विश्वकप छनोट : तीन खेलमा नेपालका सामु केही अवसर

काठमाडाैं : कोरोना महामारीका कारण पटक पटक सरेको विश्वकप २०२२ तथा एसिया कप २०२३ को दोस्रो चरणका छनोट खेलहरू २० जेठबाट कुवेतमा सुरु हुँदै छन् ।
सामान्य अवस्थामा नेपालको घरेलु मैदानमा हुने खेल एएफसीले कोरोना महामारीको कारण देखाउँदै न्युट्रल भेन्युको रुपमा रहेको कुवेतमा गर्ने निर्णय गरेसँगै नेपाली टिम आइतबार राति कुवेत पुगेको छ । इराकसँग मैत्रीपूर्ण खेल खेलेर नेपाल स्थलमार्गबाट कुवेत पुगेको हो। दोस्रो चरणको छनोटको बाँकी खेल खेल्न नेपाली फुटबल टोली कुवेत पुगेको छ ।
कुवेतमा नेपालले २० जेठमा चाइनिज ताइपेई, २४ जेठमा जोर्डन र २८ जेठमा अष्ट्रेलियासँग खेल्नेछ । यसअघि नेपालले अवे अन्तर्गत सबै तीन खेल खेलिसकेको छ। कुवेतसँगको होम खेल भने दशरथ रंगशाला तयार नभएपछि भुटानमा गएर खेलेको थियो ।
समग्रमा विश्वकप छनोटको सम्भावना कमजोर रहे पनि एसिया कपको लक्ष्य भने अन्त्य भइनसकेको प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले बताएका छन् । उनले बाँकी तीन खेलमा राम्रो नतिजा निकाल्ने प्रयासमा नेपाल रहने बताएका छन् ।






