ग्राउण्ड रिपोर्ट : सल्यानका १० पालिकामा त्रिपक्षिय प्रतिस्पर्धा, माओवादी–समाजवादी सहकार्य

बुद्धि पुन
सल्यान, २७ बैशाख ।
सल्यानमा तीन नगरपालिका र सात गाउँपालिका गरेर दश वटा स्थानीय तह रहेका छन् । आगामी निर्वाचनका लागि दश वटै स्थानीय तहका प्रमुख तथा उपप्रमुख र ८३ वटै वडाहरुमा गरेर १५ सय बढीले उम्मेदवारी दिएका छन् ।
जसमा पालिकाको प्रमुखका लागि ५१ जना र उपप्रमुखको लागि ५३ जनाले उम्मेदवारी दिएका थिए । ती मध्ये बैशाख १६ गते पालिका प्रमुखमा उम्मेदवारी दिएका ६ जना र उपप्रमुखमा उम्मेदवारी दिएका ११ जनाले उम्मेदवारी फिर्ता लिए ।
अहिले दश पालिका प्रमुखको लागि ४५ जना र उपप्रमुखका लागि ४२ जना चुनावी मैदानमा होमिएका छन् । जिल्लामा पाँच दलिय गठबन्धन कायम रहन सकेन् ।
विभिन्न समयमा भएका वार्ताहरु सफल हुन् नसकेपछि नेकपा एमाले र नेपाली काँग्रेस एक्लाएक्लै निर्वाचनमा होमिएका छन् भने जिल्लाभर नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) चुनावी तालमेल गरेर अगाडी बढेका छन् भने नेपाली काँग्रेसले केही पालिकामा नेकपा एमालेसँग तालमेल गरेको छ ।
प्रदेशसभा (क) मा नेपाली काँग्रेस केही कमजोर देखिन्छ भने प्रदेशसभा (ख) मा नेकपा माओवादी केही कमजोर देखिन्छ ।
२०७४ सालको निर्वाचनमा नेकपा एमालेले बनगाड कुपिण्डे नगरपालिकासँगै कपुरकोट, कालिमाटी र सिद्धकुमाख गाउँपालिका गरेर चार स्थानीय तह जितेको थियो ।
त्यस्तै नेकपा माओवादीले बागचौर नगरपालिकासँगै कुमाख र दार्मा गाउँपालिका जितेको थियो भने नेपाली काँग्रेसले शारदा नगरपालिकासँगै छत्रेश्वरी र त्रिबेणी गाउँपालिका जितेको थियो ।
गत स्थानीय तहको निर्वाचनमा जिल्लाभर १ लाख २५ हजार २ सय ५६ मतदाता रहेका थिए भने यस पटक ३२ हजार ४ सय ५९ मतदाता बढेर १ लाख ५७ हजार ७ सय १५ पुगेको छ ।
शारदा नगरपालिका
जिल्लाको सदरमुकाममा रहेको नगरपालिका हो शारदा नगरपालिका । यस नगरपालिकामा २०७४ सालको स्थानीय तहको निर्वाचनमा कुल १९ हजार २४ मतदाता रहेका थिए ।
जसमध्ये नेपाली काँग्रेसका तर्फबाट मेयर पदका उम्मेदवार सुरेश अधिकारीले ४२ सय १४ मत प्राप्त गरेर विजयी बनेका थिए ।
त्यस्तै नेकपा एमालेका उम्मेदवार राम कुमार खड्कीले ३३ सय ४४ मत प्राप्त गरेका थिए भने नेकपा माओवादी केन्द्रका प्रमोद कुमार श्रेष्ठले २५ सय ७० मत र राष्ट्रिय प्रजातन्त्र पार्टीका मनोज कुमार प्रधानले २४ सय मत प्राप्त गरेका थिए ।
समयको क्रमसँगै यस नगरपालिकाको राजनीतिमा धेरै उथलपुथल भैसकेको छ । राप्रपाबाट मेयरमा लडेका प्रधान केही बर्षअघि नेकपा एमालेमा प्रवेश गरिसकेका छन् ।
यस पटकको निर्वाचनमा एमालेबाट प्रधानसँगै नेपाली काँग्रेसको तर्फबाट प्रकाश भण्डारी र नेकपा माओवादी केन्द्रको तर्फबाट प्रमोद कुमार श्रेष्ठ चुनावी मैदानमा छन् । गत निर्वाचनमा सबैभन्दा बढी मत पाएको नेपाली काँगेसले एक्लै जित्ने दम्भका साथ कसैसँग चुनावी तालमेल गरेको छैन् ।
