कर्णाली प्रदेशका सात हजार बढी अपाङ्गता बालबालिकालाई उपचारको खाँचो

पुनम वि.सी.
सुर्खेत, १८ जेठ ।
पश्चिम नेपालको एक गाउँमा तीन दाजुभाई मध्ये जेठी सन्तानको रुपमा कमला (नाम परिवर्तन) को जन्म भयो । उनको जन्म सामान्य भने थिएन । जन्मजात नै उनी ‘स्कोलियोसिस’ स्वास्थ्य समस्याका साथ जम्मिएकी थिइन् ।

कमलाको स्वास्थ्य समस्का कारण उनका परिवार चिन्तित थिए । स्वास्थ्य उपचार क्षेत्रमा अहिलेपनि मेरुदण्डको जटिल शल्यक्रिया महंगो नै छ । खेती–किसानी नै आम्दानीको स्रोत रहेको उनको परिवारलाई कमलाको उपचारका लागि खर्च गर्न सक्ने सबल आर्थिक अवस्था पनि थिएन ।

जन्मजात कमलाको मेरुदण्ड सिधा थिए । बढ्दो उमेरसँगै उनको ढाड झनझनै बटारिन थाल्यो । मेरुदण्डले झन्झन् समस्या दिएपछि विद्यालयको औपचारिक शिक्षाबाट बञ्चित समेत हुनुपरर्यो ।

नेपालको पश्चिम समाजको सामान्य परिवारमा अर्का एक बालक लक्ष्मणको पनि जन्म भयो । जन्म समयमा उनी सामान्य नै थिए । विस्तारै उनका खुट्टाहरुमा समस्या देखिन थाल्यो । खुट्टाका हड्डीहरु भाँचिएको झै हुन थाले, मांसपेसीहरु लत्रिन थाले ।

हिड्डुल गरिरहेको बालक लक्ष्मणलाई यतिसम्म समस्या आयो कि, उनकी सानी बहिनीले बोकेर उनलाई विद्यालय पुरयाउथिन् । जहाँ पुग्दा पनि उनी कसैको पिठ्युको सहारामा पुग्नु पथ्र्यो । उनमा ‘ओस्टियोजेनेसिस इम्परफेक्टा’ नामक हाडजोर्नी सम्वन्धीको दुर्लभ बिरामी देखापरेको थियो ।

कक्षा कोठामा अन्य साथीबाट समेत लक्ष्मणले दुव्र्यवहार सहनुपरर्यो । पहाडको बाटोमा संधै दोस्रो व्यक्तिको पिठ्युमा चढेर विद्यालय पुग्न सम्भव पनि थिएन, अन्त्यमा लक्ष्मणले पनि विद्यालय छाडे ।

लक्ष्मण र कमला नेपालको पश्चिम क्षेत्रका बालबालिकाको स्वास्थ्य अवस्था झल्काउने प्रतिनिधि पात्र मात्र हुन् । अझैपनि नेपालको पश्चिम विशेषत कर्णाली प्रदेशमा यस्ता स्वास्थ्य समस्या भएका बालबालिकाको संख्या न्यून भने छैन ।

खासगरी कर्णाली प्रदेशमा शारिरिक अपाङ्गता भएका बालबालिकाको संख्या हजारौँको संख्यामा छ । समयमा नै उपचार हुन सके निको हुनसक्ने अवस्था रहँदा–रहँदै पनि अधिकांशले उपचार पाएका छैनन् ।

उपचार अभावका कारण उनीहरु आफ्नै समुदायमा कुण्ठित भई बस्न वाध्य छन् । लक्ष्मण र कमलाले समयमै उपचार पाए, उनीहरुको स्वास्थ्य अवस्था अहिले सामान्य नै छ ।

वरिष्ठ एनेस्थेसियोलोजिस्ट तथा स्पाइन सर्जनहरूले कमलाको मेरुदण्डको शल्यक्रिया गरे । सफल शल्यक्रिया पश्चात कमलाको स्वास्थ्य अवस्था सामान्य भयो ।

उनले विद्यालयको औपचारिक शिक्षा पुनः अध्ययन थालिन् । मेरुदण्डको समस्याका कारण कुनै समय विद्यालय शिक्षाबाट बञ्चित भएकी कमला अहिले सरकारी सेवामा छिन् ।

