १३ प्रतिशतसम्म पनि पुगेको जैसी बताउँछन् । उनले भने, ‘वर्तमान अवस्थामा बैंकहरुले ऋण प्रवाह पनि रोकेका छन् । सुर्खेतका करिव ५० प्रतिशत व्यवसायीले बैंकलाई ब्याज समेत बुझाउन सकेको स्थिती छैन । यस्तो अवस्थामा व्यवसायी नै पलायन हुने डर सृजना भएको देखिन्छ ।’

यस अघिको समयमा बैंकले पनि अनुत्पादक क्षेत्रमा ऋण लगानी गरेको जैसीको आरोप छ । व्यवसायमा लगानी गर्ने भनि ल्याइएका ऋणहरु घर–जग्गा खरिदमा लगानी गरेकोले पनि अहिलेको अवस्था भोग्नुपरेको उनी बताउँछन् । उनले भने, ‘ठुला व्यवसायीलाई आँखा चिम्लेर बैंकले ऋण प्रवाह ग¥र्यो । उनीहरुले भने घर–जग्गा खरिदमा सो ऋण लगानी गरे । यसले पनि हालको अवस्था सृजनामा गम्भिर भुमिका खेलेको छ ।’

नेपालभर करिव १३ हजार व्यवसायी बैंकको कालोसूचीमा परेको बताउँदै सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मण कँडेलले कर्णालीमा पनि बैंकको कालोसूचीमा पर्ने व्यवसायीहरुको संख्या बढ्ने बताउँछन् । उनले भने, ‘कर्णालीको यथार्त तथ्यांक आईसकेको भने छैन । तर कर्णालीमा पनि बैंकको कालोसूचीमा पर्ने व्यवसायीहरुको संख्या आन्तरिक रुपमा बढ्दो अवस्थामा रहेको हामीले महशुस छौँ ।’

पहिलेको भन्दा हाल ७५ प्रतिशतले सुर्खेतको व्यापार घटेको उनी बताउँछन् । उनले भने, ‘एकातिर लगानी गरिएको व्यवसायमा व्यापार ह्वात्तै घटेको छ । अर्कातिर व्यवसायीलाई घरभाडा र बैंकको किस्ताले संधै सताउन थालेको छ । विकल्पका रुपमा व्यवसायीहरु चर्को व्याजमा भएपनि वाहिरबाटै पैसा ल्याएर केहिले बैंकलाई व्याज बुझाएका छन् ।’

महंगो वहालमा फसेका व्यवसायी
वीरेन्द्रनगर नगरपालिकामा व्यवसाय सञ्चालन गरिरहेका व्यवसायीलाई घर वहालको अर्को पिडा पनि सँगै थपिएको छ । खासगरी नगरको बजारक्षेत्रमा वहालमा कोठा÷घर लिएर व्यवसाय सञ्चालन गरिरहेका व्यवसायी हालको समयमा चर्को घर वहाल रकमले सास्ती भोगिरहेका छन् ।

व्यवसायी रामप्रसाद जैसीले भने, ‘खासगरी वजार क्षेत्रमा वहाल निकै महंगो छ । सरदर रुपमा सामान्य कोठाको ५० हजार रुपैयाँ पर्न जान्छ । अहिले अवस्थामा कतिपय व्यवसायीहरु बैंकको व्याजसँगसगै घरवहाल रकम पनि तिर्न नसकेको अवस्था छ । यस्तै रह्यो भने व्यवसाय घर वहाल धनीको हातमा बुझाएर पलायन हुनुपर्ने अवस्था नआउला भन्न सकिन्न ।’

महंगोमा वहालमा कोठा/घर लिएका व्यवसायीहरु सोहि अनुसारको राजस्व स्थानीय तहलाई बुझाएका पनि छैनन् । जैसीले भने, ‘पहिले त घरबेटीहरु लिइएको वहाल बमोजिम कागजी सम्झौता गर्न मान्दैनथे । अहिले अलि फेरिएको छ । सम्झौता गरिदिएपनि वहाल रकम थोरै राखेर सरकारी निकायमा कागजपत्र पेश गरिएको हुन्छ ।’

यस्तो अवस्थाले एकातिर स्थानीय तहलाई राजस्व आन्दानीमा समेत असर परिरहेको छ भने अर्को तर्फ वीरेन्द्रनगरको व्यवसायीको अवस्थामा समेत प्रभाव परिरहेको देखिन्छ । यस अवस्थामा नगरले क्षेत्र अनुसारको वहाल रकम तोक्दै कानुन सम्वत् रुपमा व्यवसाय सञ्चालनको वातावरण सृजना गर्नुपर्ने उनको धारणा छ ।

व्यवसायीको एउटै माग, ‘न्युन ब्याज र भाका’
आर्थिक तरताले उत्पन्न व्यवसायीक समस्या लिएर अहिले सुर्खेत उद्योग वाणिज्य संघको नेतृत्वमा व्यवसायीहरु बैंकमा आफ्नो अनुरोध पत्रसहित पुग्न थालेका छन् । मंगलबार व्यवसायीहरुको समुह वीरेन्द्रनगर स्थित बैंक तथा वित्तिय संस्थाहरुमा आफ्ना अनुरोध पत्र सहित पुगेका हुन् ।