२०७४ सालमा चौथौँ स्थानमा रहेका प्रधान एमालेमा प्रवेश गरेसँगै एमालेका उम्मेदवारले पाएको मतभारसँग जोड्दा नेपाली काँग्रेसको भन्दा बढी नै मत हुन्छ । तर नेकपा एमाले विभाजन पश्चात एमालेले पाएको मतको आधा भन्दा बढी मतदाता नेकपा एकीकृत समाजवादीमा लागेका छन् ।
नेकपा एकीकृत समाजवादीले मेयरमा माओवादीका श्रेष्ठलाई सहयोग गर्नेछ भने माओवादीले उपमेयरमा एकीकृत समाजवादीका रमेश कुमार गौतमलाई सहयोग गर्ने सहमति भएको छ ।
त्यस्तै राप्रपाले पनि यस नगरमा माओवादी र एकीकृत समाजवादीको गठबन्धनलाई सहयोग गर्ने सहमति भएको छ । जसका कारण तेस्रो स्थानमा रहेका श्रेष्ठ समाजवादीसँगको साझेदारीले जित निकाल्ने पक्षमा हुनुहुन्छ ।
तर शारदा नगरपालिकाका मेयरका उम्मेदवार भण्डारी, प्रधान र श्रेष्ठ तीनै जना चर्चित नेता हुनुहुन्छ । यस नगरमा ३ हजार ९ सय २४ नयाँ मतदाता थपिएर २३ हजार ९ सय ५८ पुगेका छन् ।
बागचौर नगरपालिका
२०७४ सालको स्थानीय तहको निर्वाचनमा यस नगरपालिकामा १७ हजार ५ सय ६२ मतदाता रहेका थिए । यस नगरपालिकालाई नेता जनमाउने नगरपालिका पनि भनिन्छ ।
पूर्वसामान्य प्रशासन मन्त्री टेक बहादुर बस्नेत, पूर्वशिक्षा राज्यमन्त्री राजेन्द्र बहादुर शाह लगायतका दर्जन बढी नेता यही नगरले जन्माएको हो ।
यस अर्थमा पनि यस नगरको नेतृत्वमा बिभिन्न पार्टीले दावी गर्दै आएका छन् । २०७४ सालको निर्वाचनमा यस नगरपालिकामा नेकपा माओवादी केन्द्रका लोकमान बुढाथोकी ५२ सय १५ मत प्राप्त गरेर विजयी भएका थिए ।
उनका प्रतिस्पर्धी नेकपा एमालेका लोक बहादुर डाँगीले ३६ सय ८० र नेपाली काँग्रेसका गोरख बहादुर खत्रीले ३५ सय ६५ मत प्राप्त गरेका थिए ।
यस पटकको निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट कृति बहादुर पुन, नेकपा एमालेबाट तिलक बहादुर मल्ल र नेपाली काँग्रेसबाट जनकराज गौतम चुनावी मैदानमा छन् । तर एमाले विभाजनको असर यहाँपनि देखिएको छ ।
त्यतिबेला दोस्रो स्थानमा रहेको एमाले विभाजनपछि झन् कमजोर बनेको छ । भारी मतका साथ विजयी भएको माओवादी केन्द्रलाई यसपटक फेरी एकीकृत समाजवादीले सहयोग गर्दैछ ।
त्यसो हुँदा माओवादीका उम्मेदवार अत्याधिक बहुमतले हुने आंकलन गरिएकोे छ । तर अहिले यहाँ ४ हजार ७ सय २ नयाँ मतदाता थपिएर २२ हजार २ सय ६४ पुगेको छ । जसले गर्दा माओवादीले प्रतिष्ठाको लडाईको रुपमा लिएको छ ।
बनगाड कुपिण्डे नगरपालिका
सल्यानको पश्चिमी क्षेत्रमा रहेको यस नगरपालिका नेकपा एकीकृत समाजवादीका केन्द्रिय उपमहासचिव प्रकाश ज्वाला र नेकपा एमालेका पोलिटव्युरो सदस्य गुलावजंग शाहको गृह नगर हो । तर यस नगरपालिकामा नेकपा माओवादीको बाहुल्यता छ ।
गत निर्वाचनमा नेपाली काँग्रेससँगको चुनावी तालमेलमा नेकपा एमालेका पार्टी अध्यक्ष गोविन्द कुमार पुन निर्वाचित भएका थिए ।
