बोलचाल नभएरै विवाह कुराकानी हुँदै जाँदा माया

आमाबुवा भनेका ज्यूँदा भगवान हुन् । यहीकारण त हरेक सन्तानका लागि अभिभावकले गर्ने निर्णय अनिवार्य जस्तै हुन्छ । आमाबुवाले जन्माउने मात्र होइन्, सन्तानको लालनपालनसँगै घरबार पनि जोडिदिन्छन् । उमेर बढ्दै गएपछि सन्तानको विहे गरिदिन्छन् । न चिनजान, न त अहिलेको जस्तो प्रेम सम्बन्ध नै। तर पनि परिवारको निर्णयले सुर्खेतका खुमप्रसाद चपाई र दुर्गादेवी आचार्यले लगनगाँठो कसे । विहे हुँदासम्म उनीहरुबिच बोलचाल नै हुन पाएन । विहेपछि कुराकानी हुँदै जाँदा मात्र उनीहरुबिच गहिरो माया बस्यो । प्रस्तुत छ, यो जोडीसँग गरिएको कुराकानीको साराशं :
पहिलो भेटमा कुराकानी भएन
खुमप्रसादको उमेर बढ्दै थियो । उनी १८ बर्षका थिए । उतिबेला सानो उमेरमै बिवाह गरिदिने चलन थियो । विशेषगरी आमाबुवाकै सल्लाहमा मागी बिवाहको चलन थियो । २०४० सालको बैशाख महिना थियो । त्यतिबेला खुमप्रसाद कक्षा ९ मा पढ्थे । घरमा बिवाह गरिदिने भन्दै खुमप्रसादका बुवा दुर्गादेवीको घर सुर्खेतको लेकबेशीस्थित चन्द्रपुरमा पुगे ।
उनको बुवा र दुर्गादेवीको बुवाबिच पहिलेदेखि नै चिनजान थियो । घरपरिवारमा कुराकानी भएपछि एकपटक केटाकेटीको पनि चिनजान गराइदिने भन्दै खुमप्रसादलाई दुर्गादेवीको घरमा लगियो । साँझको समय थियो । त्यसबेला अहिलेको जस्तो विजुलीको व्यवस्था थिएन । झिसमिसे उज्यालोमा खुमप्रसादले दुर्गादेवीको अनुहार राम्रोसँग देख्न पाएनन् । केटाकेटी बिचमा कुनै कुराकानी हुनै नपाएर खुमप्रसाद बिहानै घर फर्किए ।
कलिलैमा विहे
केटाकेटीको भेट गराएपछि दुबै परिवारले बिवाह गरिदिने निधो गरे । खुमप्रसादले पनि आफु बिवाह गर्न तयार रहेको बताए । दुर्गादेवीले पनि बुवाआमाले भनेअनुसार नै बिवाह गर्न राजी भइन् । सामाजिक परम्परा अनुसार उनीहरुको मागी बिवाह भयो । त्यतिबेला खुमप्रसाद १८ वर्षका थिए भने दुर्गादेवी १५ बर्षकी थिइन् । बिवाह भएर आउँदा दुर्गादेवीलाई केही नरमाइलो अनुभुति भइरहेको थियो । उमेरले पनि परिपक्व नभएकी उनी घरबार गरेर आउँदा अफ्ठेरो महसुश गरेकी थिइन् । तर विस्तारै घुलमिल हुँदै गइन् ।
विहेपछि मात्रै बोलचाल
बिवाह भएको पर्सीपल्ट उनीहरु माइतीमा गए । बाटोमा खुमप्रसादले दुर्गादेवीलाई बोलाउँथे । तर दुर्गादेवी लाजले बोल्न सकिनन् । उनीहरु नबोलेरै माइतीमा पुगे । उनीहरु अहिले स्मरण गर्दै भन्छन, ‘बोल्न धेरै लाज लाग्थ्यो, के हुन्थ्यो हुन्थ्यो ।’ माइतीबाट फर्किने समय भयो । दुर्गादेवीका आमाबुवाले छोरीलाई केही दिनपछि पठाउने भन्दै खुमप्रसादलाई मात्र घर पठाए ।
