बागलुङमा डेंगीका बिरामी फेला

बाग्लुङ,२८ असार ।
बागलुङमा डेंगीका बिरामी फेला पर्न थालेका छन् । गर्मी बढेसँगै डेंगीको जोखिम देखिन थालेको हो । लामखुट्टेको टोकाइबाट सर्ने यो रोगको सङ्क्रमण जिल्लाका दुई जनामा भेटिएको हो । धवलागिरि अस्पतालमा उपचार गर्न आएकी एक महिला र एक पुरुषमा लक्षण देखिएपछि परीक्षण गर्दा डेंगी पुष्टि भएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा शैलेन्द्र बी पोखरेलले बताए । उनीहरु शनिबार र आइतबार अस्पताल भर्ना हुन आएका थिए ।

सङ्क्रमित बागलुङ नगरपालिका–७ का र ९ रहेका छन् । ती बिरामीको अवस्था अहिले सामान्य रहेको अस्पतालले जनाएको छ । उच्च तापक्रम रहेको ठाउँमा पाइने एडीच प्रजातिको लामखुट्टेले टोकेपछि डेंगी हुने हुँदा सरसफाइमा ध्यान दिनुपर्ने स्वास्थ्यकर्मीको भनाइ छ । वर्षातका कारण जमेको पानीबाट बढी लामखुट्टे उत्पादन हुने गरेकाले पानी जम्ने खाल्डाखुल्डी पुर्नुपर्ने स्वास्थ्यकर्मीको सुझाव छ ।
स्रोत : सेतोपाटी






