२०८२ बैशाख १७ गते
×

Now Playing

विहे गराउन दुबै परिवार मञ्जुर भए

एउटा सच्चा प्रेमी मन पराएको मान्छेसँग नै जीवन विताउन चाहान्छ । त्यसका लागि उसले सबै उपाय अपनाउँछ । त्यसमा पनि सच्चा प्रेम गर्नेहरुलाई परिवारले पनि साथ दिन्छन् । दुई जनाको प्रेमलाई थप सफल बनाउन परिवार र आफन्तको पनि सहयोग हुन्छ । यस्तै भयो दैलेखका अशिम थापा र बाँकेकी अस्मिता थापाको जीवनमा पनि । उनीहरुको पहिलो भेट हुँदा एकले अर्कालाई मन पराए । उनीहरुको प्रेमलाई परिवारले सघाए । अनि परिवारकै सहमतिमा उनीहरु जीवनसाथी बने । प्रस्तुत छ, यो जोडीसँग हाम्रा सहकर्मी टेकराज केसीले गरेको कुराकानीको साराशं :

ठूलीआमाको घर जाँदा चिनजान
अशिम एकदिन आफ्नो ठुलीआमाको घरमा गए । त्यहाँ पुगेपछि प्रसंङ्गबस बिवाहको कुरा चल्यो । ठुलीआमाले अशिमलाई अब बिवाह गर्ने उमेर पनि भयो भन्दै विहे गर्न भनिन् । अशिमको घरमा पनि बिवाहको चर्चा चलिरहेको थियो । अशिमले पनि अब बिवाह गर्नुपर्छ भन्ने सोच बनाए । भोलिपल्ट बिहान ठुलीआमाको छोरीले अशिमलाइ एकजना केटीसँग भेट गराइन् । उनी थिइन् अस्मिता थापा । दुबै जनाले परिचय गरे । सुरुमा भने अशिमले नै बोलेका थिए । उनीहरुबिच विस्तारै साथीको रुपमा कुराकानी हुन थाल्यो ।

सँगै मेला हेर्न जान्थे
दुबै जनाको कुराकानी बाक्लियो । फोनमा अथवा एसएमएसमा कुराकानी गर्दा अस्मिता भने कम बोल्थिन् । तर अशिमले धेरै कुरा गर्न राम्रो मान्थे । सुरुमा नै अस्मिताप्रति आकर्षित भएका अशिमलाई कुरा गरिरहुँ जस्तो लाग्थ्यो । अस्मिता भने अलि लजालु स्वभावकी थिइन् । धेरै कुरा गर्न लजाउँथिन् । उनीहरु बिचमा कुराकानी बढ्दै गएपछि नजिक भए । कहिलेकाँही दुबै जना मेला हेर्न पनि जान्थे । तर प्रेमको कुरा बाहिरी रुपमा व्यक्त नभए पनि भित्री रुपमा दुबैले माया गर्थे । उनीहरु दुबै जनाको परिवारको पनि राम्रै चिनजान थियो । उनीहरु एकदिन कुराकानी गर्न नपाउँदा नरामाइलो मान्न थाले । घरपरिवारले समेत दुबैको बिवाह गराउन चाहन्थे । अशिम पढेलेखेका र जागिरवाला केटा भनेर गाउँमा राम्रै चिनिन्थे । अस्मितालाई पनि सरल र सबैको सम्मान गर्न जानेकी केटी भनेर व्याख्या गरिन्थ्यो । दुबै जनाले एकअर्काको बानीलाई जान्ने कोशिश समेत गर्दथे ।

दुई परिवारको साथ
उनीहरु दुबै जनाको परिवारबिच पनि राम्रै चिनजान थियो । त्यसकारण दुबै परिवारले उनीहरुको विहे गराउन चाहे । अनि दुबै परिवारले सल्लाह गरेर बिवाह गराइदिन मञ्जुर भए । जब घर परिवारले नै बिवाह गरिदिने भनेपछि अशिम र अस्मितालाई प्रेम गर्न अझैं सहज भयो । उनीहरु खुलेरै कुराकानी गर्न थाले । दुबैले एकअर्कालाई मन पराएका उनीहरु घरपरिवारको निर्णयबाट उत्साहित भए । दुबै जनाले एकअर्का नराम्रा बानी हटाउन र राम्रा बानीको विकास गर्न प्रेरित गर्न थाले । बिवाह हुने निश्चित भएपछि भविस्यको योजना समेत बिवाह अगाडी नै बनाउन थाले । सानोसानो कुरा पनि शेयर गर्न थाले ।