लक्ष्मण पनि औपचारिक शिक्षाका लागि विद्यालय फर्केका छन् । ‘यस्तो समस्याको उपचार गर्न सकिन्छ भनेर हामीले कहिल्यै सोचेका पनि थिएनौं’, लक्ष्मणकी आमा भन्छिन्, ‘उपचारका लागि सहयोग गने सबैलाई धन्यवाद दिन चाहन्छु, मेरो छोराले नयाँ जिवन पाएको छ ।’

दुई महिनाको अवधिमा लक्ष्मणले आफ्नो खुट्टाको धेरै शल्यक्रिया गरियो, उनको सफल उपचार भयो । लक्ष्मण अहिले खेल्न, कुद्ने भएका छन् । विद्यालयको औपचारिक शिक्षा पनि लिईरहेका छन् ।

विलाङ्ग मित्र समूह र अपाङ्ग बाल अस्पताल तथा पुर्नस्थापना केन्द्रले निःशुल्क रुपमा शल्यक्रियामार्फत कमला र लक्ष्मणको स्वास्थ्य अवस्थालाई सामान्य बनाएको हो ।

०६८ को जनगणना अनुसार कर्णालीमा आठ हजार तीन सय सात बालबालिकामा कमला र लक्ष्मणका देखिएको स्वास्थय समस्याका कारण शारिरिक अपाङ्गता रहेको तथ्यांक छ । जसमध्ये हालसम्म एक हजार सात सय २७ जनाले शारिरिक अपाङ्गता विरुद्व उपचार गरिरहेका छन् ।

अझैपनि सात हजार आठ सय ४२ जना शारिरिक अपाङ्गता भएका बालबालिका उपचारको पहुँच बाहिर रहेको होमराज केसी बताउँछन् ।
केसी विगत लामो समय यता विलाङ्ग मित्र समूह/अपाङ्ग बाल अस्पताल तथा पुर्नस्थापना केन्द्र (एचआरडीसी) सँग आवद्व रही कर्णाली प्रदेश पर्यवेक्षकका रुपमा क्रियाशिल रही आएका छन् । शारिरिक अपाङ्गता भएका बालबालिकाको संख्या कर्णाली प्रदेशमा धेरै छ ।

०६८ कै तथ्यांक हेर्ने हो भने सबैभन्दा बढी सुर्खेतमा एक हजार आठ सय ५६ जना बालबालिकामा शारिरिक अपाङ्गता देखिएको छ । त्यसैगरी दैलेखका एक हजार तीन सय ८५ जना बालबालिकामा शारिरीक अपाङ्गता छ । सल्यानमा एक हजार दुई सय ८२ जना बालबालिकामा शारिरिक अपाङ्गता छ ।

त्यसैगरी कालिकोटमा सात सय २४, जुम्लामा पाँच सय ७६, मुगुमा दुई सय ९२, रुकुम पश्चिममा आठ सय २२, जाजरकोटमा नौं सय ६, डोल्पामा एक सय ९४ र हुम्लामा दुई सय ६९ जना बालबालिकामा शारिरिक अपाङ्गता समस्या रहेको छ ।

‘उपचार सम्भव, सरकार भने बेवास्ता गर्दैछ’ केसी
शारिरिक अपाङ्गता भएका बालबालिकाको उपचार समयमै गर्न सके उपचार सम्भव रहेको एचआरडिसीका कर्णाली प्रदेश पर्यवेक्षक होमराज केसी बताउँछन् ।

धेरै संख्यामा बालबालिकामा शारिरिक अपाङ्गता रहेता पनि उनको उपचार तथा पुर्नस्थापनाका विषयमा कर्णाली प्रदेश सरकार तथा स्थानीय तहले चासो नदेखाएको उनको आरोप छ ।

