निर्माण भएको ६ वर्ष वित्यो, सञ्चालनमा आएन बावियाचौरको सवस्टेशन

पुनम वि.सी.
सुर्खेत, २५ असार ।
कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर नगरपालिकासँग सिमा जोडिएका स्थानीय तहमा हालसम्म पनि नेपाल विद्युत प्राधिकरणको राष्ट्रिय प्रसारण लाइन पुगेको छैन । सुर्खेतका पञ्चपुरी नगरपालिका, वराहताल गाउँपालिका र चौकुने गाउँपालिकाका सबै भू–भाग राष्ट्रिय प्रसारण लाइनमा जोडिएका छैनन् । यी स्थानीय तहमा खमारीखोला लघु जलविद्युत आयोजना, बाबियाचौर लघु जलविद्युत आयोजना लगायतका साना स्थानीय आयोजनामार्फत नागरिकले विद्युत सुविधा लिएका छन् ।
तर सुर्खेतको पश्चिमी क्षेत्रमा राष्ट्रिय प्रसारण लाइन पु¥याउने उद्देश्यका साथ सुरु भएको आयोजना ६ वर्ष बित्दा समेत सञ्चालनमा आउन सकेको भने छैन । उक्त क्षेत्रमा विद्युत विस्तारका लागि नेपाल विद्युत प्राधिकरणले वि.सं. २०७३ सालमा पञ्चपुरी नगरपालिका–६ मा विद्युत सवस्टेशन निर्माण समेत गरिसकेको छ । तर हालसम्म पनि उक्त सवस्टेशन प्रसारण लाइनसँग जोडिन नसक्दा भने जिर्ण बन्दै गईरहेको अवस्था छ ।
पञ्चपुरी नगरपालिका–६ का वडा अध्यक्ष नगेन्द्रबहादुर शाहीले भने, ‘प्रदेशको राजधानीसँग नजिकै रहेको यस क्षेत्रमा हालसम्म पनि विद्युत प्रसारण लाइन नपुग्नु विडम्वनाको कुरा हो । यहाँ राष्ट्रिय प्रसारण लाइन विस्तारका लागि पहिलेनै काम शुरु भएको हो । तर हालसम्म पनि प्रसारण लाइन पुग्न सकेको छैन । निर्माण सम्पन्न भएको ६ वर्ष पुग्दासमेत सवस्टेशनमा विद्युत लाइन जोडिन सकेको छैन ।’
सवस्टेशनमा विद्युत पु¥याउन प्रसारण लाइनले वन क्षेत्र प्रयोग गर्नुपर्ने थियो । तर वन क्षेत्र प्रयोगको अनुमति नआएपछि भने निर्माण सम्पन्न भएको ६ वर्षसम्म पनि सो विद्युत सवस्टेशनमा विद्युत पुग्न नसकेको हो । वडा अध्यक्ष शाहीले भने, ‘वन क्षेत्रको प्रयोेगका क्रममा रुखहरु कटान गर्नुपर्ने भएकाले काम रोकिएको जानकारी पाएका थियौँ । विद्युतको लाईन विस्तारका लागि हामीले सम्वन्धित निकायमा पटक/पटक ताकेता गरिरहेका छौँ ।’

सवस्टेशन निर्माण ताका यहाँका स्थानीयवासी विद्युत प्रसारण लाइन पुग्नेमा खुशी थिए । स्थानीय हर्क बहादुर अधिकारीले भने, ‘हाम्रो ठाउँमा विद्युत प्रसारण लाइन पुग्ने देखेर खुशी थियौँ । तर के गर्नु सवस्टेशनमा घाँस उम्रिएको छ । विद्युत कहिले आउने हो थाह छैन । सञ्चालनमा नआएपछि सवस्टेशन झन् जिर्ण भएको देखिन्छ ।’
लघु जलविद्युत आयोजनामार्फत प्राप्त हुने विद्युतले घरमा उज्यालोको लागि मात्र काम भएको उनी बताउँछन् । अधिकारीले भने, ‘लघु जलविद्युत आयोजनाले यहाँ केहि हदसम्म विद्युतको समस्या धानेको छ । सिमित समयका लागि सिमित विद्युतिय उपकरण प्रयोग गर्ने गरी आयोजनाको विद्युत प्रयोग गर्नुपर्ने हुन्छ ।’