कुल १६ हजार ३ सय १५ मतदाता मध्ये पुनले ५ हजार ७७ मत पाएका थिए भने उनका प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका कर्ण बहादुर बुढाथोकीले ४९ सय ८४ मत पाएका थिए ।
तर यस पटकको निर्वाचनमा भने तीनै पुन र बुढाथोकी मुख्य प्रतिस्पर्धीका रुपमा रहेका छन् । पुन अहिलेपनि पार्टीका जिल्ला अध्यक्ष हुन भने बुढाथोकी पार्टीका प्रदेश कमिटी उपाध्यक्ष हुन ।
नेकपा एमाले विभाजनपछि ठुलो हिंसा एकीकृत समाजवादीतर्फ लागेको छ । यस्तो अवस्थामा पनि पुन एक्लै चुनावी मैदानमा होमिदा बुढाथोकीको पक्षमा नेपाली काँग्रेस र नेकपा एकीकृत समाजवादी लागेको छ ।
यसले गर्दा बुढाथोकीलाई चुनाव जित्न सजिलो हुने आँकलन गरिएको छ । पार्टीको सिफारिसमा उपमेयरमा उम्मेदवारी दिएकी चम्फा पुरीको उम्मेदवारी फिर्ताको बिषयले यहाँ नेकपा एमालेमा आन्तरिक विवाद बढेको छ ।
कतिपय नेताले बिज्ञप्ती नै जारी गरेर मेयरका उम्मेदवार समेत रहेका पार्टी अध्यक्ष पुनको राजिनामा माग गरेका छन् ।
जसका कारण एमाले भित्र थप समस्या भएको छ । गत निर्वाचन भन्दा ४६ सय ८१ मत थपिएर यस नगरमा २० हजार ९ सय ९६ मतदाता पुगेका छन् ।
सिद्ध कुमाख गाउँपालिका
तत्कालिन अवस्थामा नेकपा एमालेले जितेको अर्को पालिका हो सिद्धकुमाख । २०७४ सालको निर्वाचनमा यस पालिकामा ७ हजार ९ मतदाता रहेका थिए ।
जसमध्ये नेकपा एमालेबाट चित्र बहादुर चलाउने १९ सय २५ मत प्राप्त गरि निर्वाचित भएका थिए । त्यस्तै उनको प्रतिस्पर्धी नेकपा माओवादीका नरविर चलाउनेले १५३८ र नेपाली काँग्रेसका नरविर चलाउनेले १३ सय १३ मत प्राप्त गरेका थिए । तर एमाले विभाजन पश्चात अध्यक्ष चलाउने एकीकृत समाजवादीमा लागेका छन् ।
एमालेबाटै उपाध्यक्षमा जितेकी पुष्पा कुमारी बोहरा एमालेमा नै रहेकी छन् । यस पटकको निर्वाचनमा अध्यक्ष चलाउने दोस्रो कार्यकालका लागि उम्मेदवार बनेका छन् । नेकपा एकीकृत समाजवादी र नेकपा माओवादीको गठबन्धनबाट उनी अध्यक्षको उम्मेदवार बनेका हुन ।
उनीसँगै नेकपा एमालेबाट जित बहादुर चलाउने र नेपाली काँग्रेसबाट भरत गिरी चुनावी मैदानमा रहेका छन् । यस गाउँपालिकामा १ हजार ६ सय २८ नयाँ मतदाता थपिएर ८ हजार ६ सय ३७ पुगेको छ ।
त्रिबेणी गाउँपालिका
यस गाउँपालिका राष्ट्रिय सभा सदस्य उदय बहादुर बोहराको गृह पालिका हो । २०७४ सालको निर्वाचनमा यस गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसले जितेको थियो । त्यतिबेला गाउँपालिकामा ९ हजार १ सय ८९ मतदाता रहेका थिए ।
जसमा नेपाली काँग्रेसका उम्मेदवार मान बहादुर डाँगीले २७ सय ६५ मत प्राप्त गरेर विजयी भएका थियो । उनको प्रतिस्पर्धी नेकपा एमालेका लोकेन्द्र सिंह खड्काले २३ सय ७१ र नेकपा माओवादी केन्द्रका अजय रोकाले ६ सय ७८ मत प्राप्त गरेका थिए ।