व्यवसायीहरुले बैंकसँग क्रणमा बढेको व्याजमा कमी ल्याउनुपर्ने र व्यवसायीलाई असार मसान्तमा भुक्तानी गर्नुपर्ने व्याजका लागि केहि समय प्रदान गर्नुपर्ने माग गरेका छन् । सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मण कँडेलले भने, ‘बैंकहरुले हाल बढाउको व्याजमा सहुलियत दिनुपर्ने र हामी व्यवसायीलाई ६ महिना सम्मको ऋणको भाका दिनुपर्ने हाम्रो माग रहेको छ ।’

स्थानीय तह सक्रियताको अपेक्षा
व्यवसायबाटै पलायन हुनुपर्ने अवस्थाको सृजना भएको महशुस गरिरहेका सुर्खेतका व्यवसायीहरु वर्तमान समयमा स्थानीय तहले समेत व्यवसायीको समस्याका विषयमा सक्रियता बढाओस् भन्ने अपेक्षा राख्छन् ।

सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मण कँडेलले भने, ‘व्यवसाय छोडेरै पलायन हुनुपर्ने अवस्थाको सृजना हुन थालेको छ । धेरै व्यवसायीहरु बैंकको कालोसूचीमा पर्ने सम्भावन बढेको छ । यस्तो अवस्थामा जिल्ला स्थीत स्थानीय तहहरुले समेत यस विषयलाई गम्भिरताका साथ लिनुपर्ने समय आएको छ ।’

सरकारको दायित्व कर असुली मात्र नभई नागरिकका विविध समस्याका समयमा हातेमालो गर्नु रहेको अध्यक्ष कँडेल बताउँछन् । स्थानीय तहले समेत वीरेन्द्रनगर स्थित बैंक तथा वित्तिय संस्थाहरुसँग समन्वयकारी भुमिका निर्वाह गर्न सक्नुपर्ने उनले बताए । उनले भने, ‘स्थानीय तहले पनि व्यवसायी लाभान्वित हुनेगरी कार्यक्रमसहित नेतृत्व गर्न सकेको खण्डमा यहाँका स्थानीयबासीलाई यो अफ्ठ्यारो समयमा राहत महशुस हुनेथियो ।’

व्यवसायी र स्थानीय तह विचको प्रत्येक्ष सम्वन्ध भनेकै घरवहाल कर र व्यवसाय करमा जोडिएको देखिन्छ । यी दुई विषयमा सुर्खेतमा प्रदेशकै राजधानीका हैसियतले पनि वीरेन्द्रनगर नगरपालिका बढी लाभान्वित छ । व्यवसायीबाट उठेको राजस्वले नगरपालिकाको आर्थिक क्षेत्रमा योगदान पु¥याएकै छ ।

घर वहाल कर र व्यवसाय करबाट वीरेन्द्रनगर नगरपालिकाले मात्रै वार्षिक रुपमा करोडौ राजस्व आम्दानी गर्ने गरेको छ । वीरेन्द्रनगर नगरपालिकाको आर्थिक ऐन २०७४ मा नगरक्षेत्र भित्र घर वहालमा लिई सञ्चालनमा रहेका व्यवसायले स्थानीय तहलाई वहाल कर वापतको रकम बुझाउनुपर्ने व्यवस्था गरेको छ ।

ऐनमा ‘नगरपालिका क्षेत्रभित्र कुनै व्यक्ति वा संस्थाले भवन, घर, पसल, ग्यारेज, गोदाम, टहरा, छप्पर, जग्गा वा पोखरी पुरै वा आंशिक तवरले वहालमा दिएकोमा वहाल रकमको १० प्रतिशतका दरले घर जग्गा वहाल कर लगाइने र असुल उपर गरिने’ जनाइएको छ ।

सोहि अनुसार व्यवसायीले नगरपालिकालाई कर तिर्दै आएका छन् । २०७६/०७७ यता मात्र वीरेन्द्रनगर नगरपालिकाले नगर स्थित व्यवसायीहरुबाट घरवहाल कर वापत एक करोड ९५ लाख चार हजार आठ सय चार रुपैयाँ राजस्व संकलन गरिसकेको छ ।

र, आगामी आर्थिक वर्ष २०७९/०८० मा नगरपालिकाले घर वहाल कर वापत तीन करोड रुपैयाँ आम्दानी गर्ने लक्ष्य लिएको छ । यो अवस्थामा स्थानीय सरकारले व्यवसायीबाट कर संकलन मात्र गर्ने भन्दा पनि व्यवसायीको समस्यामा पनी साथीको रुपमा प्रस्तुत हुनुपर्ने अध्यक्ष कँडेलले बताए ।

महंगो घरभाडा र चर्को व्याजबाट पलायनको अवस्थामा व्यवसायी

आज गुरुपूर्णिमा मनाइँदै

महंगो घरभाडा र चर्को व्याजबाट पलायनको अवस्थामा व्यवसायी

आज भानुभक्त आचार्यको २०९ औँ जन्मजयन्ती

Leave a comment

Your email address will not be published. Required fields are marked *