उनले भने, ‘चालु आर्थिक वर्ष २०७८/०७९ मा एचआरडिसीले कर्णाली प्रदेशभर विभिन्न स्थानमा स्वास्थ्य शिविर सञ्चालन गरेको थियो । कर्णालीका विभिन्न स्थानमा १५ दिन सञ्चालन गरिएको शिविरमा बालबालिकामा अपाङ्गता स्वास्थ्य समस्या भएका एक हजार नौं सय बालबालिकाको पहिचान भएको छ । जस मध्ये दुई सय जना भन्दा बढी बालबालिकालाई तत्काल शल्यक्रियाको आवश्यकता छ ।’

स्वास्थ्य शिविर मार्फत चार सय भन्दा बढी बालबालिकालाई कृतिम खुट्टा, वैशाखी लगायतका सामाग्री सहयोग गरिएको उनले बताए । कर्णालीमा धेरै संख्यामा रहेका बालबालिकाको अपाङ्गता स्वास्थ्य समस्याका लागि समयमै सम्बन्धित निकायले सोच्नुपर्ने उनको सुझाव छ ।

एचआरडीसीको सक्रियता
एचआरडीसीको इतिहाँस प्रा. डा. अशोकके बाँस्कोटाको दर्शनबाट सुरु हुन्छ । सन् १९७७ मा अमेरिकाको न्यूयोर्कमा मेडिकल तालिम र बोर्ड सर्टिफिकेट पश्चात उनी नेपाल फर्किए । नेपालमा अपाङ्गता भएका बालबालिकाका लागि उपलब्ध सेवाको अभाव देखेर उनलाई नराम्रो लाग्यो ।
पछि १९८५ मा स्वास्थ्य सेवा सुविधाबाट बञ्चित गरिव समुदायका नागरिकलाई सेवा प्रदान गर्ने उद्देश्यले यस क्षेत्रमा प्रारम्भिक कार्यक्रमको सुरुवात गरे । जसकारण आज अपाङ्गता भएका बालबालिकाका लागि पुर्नवास अस्पताल निर्माण भएको छ ।

अभियान सञ्चालनको तीस वर्षपछि, डा. बाँस्कोटाका छोरा, डा. विवेकले आफ्ना वुवाको सपनालाई निरन्तरता दिइरहेका छन् । डा. विवेक बाँस्कोटाले अर्थोपेडिक्समा विशेषज्ञता हाँसिल गरेका छन् ।

एचआरडीसीले नेपालमा अपाङ्गता भएका व्यक्तिहरुको उपचारका लागि काम गरिरहेको छ । सन् १९९३ मा कुल ५४ स्वास्थ्य कर्मचारी सदस्यहरुका साथमा यो संस्थाले कुल चार हजार ६ सय ३८ जना बालबालिकालाई शारिरिक अपाङ्गता उपचार सम्वन्धी सेवा दिएको थियो ।

त्यसको दुई दशकपछि अहिले संस्थामा दुई सय ३० जनाको जनशक्ति आवद्व छ । शारिरिक अपाङ्गता भएका २५ हजार बढी नागरिकले एचआरडीसी मार्फत सेवा लिईसकेका छन् । जसमध्ये दुई हजार तीन सय भन्दा धेरै सफल शल्यक्रिया भएको एचआरडिसीका कर्णाली प्रदेश पर्यवेक्षक होमराज रेग्मीले जानकारी दिए ।

फोटो क्याप्सनः
तस्विरहरु -जन्मजात मेरुदण्डको अवस्थाका कारण शारिरिक अपाङ्गता समस्यामा रहेकी कमला (नाम परिवर्तन) ।
-मेरुदण्डको सफल शल्यक्तिया पश्चात समाजमा कमलाको पुर्नस्थापित अवस्था ।
-खुट्टाको शारिरिक समस्या रहेका लक्ष्मणको अवस्था–उपचारअघि र उपचारपछि ।
(तस्विर सौजन्यः एचआरडीसी)

कर्णाली प्रदेशका सात हजार बढी अपाङ्गता बालबालिकालाई उपचारको खाँचो

कांग्रेसबाट १३ हजार ७४८ जनप्रतिनिधि निर्वाचित

कर्णाली प्रदेशका सात हजार बढी अपाङ्गता बालबालिकालाई उपचारको खाँचो

‘पालिकाभित्र स्वास्थ्य र शिक्षामा समस्या छ’

Leave a comment

Your email address will not be published. Required fields are marked *