एमालेको आक्रामक चुनावी कार्यक्रम, माओवादी–काँग्रेस अझै अलमलमा

सुर्खेत, २० बैशाख ।
कर्णाली प्रदेशको राजधानी समेत रहेको सुर्खेत जिल्लामा नेकपा एमालेले आक्रामक रुपमा चुनावी अभियान सुरु गरेको छ । नेकपा एमाले एक्लै चुनाव लडने पहिले नै निश्चित भईसकेको हुँदा एमालेले समयमै आफ्ना उम्मेदवारहरुको टुंगो लगाएसँगै निर्वाचन प्रचार अभियानलाई तीव्रता दिएको हो ।

एमालेले सुर्खेतका नौ वटै पालिकामा चुनावी प्रचार अभियानलाई तीव्रता दिइरहेको छ । प्रमुख प्रतिपक्षी दलसमेत रहेको एमालेले चुनावमा आफूलाई जिताउन भन्दै पहिलो चरणको घरदैलो अभियान सम्पन्न गर्ने तयारी गरिरहँदा समेत सत्तारुढ गठबन्धन दल मध्येका नेकपा माओवादी र काँग्रेसले भने प्रचार अभियानको थालनी नै गर्न नसकेका हुन ।

दुई दिन अघि मात्रै माओवादी र काँग्रेसबीच सुर्खेतका ५ ओटा पालिकामा गठबन्धन गर्ने र चुनावमा होमिने भनेर भएको सम्झौताको मसी सुक्न नपाउँदै आइतबार बराहतालमा नेकपा माओवादीले एक्लै चुनावी अभियानको सुरुवात गरेको छ ।

पञ्चपुरी नगरपालिकामा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रको तालमेलमा प्रचार प्रसार तिव्र बनाइएको छ । लेकबेशी नगरपालिकामा तीन दलको तर्फबाट उपप्रमुखको उम्मेदवार देउकली थापालाई समर्थन गरिएको छ । एकीकृत समाजवादी पार्टीको तर्फबाट उपप्रमुख पदका उम्मेदवार थापालाई नेपाली काँग्रेस र माओवादी केन्द्रले समर्थन गरेको हो ।

लेकबेशीमा तीन दलको उपप्रमुख समाजवादीलाई
नेकपा एमालेबाट विभाजित भई बनेको नेकपा एकीकृत समाजवादी जिल्लाका सबै पालिकामा एक्लै चुनावी मैदानमा होमिएको छ ।

उसले जिल्लाका अधिकांश पालिकामा उम्मेदवारी दर्ता गरिसकेको छ । चौकुने गाउँपालिका र लेकेवेशी नगरपालिकाको नेतृत्व दावि गरेको थियो । गठबन्धनबाट एउटा पालिका प्रमुख पाउने सम्भावना नभएपछि बाहिरिएको थियो ।

नेपाली काँग्रेस र माओवादी केन्द्र दुई पार्टीले मात्रै जिल्लाका पाँच वटा पालिकाहरु भागबण्डा गरेपछि समाजवादी एक्लिएको थियो । लिखित सम्झौता नभएपनि लेकबेशी नगरपालिका समाजवादीबाट उपप्रमुखका उम्मेदवार देउकली थापालाई तीन दलको समर्थन प्राप्त भएको छ ।

नेकपा माओवादी केन्द्रले उपप्रमुखको पदमा उम्मेदवारी नै दर्ता गरेको थिएन भने नेपाली काँग्रेसका उपप्रमुखका उम्मेदवारले समाजवादीका उम्मेदवारलाई समर्थन गरेका छन् ।

प्रमुखमा नेपाली काँग्रेसका उम्मेदवार उमेश पौडेल र उपप्रमुखमा एकीकृत समाजवादीको स्थानीय स्तरमा गठबन्धन गरिएको छ । नेपाली काँग्रेसका उपप्रमुखका उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिएर समाजवादीका उम्मेदवारलाई समर्थन गरेका छन् ।

भने माओवादी केन्द्रले उपप्रमुख पदमा उम्मेदवारी दिएको छैन । एकीकृत समाजवादीका यसरी उपप्रमुख पदका उम्मेदवार देउकली थापा तीन दलको साझा उम्मेदवार बनेकि छन् । पञ्चपुरी नगरपालिकामा माओवादी केन्द्र र एकीकृत समाजवादीको चुनावी सहकार्य गरेका छन् ।

पञ्चपुरी नगरपालिकाको नगर प्रमुखमा माओवादी केन्द्रका उम्मेदवार केशव शाही र एकीकृत समाजवादीका उपप्रमुखका उम्मेदवार कविता सोडारीको चुनावी तालमेल, सहकार्य गरिएको हो ।

