वीरेन्द्रनगरको पहिलो बैठक : सडक र जग्गा वीरेन्द्रनगरको प्राथमिकतामा

पुनम वि.सी.
सुर्खेत, २६ जेठ
सुर्खेतको वीरेन्द्रनगर नगरपालिका सडक सुधारतर्फ आफुलाई केन्द्रित गरेको । स्थानीय निर्वाचन पश्चात आएका जनप्रतिनिधिले नगरमा सडक तथा यससँग जोडिएका विषयलाई पहिलो प्राथमिकतामा राखेका हुन् । नागरिकको दैनिकीसँग प्रत्येक्ष सम्बन्ध राख्ने भएकाले पनि नवनिर्वाचित जनप्रतिनिधिले सडकलाई मुल प्राथमिकताका विषयमा राखेका छन् ।

त्यसै अनुरुप नगरको पहिलो कार्यपालिका बैठकले वीरेन्द्रनगरको सडकको विषयलाई लिएर विभिन्न निर्णयहरु समेत गरेको छ । सडक मर्मत तथा सुधार, ढल निकासको व्यवस्थान, सरसफाई, सडक अतिक्रमण निरुत्साहनलगायतका क्षेत्रमा नगरपालिका अघि बढेको हो ।

गत सोमबार बसेको नगरको पहिलो कार्यपालिका वैठकले वीरेन्द्रनगरका सडकमा विषयमा ढल तथा नालाहरुको मर्मत, जीर्ण र खाल्टा परेका सडकहरुको मर्मत, सडक अतिक्रण विषयलाई निरुत्साहन, सडकको अधिकार क्षेत्र तथा सडकमा रहेका फोहोरमैला व्यवस्थापनका विषयमा विभिन्न निर्णय गरेको वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया भण्डारीले जानकारी दिइन् ।

सडकको ढल तथा नालाहरुको मर्मत सम्वन्धमा नगरले प्रभानमन्त्री रोजगार कार्यक्रम र विपद् व्यवस्थापन कोषबाट मर्मत सम्भारको व्यवस्था मिलाउने निर्णय गरिएको छ । ‘नगरपालिकाको राजमार्ग क्षेत्रमा विविध कारणले बुझिएका ढलहरु पूर्ववत् रुपमा सञ्चालनमा ल्याई जनधनको क्षति न्यूनिकरण गर्न प्रधानमन्त्री रोजगार कार्यक्रम र विपद् व्यवस्थापन कोषबाट तुरुन्त मर्मत सम्भार गर्ने व्यवस्था मिलाउने’ निर्णय कार्यपालिकाको बैठकले गरेको हो ।

यसका साथै वीरेन्द्रनगर–१२ को तिनकुने चोक, वडा नं. १३ लगायतका पहाडी क्षेत्रलगायत नगरका अन्य क्षेत्रहरु मध्ये जटिल प्रकृतिको डुवान भएका क्षेत्र पहिचान गरी जनप्रतिनिधि र प्राविधिकसहित खटेको टोलीको प्रतिवेदनका आधारमा दीर्घकालिन समस्या समाधानका लागि बजेट तथा स्रोतको व्यवस्थापन गर्ने निर्णय गरिएको छ ।

मुख्य बजार क्षेत्रलाई लक्षित गर्दै सडक बोर्ड नेपालमार्फत नगरलाई प्राप्त बजेटबाट रकम खर्च गर्नेगरी मर्मत कार्य अघि बढाउने योजना नगरले अघि सारेको छ । यसका लागि बजेट रकम अपुग भएमा अन्य स्रोतबाट समेत बजेटको व्यवस्थापन गर्ने कार्यपालिकाको निर्णय छ । आसन्न मनसुनलाई ध्यानमा राख्दै नगरले मनसुन पूर्वनै प्राविधिकको टोली खटाई टोलीको प्रतिवेदनका आधारमा मर्मत सम्भार गर्ने र नगरका अन्य स्थानका सडकलाई समेत प्राथमिकतामा राख्ने निर्णय गरिएको नगर प्रमुख भण्डारीले जानकारी दिइन् ।