यस गाउँपालिकालाई काँग्रेसले आफ्नो पकेट क्षेत्रको रुपमा लिएको छ । तर यस पटकको निर्वाचनमा भने काँग्रेस र एकीकृत समाजवादीको विच मुख्य प्रतिस्पर्धा देखिन्छ ।
यहाँ नेपाली काँग्रेसबाट खिम बहादुर रावत, माओवादी केन्द्रको समर्थनमा एकीकृत समाजवादीबाट डिल्ली बहादुर केसी र नेकपा एमालेबाट पुरानै उम्मेदवार लोकेन्द्रसिंह खड्का मैदानमा आएका छन् । यहाँ २५ सय २७ नयाँ मतदाता थपिएर ११ हजार ७ सय १६ मतदाता पुगेका छन् ।
कुमाख गाउँपालिका
नेकपा माओवादी केन्द्रको आधार इलाका हो कुमाख गाउँपालिका । यस गाउँपालिकामा माओवादी केन्द्र एक्लै बलियो शक्तिको रुपमा रहेको छ । २०६४ सालको स्थानीय तहको निर्वाचनमा १२ हजार १ सय ९३ मतदाता रहेका थिए ।
जसमा नेकपा माओवादी केन्द्रका उम्मेदवार दिलमाया बुढा मगर ३६ सय ७३ मतप्राप्त गरेर विजयी भए । उनी सल्यानकै एक मात्र महिला पालिका प्रमुख हुन ।
त्यस्तै उनको प्रतिस्पर्धी नेकपा एमालेका भैरव बहादुर शाहले २१ सय २८ र नेपाली काँग्रेसका बिवेकसिंह राठौरले १९ सय ३९ मत प्राप्त गरेका थिए ।
यस पटकको निर्वाचनमा भने माओवादी केन्द्र यहाँ एक्लै लडेको छ । जसमा अध्यक्ष पदमा वहालवाला उपाध्यक्ष डिल्लीराज जैसीको उम्मेदवारी परेको छ भने नेकपा एमालेको समर्थनमा नेपाली काँग्रेसका मान बहादुर बुढाथोकीले उम्मेदवारी दिएका छन् ।
त्यस्तै जिल्ला पार्टीको निर्णय वमोजिम यस पालिकामा एकीकृत समाजवादीले भने नेकपा माओवादी केन्द्रलाई सहयोग गर्ने जनाईएको छ ।
कपुरकोट गाउँपालिका
सल्यानको प्रवेशद्धारमा रहेको पालिका हो कपुरकोट गाउँपालिका । यस गाउँपालिकामा २०७४ सालको स्थानिय तहको निर्वाचनमा ९ हजार ८ सय ६१ मतदाता रहेका थिए ।
जसमा नेकपा एमालेका उम्मेदवार भिम बहादुर सेनले ३१ सय ५२ मत प्राप्त गरेर विजयी भएका थिए । त्यस्तै उनका प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका प्रकाश भण्डारीले २१ सय ३५ र नेपाली काँग्रेसका उम्मेदवार दुर्गा बहादुर गिरीले १४ सय ६७ मत प्राप्त गरेका थिए । तर यस पटकको निर्वाचन भने थप रोचक देखिएको छ ।
गत निर्वाचनमा एमालेबाट पालिकामा अध्यक्ष जितेको सेनसँगै नेकपा एकीकृत समाजवादीका तर्फबाट दुर्गा बहादुर पुन मुख्य प्रतिस्पर्धी बनेका छन् ।
त्यस्तै नेपाली काँगेसबाट बिष्णु प्रसाद शर्मा चुनावी मैदानमा होमिएका छन् । पुनलाई नेकपा माओवादी केन्द्रले समेत सहयोग गरेकाले उनी बलियो उम्मेदरवारका रुपमा रहेका छन् । यस गाउँपालिकामा थप ३६ सय ८५ नयाँ मतदाता थपिएर १२ हजार ३ पुगेको छ ।
कालिमाटी गाउँपालिका
गत निर्वाचनमा यस गाउँपालिकामा पनि अध्यक्ष र उपाध्यक्ष दुवै पदमा नेकपा एमालेका उम्मेदवार विजयी भएका थिए ।
सो निर्वाचनमा गाउँपालिकाभर १२ हजार १ सय २४ मतदाता रहेका थिए । जसमा नेकपा एमालेका तर्फबाट अध्यक्षमा उम्मेदवारी दिएका दान बहादुर खत्रीले २९ सय १२ मत प्राप्त गरेर विजयी भएका थिए ।
