ठाँटीकाँधमा निसासिएर आमा छोराको मृत्यु

सुर्खेत, २० फागुन ।
सुर्खेत वीरेन्द्रनगरमा निसासिएर एकै घरका चार जनाको मृत्यु भएको घटना सेलाउन नपाउँदै दैलेखमा सोही प्रकृतिको अर्को घटना भएको छ । ठाँटीकाँध गाउँपालिका दैलेखमा निसासिएर दुई जनाको मृत्यु भएको छ ।
ठाँटीकाँध गाउँपालिका वडा नं. १ पिपलचौकमा आगजनीबाट निसास्सिएर दुई जनाको मृत्यु भएको हो । चुलो नजिक आगो बालेर विहिबार साँझ सुतेका आमा छोरा शुक्रबार दिउँसो मृत अवस्थामा फेला परेका छन् । मृत्यु हुनेमा ४० बर्षिया हरिकला बादी र १८ बर्षिय छोरा रमेश बादी रहेको दैलेख प्रहरीले जानकारी दिएको छ ।
स्थानीय एक बालिकाले शुक्रबार दिउँसो घरभित्रबाट धुँवा आएको देखेपछि स्थानीयहरुलाई खबर गरेकी थिइन । स्थानीयहरु गएर हेर्दा ओछयाउने सबै जलेको र आमाछोरा मृत अवस्थामा फेला पारेका थिए । एकान्तमा घर भएकाले घटनाका बारेमा स्थानीयहरुले ढिलो थाहा पाएका हुन ।
च्ुलो छेउमा परालको गुन्द्री र बाक्लो ओछयाउने डसनामा आगोले जलेको दैलेख प्रहरी प्रमुख डिएसपी भुवनेश्वर शाहले बताए । ‘मृतकाके हात र खुट्टा जलेको अवस्थामा रहेको छ’ डिएसपी शाहले भने ‘मृत्यु के कारणले भएको हो पोष्टमार्टम रिपोर्ट आएपछि मात्र खुल्नेछ ।’
प्रहरीका अनुसार कोठाभित्रको भाग जलेको र बाहिर नजलेको अवस्था देखिएको छ । जिल्ला प्रहरी कार्यालयबाट र दुल्लु इलाका प्रहरी कार्यालयबाट अनुसन्धानका लागि प्रहरी टोली खटिएको छ । डिएसपी शाह आफै घटनास्थलमा पुगेका छन् ।
मृतक हरिकलाका श्रीमानको ६ बर्षअघि मृत्यु भएको थियो भने छोरीको पनि ५ बर्षअघि विहेवारी भैसककेको छ । घरमा छोरासहित उनी एक्लै बस्ने गरेको स्थानीयले जानकारी दिएका छन् ।






