सुर्खेतमा ब्राउनसुगरसहित ७ जना पक्राउ
सुर्खेत,१६ कात्तिक ।
सुर्खेत जिल्ला प्रहरीले लागूऔषध ब्राउनसुगरसहित ७ जनालाई पक्राउ गरेको छ । कर्णाली प्रदेशको राजधानी सुर्खेत को प्रवेशद्वारमा सुब्बाकुना प्रहरी चेकपोस्टमा नेपालगञ्जदेखि सुर्खेत आइरहेको बा.१७ च–७९६९, नम्बरको जिपबाट २ सय ७० मिलिग्राम ब्राउनसुगरसहित चार जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा जिपचालक वीरेन्द्रनगर–११, का ३० वर्षीय गंगे सुनार, सोही ठाउँका ३९ वर्षीय दीपक ढकाल, ३० वर्षीय नवीन बक्स र दैलेखको डुङ्गेश्चर गाउँपालिका–३, घर भई हाल वीनपा–१०, मा बस्दै आइरहेका १७ वर्षीय लोचन रावल रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सुरज कार्कीले बताए ।
कार्कीले भने वीरेन्द्रनगरकै पाथीभरा टोलबाट ब्राउनसुगरसहित वीरेन्द्रनगर–९, लाटीकोईलीका २४ वर्षीय सुरज शाही र वीनपा–२, बाङ्गेसिमल बस्ने २७ वर्षीय उमेश सुनारलाई पक्राउ गरिएको बताए। प्रहरीका अनुसार उनीहरूको साथबाट १ ग्राम ४ सय ८० मिलिग्राम ब्राउनसुगर बरामद भएको छ ।
प्रहरीले वीरेन्द्रनगरकै गण्डकीलाइनबाट चेक गर्ने क्रममा सन्तोष बैगारको साथबाट १ ग्राम ४ सय ४० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरेको जनाएको छ । पक्राउ परेकामाथि अहिले थप अनुसन्धान भइरहेको छ ।
कान्तिपुर