उनले भने, ‘लघु जलविद्युत प्रयोग गर्दा मझौला खाले उद्योग सञ्चालन गर्न पाइदैन । विद्युतको भोल्टेज नै नपुग्ने भएपछि स–साना उद्योग पनि सञ्चालनमा ल्याउन गाह्रो छ । त्यसैले पनि यहाँ मझौला खाले उद्योगहरु सञ्चालनमा आउन सकेका पनि छैनन् ।’
सुर्खेतको पञ्चपुरी नगरपालिकामा सवस्टेशन निर्माण गरिएको ६ बर्ष बितिसकेको छ । तर हालसम्म पनि सवस्टेशन सञ्चालनमा नआउँदा भने स्थानीयहरु चिन्तित छन् । अधिकारीले भने, ‘सव स्टेशन निर्माण हुँदा हामीमा आसा पलाएको थियो । तर ६ बर्षसम्म पनि भने सञ्चालनमा नल्याईदा अहिले आसा पनि मारेका छौँ ।’ विद्युत प्राधिकरणले उक्त क्षेत्रमा पोलहरु समेत पु¥याइसकेको छ ।
२०७३ सालमा नेपाल विद्युत् प्राधिकरणले पश्चिम सुर्खेतमा बिद्युतीकरण गर्न भन्दै वावियाचौरमा सवस्टेसन निर्माण गरिएको थियो । तर सञ्चालनमा नआएपछि भने अहिले सवस्टेसनमा भएका संरचना समेत दिन प्रतिदिन बिग्रदो अवस्थामा छन् ।
सव–स्टेशनको काम पुरा भएपनि विद्युत लाईनका लागि सामुदायिक वन क्षेत्र प्रयोग गर्नपर्ने हुन्छ । लाइन विस्तारका क्रममा रुखहरु काटिने भएपछि प्रसारण लाइन विस्तार काम रोकिएको थियो । डिभिजन वन कार्यालय, बावियाचौरका प्रमुख ललितकुमार कर्णले भने, ‘विद्युत प्रसारण लाइन विस्तारका लागि वन क्षेत्र प्रयोग गर्नुपर्ने हुन्छ । वन क्षेत्र हँुदै तार खिचेर यहाँ सवस्टेशनसम्म विद्युत आईपुग्ने हो । तर उक्त आयोजनाका लागि वन क्षेत्र अनुमति नआएकाले आयोजनाले वन क्षेत्र प्रयोग गर्न पाएको छैन ।’

सरकारी संयन्त्रविचको समन्वय अभावले आयोजना सञ्चालन भईसकेपनि कामले पूर्णता पाउनमा ढिलाई भएकोमा दुख व्यक्त गर्दै पञ्चपुरी नगरपालिका–५ का वडा अध्यक्ष भण्डारीले भने, ‘सरकारी संयन्त्र विच समन्वय अभावले आयोजनाले समयमा नै पुर्णता नपाउनु हामी यहाँका स्थानीयवासीका लागि दुखको विषय बनेको छ । यसका लागि हामी जनप्रतिनिधिले सम्वन्धित निकायमा यस विषयमा कुरा उठान गरिरहेका छौँ । आसा छ समयमा नै यहाँ विद्युत लाईन विस्तार हुनेछ ।’
आयोजना सुरुवात समयमा नै वन क्षेत्र प्रयोगका लागि अनुमतिलगायतका विषयमा काम गरिनुपर्ने उनी बताउछन् । उनले भने, ‘पहिले नै वन क्षेत्र प्रयोगका लागि कामहर अघि बढ्नपर्ने हो । मुख्य चासोमा नराखी काम गरिँदा आयोजना सुरु भएको ६ वर्ष पुग्दासमेत सञ्चालनमा आउन नसकेको प्रष्ट देखिन्छ । यस विषयमा कर्णालीबाट केन्द्रिय स्तरका राजनैतिक नेताहरुसँग पनि हामीले छलफल गरेका छौँ । उहाँहरुलाई यस समस्याको समाधानका लागि अनुरोध समेत गरेका छौँ ।’