त्यस अवस्थामा नेकपा माओवादी केन्द्रका उम्मेदवार पुरुषोत्तम भट्टराईले २३ सय ६३ र नेपाली काँग्रेसका उम्मेदवार भरत पुनले १९ सय २९ मत प्राप्त गरेका थिए । यस पटकको निर्वाचनमा पनि ती तीनै जना उम्मेदवार दोहोरिएका छन् ।
एमाले र काँग्रेस एक्लाएक्लै लडेका छन् भने माओवादीलाई नेकपा एकीकृत समाजवादीले साथ दिएको छ ।
कालिमाटी गाउँपालिका एमालेको राम्रो पकेट क्षेत्र हो । दोस्रो कार्यकालका लागि फेरी अध्यक्ष हुने दाउँमा खत्री रहेका छन् भने एमालेको विरासत तोड्ने दाउमा अरु दलहरु रहेका छन् ।
यस गाउँपालिकामा नयाँ ३१ सय ६२ मतदातासहित गाउँपालिकामा १५ हजार ८६ मतदाता पुगेका छन् ।
दार्मा गाउँपालिका
नेकपा माओवादीको राम्रो बाहुल्यता भएको क्षेत्र हो दार्मा गाउँपालिका । गत स्थानीय तहको निर्वाचनमा यस गाउँपालिकामा नेकपा माओवादी केन्द्रका उम्मेदवार निम बहादुर केसीले ३६ सय ९४ मत प्राप्त गरेर विजयी भएका थिए ।
उनका प्रतिस्पर्धी नेपाली काँग्रेसका रामचन्द्र केसीले २७ सय ७१ मत प्राप्त गरेका थिए । त्यतिबेला पनि दार्मामा काँग्रेस र एमालेका विचमा तालमेल भएको थियो । जसमा ९ हजार ५ सय ५५ मतदाता रहेका थिए ।
यस पटकको निर्वाचनमा पनि दोस्रो कार्यकालका लागि फेरी माओवादी केन्द्रबाट उम्मेदवारी दिएका केसी नै विजयी हुने आँकलन गरिएको छ ।
गत निर्वाचनमा एमालेसँग तालमेल गरेर पराजय भएको काँग्रेस अहिले एक्लै चुनाव लड्दै छ । काँग्रेसबाट गत निर्वाचनमा पराजित केसीनै उम्मेदवार भएका छन् भने एमालेबाट गणेशमान सिंहले उम्मेदवारी दिएका छन् ।
तर यस पालिकामा पनि एकीकृत समाजवादीले माओवादीलाईनै समर्थन गरेको छ । यसपटक नयाँ २८ सय ८२ मतदाता थपिएर यस पालिकामा १२ हजार ४ सय ३७ मतदाता पुगेका छन् ।
छत्रेश्वरी गाउँपालिका
गत निर्वाचनमा नेपाली काँग्रेसले जितेको यस पालिकामा १२ हजार ४ सय २४ मतदाता रहेका थिए ।
जसमा नेपाली काँग्रेसका सन्तोष केसीले २९ सय २२ मत प्राप्त गरेर विजयी भएका थिए भने नेकपा एमालेका ओजबहादुर बुढाथोकीले २७ सय २ र नेकपा माओवादी केन्द्रका उम्मेदवार चित्र बहादुर केसीले २१ सय ७२ मत प्राप्त गरेका थिए ।
यस पटकको निर्वाचनलाई भने बिशेष महत्वका साथ हेरिएको छ । किनकी यस पालिकाको अध्यक्षमा नेपाली काँग्रेसको तर्फबाट पार्टीका जिल्ला सभापति केश बहादुर बिष्ट र एमालेको तर्फबाट पार्टीका जिल्ला सचिव ओज बहादुर बुढाथोकीले उम्मेदवारी दिएका छन् । बुढाथोकी गत निर्वाचनमा पराजित भएका थिए ।
त्यस्तै नेकपा एकीकृत समाजवादीको समर्थनमा नेकपा माओवादीको तर्फबाट २ नम्बरका वडाअध्यक्ष प्रेम बहादुर खड्का पालिका अध्यक्षमा लडेका छन् ।
त्यस्तै बिप्लव नेतृत्वको नेकपाका नेता लोक्पाल केसीले पनि स्वतन्त्रबाट उम्मेदवारी दिएका छन् । केसी पनि यहाँको चर्चित नेता हुन् । यस पालिकामा ३२ सय ७४ नयाँ मतदातासहित १५ हजार ६ सय ९८ मतदाता पुगेका छन् ।






