आचारसंहिता पालनामा कडाइ गर्न सुझाव

दैलेख, १६ कात्तिक ।
प्रतिनिधि तथा प्रदेश सभा निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गर्नका लागि निर्वाचन आचारसंहिता कडाइका साथ लागू गर्न सरोकारवालाले सुझाव दिएका छन्। जिल्ला प्रहरी कार्यालय दैलेखको आयोजनामा सम्पन्न अन्तक्र्रियाका सहभागीले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र धाँधलीरहित तरिकाले सम्पन्न गर्न निर्वाचन आचारसंहिता पालनामा कडाइ गर्नुपर्ने सुझाव दिएका हुन्।
मङ्गलबार प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमाल, प्रहरी प्रमुख (डीएसपी) भुवनेश्वरप्रसाद शाह, कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुखलगायतको टोलीसँग उनीहरूले निर्वाचन आचारसंहिता पालना गर्न राजनीतिक दल र उम्मेदवारलाई बढी जिम्मेवार बनाउनुपर्ने पनि बताएका छन्।

डँुगेश्वर गाउँपालिका–५ का कृष्ण न्यौपानेले निर्वाचनको बेला मात्र नागरिकका बीचमा आउने र निर्वाचनमा मतदातालाई प्रलोभन देखाउने समस्याले निर्वाचनमा जनचासो कम भएको बताए । उनले भने , “जिल्लामा रहेको सुरक्षा निकायले पनि सबै राजनीतिक दल तथा उम्मेदवारलाई विशेष निगरानीमा राखी निर्वाचन आचारसंहिता पालना गरे नगरेको हेर्नुपर्ने हुन्छ।”
प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालले प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनलाई शान्तिपूर्ण रूपमा सम्पन्न गर्न सबै नागरिकको भूमिका महत्वपूर्ण हुने भन्दै कुनै समस्या भए खबर गर्न आग्रह गरेका छन् ।
उनले निर्वाचनको समयमा राजनीतिक आस्थाका आधारमा घटना हुन नदिन सबै नागरिक जिम्मेवार बन्नुपर्ने बताउँदै राजनीतिक पार्टी र उम्मेदवारले आचारसंहिता उल्लङ्घन गरे तत्काल उजुरी गर्न नागरिकलाई आग्रहसमेत गरे। जिल्लाका ११ पालिकामा शान्तिपूर्ण निर्वाचन सम्पन्न गर्नका लागि नागरिकसँग अन्तक्र्रिया कार्यक्रम सञ्चालन गर्ने प्रजिअ हमालले बताए ।
प्रहरी प्रमुख (डीएसपी) भुवनेश्वरप्रसाद शाहले निर्वाचनको समयमा हुने विभिन्न गतिविधिको अध्ययन अवलोकन गरिरहेको र प्रहरीलाई आमनागरिकले सहयोग गर्नुपर्ने बताए । उनले नागरिक बिनाबर्दीको प्रहरी भएको भन्दै शान्तिपूर्ण निर्वाचन मात्र नभएर समाजलाई शान्ति सुव्यवस्था कायम गर्न सधैँ खबरदारी गरिराख्नुपर्ने बताए ।
डुँगेश्वर गाउँपालिका अध्यक्ष सुन्दरकुमार केसीले स्थानीय निर्वाचनमा कुनै विवाद नभएको पालिकामा यस पटक पनि विवाद नगरी निर्वाचन सम्पन्न हुने बताए ।
गोरखापत्र