यता नेपाल विद्युत प्राधिकरणको कर्णाली प्रादेशिक कार्यालयले भने आयोजनाको काम चाडै सुरु हुने जनाएको छ । प्राधिकरणको प्रादेशिक कार्यालय प्रमुख शम्भुकुसियत यादवले भने, ‘लाइन विस्तारका लागि अनुमति आईसकेको छ । अब चाँडै नै हामी काम सुरु गछौँ ।’
विद्युत विस्तारका लागि वन क्षेत्र प्रयोग गर्न मन्त्रीपरिषद्को निर्णय आवश्यक पर्छ । संघिय सरकारको मन्त्रीपरिषद्को वैठाकले आयोजनाका लागि वन क्षेत्र प्रयोग गर्न अनु्मति दिइनुपर्छ । प्राधिकरणका कर्णाली प्रमुख यादवले मन्त्रीपरिषद्को वैठकबाट समेत स्विकृती भईसकेको दावी गरे ।
तर यता डिभिजन वन कार्यालय, बावियाचौरका प्रमुख कर्णले भने हालसम्म पनि कार्यालयलाई आधिकारिक सूचनाको प्राप्ती नभएको बताए । उनले भने, ‘आजका दिनसम्म हामीलाई सो वारेमा आधिकारिक सूचना तथा निर्देशन प्राप्त भएको छैन । अनुमति सम्वन्धमा कार्यालयलाई निर्देशन प्राप्त भएमा हामी सहकार्य गर्छौ ।’
३३ केभी विद्युत विस्तारको काम शुरु गरिँदै
कोहलपुर–वीरेन्द्रनगर जोड्ने १३२ केभी प्रिारण लाइन विस्तारमा ढिला हुने देखिएपछि कैलालीबाट ३३ केभी विद्युत विस्तारको काम शुरु गरिएको छ । कोहलपुरबाट ल्याइएको विद्युतले सुर्खेतसहित अन्य जिल्लाको भार धान्न नसकेपछि थप लाइन वीरेन्द्रनगर ल्याउन लागिएको हो । वीरेन्द्रनगर ल्याउन लागिएको विद्युत लाइन कैलाली जिल्लाको चिसापानी–सोल्टा–बाबियाचौर–बड्डिचौर–बाँगेसिमल हुँदै वीरेन्द्रनगरस्थित बुदेबुदे सब–स्टेशनमा जोडिनेछ ।
मोहन्याल गाउँपालिकामा विद्युत विस्तारका लागि सोल्टासम्म ३३ केभी लाइन नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र कैलालीले यसअघि नै विस्तार गरिसकेको छ । सोल्टाबाट बाबियाचौरसम्म लाइन विस्तारका लागि २४ किलोमिटरमा थप पोलिङ र तार विस्तार गर्न ठेक्का आह्वान गरिएको छ । यो क्षेत्रमा रुखहरु नपर्ने भएकाले असार १५ गतेसम्म सम्झौता गरेर दुई महिनाभित्र बाबियाचौरस्थित विद्युतको सब–स्टेशनमा विस्तार गरिएको लाइन जोडिनेछ । बाबियाचौरमा करिव तीन वर्ष अघि नै सब–स्टेशनमा आवश्यक विद्युतका सबै संरचना जडान गरिसकिएको छ ।

‘कैलालीको सोल्टबाट ३३ केभी विद्युत ल्याउने सबै प्रक्रिया अन्तिम चरणमा छ,’ नेपाल विद्युत प्राधिकरण प्रादेशिक कार्यालय सुर्खेतका इन्जिनियर लालबहादुर शाहले भन्नुभयो, ‘बाबियाचौरसम्म विद्युत ल्याउन कुनै अवरोह नभएकाले निर्धारित समयमा काम सकेर पश्चिमका स्थानीयलाई पनि विद्युत विस्तार गर्ने र वीरेन्द्रनगरमा विद्यमान देखिएको लो–भोल्टेजको समस्या समाधान हुनेछ ।’