काँग्रेस–माओवादी तालमेल बराहतालमा खटपट
सुर्खेतको वराहताल गाउँपालिकामा गठवन्धन करिब भाँडिएको हो । गठवन्धनको कर्णाली प्रदेश स्तरीय वैठकले वराहताल गाउँपालिकामा नेपाली कांग्रेसलाई अध्यक्ष र माओवादी केन्द्रलाई उपाध्यक्ष दिने निर्णय गरेको थियो तर, प्रदेशको निर्णय पालिकासम्म पुग्दा कार्यान्वयन भएन ।

सहमति अनुसार कांग्रेसले पालिकाको उपाध्यक्ष छोड्नु पर्नेमा नछोडेको माओवादीले आरोप लगाएको छ । वराहतालको अध्यक्ष पदमा उम्मेदवारी दिएका ईश्वरभक्त सुनारले नेपाली कांग्रेसको दम्भ र अहंकारले यो अवस्था आएको भन्दै सवै फैसला जनताले गर्ने बताएका छन् ।

जिल्ला पार्टीका सवै नेता कार्यकर्ता आफ्नो टिमलाई विजयी गराउन खटिरहेको उनको भनाई छ । गठवन्धन बीच सहमति भयो भनेर बाहिर कुप्रचार गरिएकोमा सुनारले आपत्ती जनाए । उम्मेदवारी व्याक गर्दै हुनुहुन्छ रे भन्ने प्रश्नमा अध्यक्ष पदका उम्मेदवार सुनारले यस्तो हल्लाका पछाडि नलाग्न आग्रह गरे ।

वराहतालको वडा नं. २ रानीघाटमा आईतवार आयोजित कोणसभालाई सम्वोधन गर्दै अध्यक्ष पदका उम्मेदवार सुनारले पार्टीले पालिकाका अध्यक्ष, उपाध्यक्ष र सबै वडामा उम्मेदवारी दिएको बताए । सुनारले भने, ‘वराहमा कांग्रेससंग अब कुनैपनि सहमति र सहकार्यको सम्भावना छैन । हामी विजयको बाटोमा हिडिसक्यौं ।’

उसो त नेपाली काँग्रेस माओवादी एक्लै लडने हो भने आफूपनि एक्लै लडन सक्षम रहेको दाबी गर्छ । ‘हामीले भागवण्डा अनुसार उम्मेदवार फिर्ता लिइसकेका छौं । सहमति अनुसार अघि बढनुपर्छ भन्नेमा हामी क्लियर छौं ।’ काँग्रेस सुर्खेतका सहसचिव हरि विष्ट भन्छन्, ‘यदि उहाँहरु सहमति नमान्ने नै हो भने हामी एक्लै अघि बढन सक्षम छौं ।’ उनले काँग्रेससँग भएको सहमति माओवादीले मान्ने अपेक्षा व्यक्त गरे ।

वीरेन्द्रनगरमा राप्रपाको प्रभाव बढ्यो
यता, राप्रपा पनि चुनावी अभियानमा तीव्र रुपमा लागिरहेको छ । नगर प्रमुखमा मुकुन्दश्याम गिरीलाई उम्मेदवार बनाएको राप्रपाले आफूले चुनाव जित्ने दाबी गर्दै आइरहेको छ ।

आफूले चुनाव जितेको खण्डमा नगरपालिकाबाट कुनैपनि सेवा सिुविधा नलिने घोषणा गरिसकेका उम्मेदवार गिरीले आफूले जे गरेपनि नगरवासीका लागि मात्रै काम गर्ने र त्यसबापत कुनैपनि सेवा सुविधा नलिने घोषणा गरिसकेको बताउँछन् ।

‘केहि राजनीतिक दलहरुले राजनीतिक पार्टीलाई कमाइखाने भाँडोका रुपमा बुझेका छन् । राजनीतिक गर्नेहरु पैसा कमाउने उदेश्यममा मात्रै लागेको देख्दा मन खिन्न भएको छ ।’ उनी भन्छन्, ‘राजनीतिक पैसा कमाउने थलो वा व्यापार होइन यो समाजसेवा हो भन्ने देखाउन पनि म उम्मेदवार उठेको हो । मलाई मत दिएर जनताल निर्वाचित गछन भन्ने आशा छ ।’

काँग्रेसका उम्मेदवार थानी र खड्काबीच भेट
टिकट वितरणमा एकलौटी गरिएको भन्दै रुष्ट रहेको नेपाली काँग्रेसका नेता हृदयराम थानी समूहसँग वीरेन्द्रनगर नगरपालिकामा गठबन्धनको तर्फबाट मेयर पदका उम्मेदवार उपेन्द्र खड्काले आईतबार भेट गरेका छन् ।

उनले आफू चुनावमा होमिएको भन्दै समग्र काँग्रेस कार्यकर्ताको भावना बमोजिम अघि बढ्ने भन्दै विगत भन्दा पनि काँग्रेस जिताउने अभियानमा काँग्रेस लाग्नुपर्ने अनुरोध समेत गरेका छन् ।