उनी एक्लै घरमा फर्किए । त्यो साउनको महिना थियो । साउनको महिना बार्ने चलनअनुसार दुर्गादेवीलाई माइतीमै राखिएको थियो । बिवाह भए पनि बोलचाल भने भएको थिएन । साउनको महिना बारिसकेपछि उनी माइतीबाट घर फर्किन् । उनी घरमा आएको केही दिनपछि मात्र उनीहरुको बोलचाल शुरु भयो ।
अनि बस्यो माया
उनीहरु बिवाहपछि मात्रै मायाको संसारमा डुबेका हुन् । अहिले युवायुवतीहरु पहिले मायामा डुबेपछि विहे गर्छन् । तर त्यतिबेला त्यस्तो चलन थिएन । उनीहरुको बिचमा जब बोलचाल र कुराकानी हुन थाल्यो, तबमात्र माया बस्न थाल्यो । अनि दुबै जनाले मायाको अनुभुति गर्न थाले । जुनसुकै ठाउँमा जाँदा पनि सँगै जाने, सँगै खाने र हरेक कुरामा सल्लाह गर्न थाले । अझभन्दा बिवाहपछि मात्रै उनीहरुको लभ पर्यो ।
जीवनमा संघर्ष
उनीहरुले धेरै संघर्ष गर्नुपर्यो । एकातिर आफ्नो पढाइलाई निरन्तरता दिनुपर्ने थियो भने अर्कोतर्फ घरपरिवार सम्हाल्नुपर्ने । साथमा छोरीलाई हुर्काउनुपर्ने । खुमप्रसादले आफ्नो संघर्षलाई अवसरको रुपमा लिएर काम गर्थे । दुर्गादेवी पनि संघर्ष गरेपछि मात्र फल पाइन्छ भन्ने सोच्थिन् । उनले पनि आफ्नो कामलाई पहिलो प्राथमिकता दिन्थिन् ।
खुमप्रसादले पढाइ पुरा गर्दै गए । उनले एसएलसी पास भएपछि अस्थायी शिक्षकको रुपमा काम गर्ने मौका पाए । जागिर पाएपछि घरपरिवार चलाउन सहज हुँदै गयो । २०४५ सालमा उनी स्थायी शिक्षक बने । उनीहरुका चारै छोरीहरू अहिले जागिरे छन् । एक जना अधिकृत, दुईजना नासु र एक निमावि स्थायी शिक्षक भएर काम गरिरहेका छन् ।
यस्तो थियो बाल्यकाल
बुवा कमलाती चपाई र आमा हरिकला चपाईको कोखबाट विस २०२२ साल कात्तिक १६ गते हालको लेकवेशी नगरपालिकाको नेटामा भएको हो । उनी घरको जेठो छोरा हुन् । उनको एक भाई दुई बहिनी छन् । उनको बुवाले कृषि पेशा गर्दथे । सामान्य परिवारमा जन्मिएका उनको बाल्यकाल गाउँमै वित्यो । उनले लेकफर्सामा ३ कक्षा सम्म, ४ देखि जीवनज्योती मावि दशरथपुरमा पढेका हुन् । त्यही माविबाट विसं २०४३ सालमा एसएलसी गरेका उनले साविकको वीरेन्द्रनगर बहुमुखी क्याम्पसबाट विए पास गरे ।
अनि एमएड शिक्षा क्याम्पसबाट गरेका हुन् । यस्तै बुवा नन्दाराम आचार्य र आमा शशीकला आचार्यको कोखबाट विसं २०२५ साल बैशाख १५ गते सुर्खेतको साटाखानीमा दुर्गादेवी आचार्यको जन्म भएको हो । उनी पनि घरको जेठो छोरी हुन् । उनका दुई भाई र एक बहिनी छन् । त्यतिबेला छोरीहरुलाई पढाउने चलन थिएन । तर उनले ५ कक्षासम्म पढेकी छन् । मिलनसार र मेहनति स्वभावकी उनले सबै काम गर्न जानेकी छन् ।
सल्लाह र सहकार्य
यो जोडीले जुनसुकै काम गर्दा पनि सल्लाह र समझदारीमा गर्छन् । काम गर्नुभन्दा पहिले उनीहरुको बिचमा छलफल हुन्छ । सानो कुरामा पनि सल्लाह गरेर काम गर्छन् । कहिलेकाँही फुर्सद मिलाएर रमाइला ठाउँहरुमा घुम्न पनि जान्छन् ।