सोल्टा–बाबियाचौर विद्युत विस्तारको लागत झण्डै ६ करोड छ । वीरेन्द्रगरमा ल्याइने नयाँ लाइनले बुदेबुदे सब–स्टेशनबाट छुट्टाछुट्टै ट्रान्सफर्मरबाट उपत्यकामा विद्युत वितरण गरिनेछ । ‘वीरेन्द्रनगर वितरण भइरहेको लाइनका फिडरहरु पनि छुट्टाछुट्टै छन् ।
थप गरिएको विद्युत फिडरअनुसार अलग्गै वितरण गर्न सकिन्छ,’ विद्युतका प्रादेशिक प्रशारण केन्द्रका प्रमुख शुम्भु कुसे यादवले भन्नुभयो, ‘कोहलपुरबाट ल्याइएको लाइनमा समस्या देखिएमा कैलालीबाट थपिएको लाइन सुचारु गर्न सकिन्छ । जसले अनियमित हुने सुर्खेतको विद्युत नियमत गर्नमा सहजता हुनेछ ।’
बाबियाचौरसहित पश्चिम क्षेत्रमा विद्युतको राष्ट्रिय प्रशारण लाईन विस्तारको अवधारणा २०६८ सालदेखि शुरु गरिएको हो । शुरुमा वीरेन्द्रनगरस्थित विद्युतको बुदेबुदेमा रहेको सब–स्टेशनबाट उपत्यकाको मध्य क्षेत्रबाट कोलडाँडासम्म विद्युतका पोल गाडिएको थियो । ठूलै लागानीमा विद्युतका पोल गाडिएको झण्डै १० वर्षपछि रुट परिवर्तन गरिएको छ । हाल बुद्धबुद्धीबाट बजार क्षेत्र हुँदै बाँगेसिमलबाट लाइन विस्तारका लागि पोल गाडीएको छ । लाइन विस्तारको क्रममा दीर्घकालिन योजना नअपनाउँदा राज्यलाई दोहोरो खर्च व्ययभार थापिएको हो ।
बजार क्षेत्रबाट पुनः ठेक्का सम्झौता गरेर करिव दुई करोडको लागतमा दुईसय पन्ध्र वटा पोल गाडीएको विद्युतको प्रादेशिक कार्यालयले जनाएको छ । बाँगेसिमलदेखि बाबियाचौरसम्म बीच भागमा राष्ट्रिय वन पर्ने भएकाले रुख कटानमा अनुमति नहुँदा तार विस्तारमा ढिलाइ भएको छ ।
बराहताल गाउँपालिका तथा वीरेन्द्रनगर र पञ्चपुरी नगरपालिका क्षेत्रमा पर्ने १० दशमलव ५२ हेक्टर राष्ट्रिय वन क्षेत्र प्रयोगको गर्न दिने निर्णय मन्त्रिपरिषद्ले यसअघि नै गरिसकेको छ । पोल तथा ‘राइट अफ वे’ संरचना निर्माणका लागि वन क्षेत्रका रुखहरु कटान निर्धारित समयमै वनले गर्नेमा प्रादेशिक कार्यालय विश्वस्त रहे पनि रुख कटानको काम अझै शुरु गरिएको छैन ।
डिभिजन वन कार्यालय सुर्खेतका अनुसार मन्त्रिपरिषद् बैठकले रुख कटान अनुमति दिए पनि आधिकारिक पत्र आएको छैन । झण्डै चार करोडको लागत रहेको आयोजनामा सब–स्टेसनदेखि बाँगेसिमलसम्मको विद्युत पोल र कभर कन्डक्टरसहितको लाइनका लागि एक करोड ९२ लाख बजेट विनियोजन छ ।
सब–स्टेशनदेखि बाँगेसिमलसम्म प्राधिकरणले पुराना पोल हटाएर एउटै पोलबाट पश्चिम लैजाने ३३ केभी र बजार क्षेत्रको ११ केभी तार राख्ने योजना छ । फोरलेन सडकको उत्तरतर्फको लाइनमा रहेका सबै पूराना पोल हटाएर एउटै पोलमा लाइन विस्तार हुँदा शहरी सौन्दर्य कायम रहने प्राधिकरणले जनाएको छ । नयाँ लाइनमा खुला तार रहने छैन भने एक्सएलपी कभर कन्डक्टर तार जडान गरिनेछ ।