अपुरा काम गर्नुछ : प्रमुखका उम्मेदवार ढकाल
एमालेका नगर प्रमुखका उम्मेदवार मोहनमाया ढकाल भने वीरेन्द्रनगरका अपुरा कामहरु सम्पन्न गर्नका लागि आफ्नो उम्मेदवारी भएको बताउँछिन ।

‘प्रदेश सरकारसँगको सहकार्यमा सडक फराकिला बनाएका छौं । महिला दिदीबहिनीले अटोरिक्सा चलाएका छन् । खानेपानी समस्या समाधानका लागि ६ अर्ब भन्दा बढि बजेटको योजना बनाएका छौं ।

पूर्वाधारका क्षेत्रमा धेरै काम गरेका छौं । कोभिडको समयमा जनताको सुख दुःखको साथी बनेका छौं । त्यसैले पनि हामी जीत नजिक पुगेका छौं ।’ ढकाल भन्छिन्, ‘समुन्नत वीरेन्द्रनगर बनाउन अझै धेरै काम गर्न बाँकी छ । वीरेन्द्रनगरलाई उपमहानगर बनाउनुछ ।’

आचारसंहिता उल्लंघनका घटना बढदै
कर्णाली प्रदेशका अधिकांश मन्त्रीहरु सरकारी गाडीको दुरुपयोग गर्दै आफ्ना पालिका तथा विभिन्न निर्वाचन क्षेत्रमा निर्वाचन प्रचार प्रसारका लागि पुग्ने गरेको पाइएको छ ।

निर्वाचन आयोगले बहालवाला मन्त्रीहरुलाई चुनावी कार्यक्रममा सहभागि हुन नपाईने भनेर आचारसंहिता बनाएपनि कर्णाली सरकारका मन्त्रीहरु भने झण्डावाला गाडीको खुलमखुल्ला प्रयोग गर्दै निर्वाचन आचारसंहिता उल्लंघन गर्न प्रतिस्पर्धा गर्न थालेका हुन ।

निजामति कर्मचारीहरु समेत खुलेआम आफु आवद्ध रहेको दल र नेताहरुको चुनावी प्रचार सामाग्री सामाजिक सञ्जालमा पोष्ट गरेर भोट मागिरहेका छन् । निजामति कर्मचारीलाई नियन्त्रण गर्ने जिल्ला स्थित जिल्ला प्रशासन कार्यालय मौन भएको छ ।

कर्णाली प्रदेश सरकारको भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालय अन्र्तगत रहेको पूर्वाधार विकास निर्देशनालयका लेखा अधिकृत याम बहादुर विसी खुलेयाम नेकपा माओवादी केन्द्रलाई भोट माग्न थालेका छन् ।

उनले सामाजिक सञ्जालमा एक पोस्ट गर्दै यस्तो भनेका छन्, ‘पार्टी संगठन सिद्वान्त, बिचार र एजेण्डाले चल्ने हो । सहि बिचार, सिद्वान्त र एजेण्डा भएको पार्टी नेकपा माओबादी केन्द्र भएकोले यस पटकको निर्बाचनमा गोलाकार भित्रको हसिया ,हथौडा अंकित चुनाब चिन्हमा मतदान गरि आफ्नो अमुल्य मतको सदुपयोग गरौं ।’

उनी मात्रै होइनन्, नेपाली काँग्रेस निकटको नेपाल निजामती कर्मचारी युनियन स्वास्थ कर्मी संघ सुर्खेतका निवर्तमान अध्यक्ष एवम हाल केन्द्रीय सदस्य रहेका राजेश बुढाले दैलेखको महावु गाउँपालिकामा नेपाली काँग्रेसको तर्फबाट उम्मेदवार बनेकाहरुको पक्षमा भोट मागेका छन् ।

उनले भनेका छन्, ‘महावु गाउँपालिका दैलेखका कर्मशिल इमान्दार, निष्ठावान नेपाली काँग्रेसका उम्मेदवारलाई विजयी गराऔं ।’ यसरी सरकारका मन्त्री देखि कर्मचारी सम्मले निर्वाचन आचारसंहिता उल्लंघन गर्न थालेको पाइएको हो ।

एमालेको आक्रामक चुनावी कार्यक्रम, माओवादी–काँग्रेस अझै अलमलमा

लेकबेशीमा काँग्रेस-समाजवादी सहकार्य

एमालेको आक्रामक चुनावी कार्यक्रम, माओवादी–काँग्रेस अझै अलमलमा

आगामी बजेटमा नागरिकको सुझाव समेट्दै कर्णाली सरकार

Leave a comment

Your email address will not be published. Required fields are marked *