त्यसपछि विहे
अशिम र अस्मिताले आपसमा धेरै प्रेम गर्थे । उनीहरुको प्रेम २०७७ भाद्रबाट सुरु भएको थियो । अर्कोतर्फ घरपरिवारले समेत कुरा चलाइरहेका थिए । परिवारकै सहमतिमा २०७७ मंसिर १५ गते मंगनी भयो । अनि परिवारकै सल्लाहमा २०७७ फागुन १४ गते दुबै जनाको बिवाह भयो । साथीबाट शुरु भएको नाता जीवन साथीको रुपमा परिणत भयो । बिवाह भएर पराइ घरमा जाँदा अस्मितालाई केही बिरानो लागिरहेको थियो । विस्तारै अशिम र उनको घरपरिवारको मायाले घुलमिल हुँदै गइन् । घरपरिवारले अस्मितालाई धेरै माया र जुनसुकै काममा पनि साथ दिने गर्छन् ।

कोरोनाले हनिमुन रोकियो
उनीहरुले बिवाहपछि हनिमुन मनाउन पोखरा जाने सल्लाह गरेका थिए । तर बिवाह लगत्तै विश्वभर कोरोना संक्रमणको दर फैलिएको थियो । देशमा लकडाउन भयो । त्यसकै प्रभावका कारण उनीहरुले हनिमुन मनाउन जान पाएनन् । कोरोना केही कम भएपछि ठाकुरद्वारा बर्दिया घुम्न गए । केहीदिनको रमाइलोपछि उनिहरु घर फर्किए । उनीहरुको बिवाहपछि अझै धेरै माया र एकअर्कालाई सम्मान गर्न थाले । एकअर्काको भावना बुझ्ने काम बिवाहपछि अलि धेरै भएको उनीहरु बताउँछन् ।

जीवनमा संघर्ष
बिहेपछि संघर्ष थपियो । दुबैजना परिपक्व भइसकेका थिए । पढाइ पुरा गर्नुपर्ने एकातिर थियो भने घरको जिम्मेवारी अर्कोतर्फ । घरको जिम्मेवारी पुरा गर्दै आफ्नो पढाइलाई निरन्तरता दिए । अशिम सामाजिक क्षेत्रमा काम गर्न खुब्बै रुचि राख्थे । गाउँमा महिलालाई अगाडी ल्याउन विभिन्न सचेतनाका कार्यक्रम चलाउँथे । उनले स्नातक बाँकेबाट गरेका हुन् । स्नातक सकेर उनले गाउँमा आएर सामाजिक संस्थामा काम थालिसकेका थिए । उनी अहिले पनि सामाजिक संस्थामै कार्यरत छन् । अहिले एभरेष्ट क्लव दैलेखमा काम गर्छन् । अस्मिताले पनि आफ्नो पढाइलाई निरन्तरता दिइरहेकी छन् । उनीहरुले जीवनलाई सहज बाटोमा हिँडाउन सकेका छन् ।

सुखद् बाल्यकाल
बुवा डम्बरबहादुर थापा र आमा गंगा थापाको कोखबाट विसं २०४६ साल बैशाख १७ गते नारायण नगरपालिका वार्ड नं. १ पुरानो बजार दैलेखमा अशिम थापाको जन्म भएको हो । उनको बाल्यकाल दैलेखमा नै वित्यो । सानो कक्षा गाउँमै पढेका उनले प्लसटु त्रिभुवन मावि दैलेखबाट गरेका हुन् । विविएस भने उनले कोहोलपुरबाट गरे । त्यहाँबाट नै स्नातक २०६९ मा पास गरे । उनले मानविकी संकायबाट समेत स्नातक गरेका छन् । यस्तै बुवा राजु थापा र आमा अमृता थापाको कोखबाट विसं २०५४ साल जेठ १२ गते बाँकेको नेपालगञ्जमा अस्मिता थापाको जन्म भएको हो । उनी घरको जेठो छोरी हुन् । उनको बाल्यकाल बाँकेमै वित्यो । उनको बाल्यकाल पनि सुखी थियो । उनले सानो कक्षादेखि नै नेपालगञ्जमा पढेकी हुन् । उनले पनि स्नातक पढ्दै छन् । सानैदेखि लजालु स्वभावको भए पनि सबैको सम्मान गर्न उनी सिपालु छन् ।

फुर्सदमा घुमघाम
यो जोडीले जुनसुकै काम गर्दा पनि सल्लाह र समझदारीमा गर्दछन् । काम गर्नुभन्दा पहिले उनीहरु बिचमा छलफल हुन्छ । सानो कुरामा पनि सल्लाह गरेर काम गर्छन् । अशिम सामाजिक संघसंस्थामा कार्यरत भएर होला धेरै फुर्सद पाउँदैनन् । फुर्सदको बेला उनीहरु रमाइलो ठाउँमा घुम्न जान्छन् । खाना बनाउन पनि दुबै जनाले बाँडफाँड गरेर काम गर्छन् । उनीहरु एकअर्कालाई धेरै माया र सम्मान गर्छन् । सम्बन्ध टिकाउन आपसी समझदारी र विश्वास हुनुपर्ने उनीहरु बताउँछन् ।

विहे गराउन दुबै परिवार मञ्जुर भए

YUGAAWHAN NATIONAL DAILY (2078-9-25)

Leave a comment

Your email address will not be published. Required fields are marked *