चाडपर्व नजिकिदै गर्दा खाद्यान्नको पीरलाे

सुर्खेत, ३ असोज । यसवर्ष ठूला चाडपर्व नजिकिन थालेका छन् । ठूला चाड दशैं र तिहार नजिकिदै गर्दा दुर्गममा भने खाद्यान्नको पीरलो सुरु भएको छ । चाडपर्व नजिकिदै गर्दा कर्णालीका दुर्गम जिल्लामा रहेका खाद्यान्नका गोदामहरु भने रित्तिएका छन् । गोदाममा चामल सकिएपछि स्थानीयलाई चाडवाडको बेला चामल नपाइने चिन्ता बढेको हो ।

कर्णालीका हुम्ला, मुगु, डोल्पा र जाजरकोट लगायतका जिल्लामा सामान्य अवस्थामा पनि खाद्यान्नको अभाव हुन्छ । मुख्यगरी दुर्गम बस्तीका नागरिकले बर्सेनि चाडबाडको समयमा चामलको अभाव भोग्दै आएका छन् । ती जिल्लामा स्थानीय उत्पादन भएको अन्नले वर्षभरी धान्दैन ।

यहीकारण सरकारले हरेक वर्ष अनुदानमा ढुवानी गरेर स्थानीयलाई सहुलियतको चामल उपलब्ध गराउँदै आएको छ । तर यसपाली भने चाडपर्व नजिकिदै गर्दा दुर्गममा रहेका खाद्यान्नका गोदाममा चामल छैन ।

दुर्गममा रहेका गोदाममा चामल सकिएको र सहुलियतको चामल पनि पाउन मुश्किल भएपछि स्थानीयले यसपालीको चाड खल्लो हुने चिन्ता गरेका हुन् । साथै उनीहरुले तत्काल सरकारले चामल ढुवानी नगरे दशैं र तिहारमा आफूहरुले चामलविनै मनाउनुपर्ने अवस्था आउने दुखेसो पोखेका छन् । यसका लागि तत्काल चामल ढुवानीको व्यवस्था मिलाउन स्थानीय तहका जनप्रतिनिधिले ध्यानाकर्षणसमेत गराएका हुन् ।

खाद्यान्न ढुवानी नहुँदा मुगुका सबै खाद्य गोदाम रित्तिएका छन् । खाद्य व्यवस्था, व्यापार तथा कम्पनी लिमिटेडले चालु आर्थिक वर्षका लागि टेन्डर स्वीकृत नगर्दा दसैंको मुखमा जिल्लामा रहेका गोदामहरू रित्तिएका हुन् । गमगढीस्थित खाद्य गोदाममा गत आर्थिक वर्षको करिब चारसय क्विन्टल चामल मौज्दात छ । तर विशेष अवस्थाका लागि चाहिने भन्दै सदरमुकामबाट पनि खाद्यान्न वितरण रोकिएको छ ।

अहिले श्रीकोट, पुलु, सोरुकोट, कालै र रातापानीमा रहेका खाद्य डिपोमा चामल नै नभएको कम्पनीले जनाएको छ । दसैंमा पनि स्थानीयलाई सरकारी अनुदानको चामल पाउन गाह्रो हुने सोरु गाउँपालिका अध्यक्ष लोकबहादुर शाहीले बताए । ‘गाउँमा खाद्यान्न अभाव सुरु भएको छ’ उनले भने, ‘संघीय सरकारलाई पटकपटक आग्रह गर्दा पनि चामल पठाएको छैन ।’

यता चालु आर्थिक वर्षको नयाँ टेन्डर प्रक्रिया ढिलो हुँदा गोदामहरू रित्तिएको कम्पनीका निमित्त प्रमुख पुष्कर भामले बताए । यसैबिच दुर्गमका बासिन्दाले सहुलियत मुल्यको चामल पनि पाउन सकेका छैनन् । सरकारले हरेक वर्ष दसैं र तिहारजस्ता चाडपर्वको अवसर पारेर वितरण गर्दे आइरहेको सुपथ मूल्यको चामल स्थानीयले यो वर्ष नपाएका हुन् ।
मुगुमा हाल ६ सय क्विन्टल मात्र चामल गोदाममा मौज्दात रहेको र अभावका कारण मुगुका जनताले सो चामल नपाएका हुन् । चामल अहिले नै वितरण गर्दा दुईदिनमै शाखा कार्यालय रित्तिने सूचना अधिकारी पुस्कर भाम बताउँछन् ।

खाद्य सुरक्षा समितिको निर्णयअनुसार मुगुमा सहुलियत मुल्यको चामल अहिले नै वितरण नगरेर असोजको दोस्रो सातातिर वितरण गर्ने कार्यालयले जानकारी दिएको छ ।
यतिबेला दुर्गमका डिपोमा चामल सकिएपछि दशैंका लागि जोहो गर्न भन्दै दिनहुँ चामल लिने सेवाग्राहीको भिड नै लाग्ने गरेको छ । तर सेवाग्राहीलाई चामल उपलब्ध गराउन नसकिएको डिपोहरुले जनाएका छन् । गाउँमा चामल सकिएपछि सर्वसाधारण सदरमुकाममा रहेका डिपोमा धाउन थालेका हुन् ।

सरकारले सहुलियतमा बिक्री गर्ने चामल अभाव भएपछि बजारमा महंगो मुल्य तिरेर चामल किन्नुपर्ने बाध्यतामा सर्वसाधारण छन् । कर्णालीका मुगु, डोल्पा र हुम्लामा नेपाल सरकारले ढुवानी अनुदानमा खाद्यान्न र नुन उपलब्ध गराउँदै आएको छ । गत आर्थिक वर्षको चामल बिक्री भईसकेको र नयाँ आर्थिक वर्षको चामल जिल्लामा आपूर्ति नभएका कारण खाद्यान्न संकट भएको नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले जनाएको छ ।

चाडपर्व नजिकिदै गर्दा खाद्यान्नको पीरलाे

आज, चेन्नई र मुम्बई भिड्ने

सम्पादकीय

Leave a comment

Your email address will not be published. Required fields are marked *