बिरामी बालकको उपचार शुल्क मिनाहा

कालीकोट, २६ मंसिर ।
पलाँता गाउँपालिकाद्वारा सञ्चालित अस्पतालमा उपचार खर्च तिर्न नसकेका एक बालकको शुल्क मिनाहा भएको छ । २० दिनसम्म उपचार गराइरहनुभएका पलाँता ६ का घाटे शाहीका छोरा वर्ष १३ का अशोक शाहीको ४० हजार रुपियाँ अस्पतालले निःशुल्क गरेको हो । यसअघि शुल्क तिर्न नसक्दा अस्पतालले डिस्चार्ज गरेको थिएन ।
उपचार खर्च तिर्न नसक्दा अस्पतालमा बन्धक शीर्षकमा गोरखापत्रमा समाचार प्रकाशित भएपछि गाउँपालिकाको निर्देशनमा शुल्क मिनाहा गरिएको हो । गाउँपालिका अध्यक्ष विष्णुबहादुर रोकायाले शुल्क मिनाहा गर्न निर्देशन दिएकाले अस्पताल प्रमुख डा. विजयकुमार महतोले सबै शुल्क छुट गरेको बताए । बिरामी बालककी आमा बेलपुरा शाहीले शुल्क मिनाहा भएकाले आफूलाई निकै सहज भएको बताइन् ।