यसका साथै नगरपालिकाको गुरुयोजनामा समावेश भएका सार्वजनिक सडकको अधिकार क्षेत्र को लगत कट्टा गरी शहरी नापी प्रक्रियालाई पनि अघि बढाउने समेत निर्णय भएको छ । सडक अतिक्रमण गरी राखिएका निर्माण सामाग्री सन्र्दभमा सडक सुरक्षालाई ध्यानमा राखी नगरपालिकाले स्विकृती नलिई अतिक्रमण गरी राखिएका निर्माण सामाग्री तुरुन्त हटाउन सूचना जारी गर्ने र अवज्ञा गर्ने व्यक्तिलाई स्थानीय प्रशासनको सहायतामा कानूनी दायरामा समेत ल्याउने चेतावनी दिएको छ ।

नगरमा रहेका सार्वजनिक जग्गाको लगत लिई सोको उचित संरक्षण र सार्वजनिक गर्ने योजनामा नगरपालिका छ । नगरपालिका क्षेत्रमा रहेका परम्परागत कुलो, नहर, बाटो र सार्वजनिक क्षेत्र पहिचान गरी अतिक्रमण रोक्ने नगरपालिकाको योजना छ ।

सुर्खेत उपत्यका नगर विकास समितिलगायत अन्य सार्वजनिक जग्गाको खोजविन गर्ने, लगत लिने र सोको हालको अवस्थाका बारेमा सूचना लिने नगर कार्यपालिकाको पहिलो वैठकले निर्णय गरेको छ । नगर विकास समिति सुर्खेतबाट नेपाल स्काउटले प्राप्त गरी कार्यालय सञ्चालन गरेको जग्गामा नगरको प्रमुख प्रशासकिय भवन निर्माण गर्ने कार्यपालिकाको वैठकले निर्णय गरेको छ । यसका लागि स्काउटलाई वीरेन्द्रनगर–७ स्थित सोही बराबरको जग्गा व्यवस्थापन गर्ने निर्णय गरिएको छ ।

नगरपालिकाको राजमार्ग क्षेत्रमा विविध कारणले बुझिएका ढलहरु पूर्ववत् रुपमा सञ्चालनमा ल्याई जनधनकोे क्षति न्यूनिकरण गर्न प्रधानमन्त्री रोजगार कार्यक्रम र विपद् व्यवस्थापन कोषबाट तुरुन्त मर्मत संम्भार गर्ने व्यवस्था मिलाउने निर्णय भएको छ ।

त्यस्तैै जटिल प्रकृतिको डुवान भएको क्षेत्रको पहिचान गरी जनप्रतिनिधि र इन्जिनियरसहितको प्राविधिक टोली खटाउने र त्यसको प्रतिवेदनको आधारमा दीर्घकालीन समाधानका लागि बजेट तथा श्रोत व्यवस्था गरी समाधान गर्ने निर्णयमा उल्लेख छ । नगरपालिकाको मुख्य बजार क्षेत्रमा रहेका सडकलाई मर्मत गर्नको साथै गौशाला निर्माण कार्यलाई तिब्रता दिने निर्णय गरिएको नगरपालिकाका प्रशासकीय अधिकृत दिपेन सुवेदीले जानकारी दिए ।

‘वीरेन्द्रनगर नगरपालिका वडा नं. ११, भेरी पुल नजिक प्रशान्ति धार्मिक सामुदायिक वनमा गौशालाको पूर्वाधारजन्य संरचना निर्माण, पशुआहारा व्यवस्थापन गरी सडकमा छाडिएका छाडा पशु चौपायाहरुको दिगो र समुचित व्यवस्थापन गरिने भएको छ’ सुवेदीले भने, ‘नगरपालिकाले सम्झौतामा उल्लेख भए बमोजिमको लागत साझेदारी समेत गरी तोकिएको समयमा सम्पन्न गर्न छिटो, छरितो र पारदर्शी ढंगले उपभोक्ता समितिबाट गौशाला निर्माणलाई तिब्र रुपमा अगाडी बढाउने निर्णय भएको छ ।’

हावाहुरीले क्षति पु¥याएका स्कुलका छाँना शिघ्रमर्मत गर्ने निर्णय गरिएको छ । नगर शौक्षिक कोष स्थापना गरी म बनाउँछु मेरो नगरलाई शैक्षिक हब अभियान अन्तर्गत नगरको शैक्षिक स्तरवृद्धी गर्न एक स्वेछिक शैक्षिक कोष स्थापना गर्नका लागि आवश्यक कानून बनाई सोको प्रारम्भिक मस्यौदा पेश गर्न शिक्षा, यूवा तथा खेलकूद शाखालाई जिम्मेवारी दिने निर्णय भएको छ । भूमि सम्बन्धी समस्या समाधान आयोगको बाँकी कार्य प्रारम्भ गरिने बताइएको छ ।

