सुर्खेतमा उद्योग वाणिज्य संघको निर्वाचन हुने निश्चित

सुर्खेत, २४ चैत्र ।
सुर्खेत उद्योग बाणिज्य संघको नयाँ नेतृत्वको लागि निर्वाचन हुने निश्चित भएको छ । उच्च अदालत सुर्खेतले रिटमाथिको सुनुवाई गर्दै रिट दायर गरेका सुरेन्द्रकुमार मल्लले माग गरेको अनुसारको अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।
अदालतले नै अन्तरिम आदेश गर्न अस्वीकार गरेपछि संघको नयाँ नेतृत्वका लागि निर्वाचन प्रक्रियामा अघि बढ्ने भएको छ । मल्लले यहीँ चैत १७ गते अदालतमा निर्वाचन प्रक्रिया रोक्दै अन्तरिम आदेश माग गर्दै रिट दायर गरेका थिए ।
अदालतले चैत १८ गते अल्पकालिन अन्तरिम आदेश जारी गर्दै दुवै पक्षलाई छलफलका लागि बुधबार बोलाएको थियो । दुवै पक्षको छलफलपछि रिटकर्ताको मागअनुसार अन्तरिम आदेश दिन अस्वीकार गरेको अदालतका शाखा अधिकृत रत्नप्रसाद अधिकारीले जानकारी दिनुभएको छ ।
उद्योग वाणिज्य संघमा नेपाली काँग्रेसका नेता हृदयराम थानी समूह, नेकपा एमाले र नेकपा एकीकृत समाजवादी निकटका व्यवसायीहरु निर्वाचनको पक्षमा रहेका थिए भने नेपाली काँग्रेस संस्थापन समूहका व्यवसायीहरु निर्वाचन रोक्न माग गर्दै अदालतको ढोकामा पुगेका थिए ।