गर्भवती महिलाका लागि निःशुल्क एम्वुलेन्स सेवा
वीरेन्द्नगर नगरपालिकाले नगरमा गर्भवति महिलाका लागि निशुल्क एम्बुलेन्स सेवा सञ्चालन गर्ने भएको छ । नगर कार्यपालिकाको पहिलो बैठकमा निर्णय गर्दै नगरले नगर क्षेत्रका गर्भवति महिला तथा जेष्ठ नागरिकका लागि निःशुल्क एम्बुलेन्सको व्यवस्था गर्ने निर्णय गरेको हो । यसका साथै नागरिकको निःशुल्क स्वास्थ्य विमा समेत गरिने भएको छ ।

नगरमा बसोबास गर्ने ज्येष्ठ नागरिक, अतिविपन्न, दीर्घ रोगीको विवरण संकलन गर्ने नगरको योजना छ । विवरणका आधारमा निश्चित मापदण्ड बनाई कार्यविधि तयार गरी निःशुल्क स्वास्थ्य विमा कार्यक्रमको कार्यविधि तयार गर्ने नगर कार्यपालिकाको पहिलो बैठकले निर्णय गरेको हो ।

सिटी बसपार्कको भाडा उठाउने चिन्ता
नगर कार्यपालिकाको बैठकले गरेका निर्णयहरु मध्ये मुख्य निर्णयमा सिट बसपार्क सम्वन्धमा पनि छ । बसपार्क सञ्चालकले नगरलाई बुझाउनुपर्ने राजस्व उठान नगर कार्यपालिकाबाटै निर्णय समेत गर्न परेको छ ।

नगर र भक्तपुर ठेगाना रहेको पिआर कन्ट्रक्सनवीच सिटी बसपार्क र सोमा बनेको संरचना प्रयोग गर्ने गरी ठेक्का सम्झौता भएको थियो । तर उक्त कम्पनिले नगरलाई समयमा सम्झौता बमोजिम राजस्व बुझाउन सकिरहेको छैन ।

ठुलो परिमाणमा बक्यौदा रकम रहेको र सो रकम बढ्दै गएपछि असुलउपरका लागि नगरले अन्तिम पटक ताकेका गर्ने निर्णय गरेको छ । सो पश्चात नगरपालिका कानूनी कारवाहीका लागि अघि सार्ने योजनामा छ । पटक–पटक पत्र पठाउदा समेत नगरले यसको जवाफ पाएको छैन ।

नगरपालिका र कम्पनीबीच भएको सम्झौताअनुसार मासिक भाडा अर्को महिनाको १५ गतेसम्ममा नबुझाए एक प्रतिशत जरिवाना लाग्छ । एक महिना नाघे दुई प्रतिशत र दुई महिना नाघे पाँच प्रतिशत जरिवाना लाग्छ । यो जरिवाना दैनिक हिसाब हुने प्रावधान छ ।

सिटी बसपार्कमा ५४ वटा सटरसहित ग्यारेज, टिकट काउन्टर, शौचालय र पार्किङस्थल छन् । बसपार्क व्यवस्थापन कार्यविधि, २०७६ अनुसार सञ्चालक कम्पनीले कोठा वा सेड भाडा, बसपार्क प्रवेश शुल्क, बस पार्किङ शुल्क, शौचालय सेवा शुल्क, विज्ञापन शुल्क र समितिको सिफारिसमा नगर कार्यपालिकाबाट निर्णय भएका अन्य शुल्क उठाउन पाउँछ ।

वीरेन्द्रनगरको पहिलो बैठक : सडक र जग्गा वीरेन्द्रनगरको प्राथमिकतामा

सम्पादकीय : कर्णालीले निती पायो, असल नेतृत्व

वीरेन्द्रनगरको पहिलो बैठक : सडक र जग्गा वीरेन्द्रनगरको प्राथमिकतामा

जिल्ला समन्वय समिति रुकुम पूर्वका पदाधिकारीको पदभार

Leave a comment

Your email address will not be published. Required fields are marked *