अफगान सेनाको कारबाहीमा १० तालिवानी लडाकुको मृत्यु

रासस । अफगान सेनाले गरेको कारबाहीमा राजधानी काबुल नजिक १० जना तालिवानी लडाकू मारिएका छन् । अफगान सेनाले कारबाहीमा ६ जना लडाकू घाइते भएको पुष्टि गरेको छ ।
राजधानी काबुलबाट ३५ किलोमिटर पश्चिमको वार्डाक प्रान्तमा लुकेर बसेका तालिवानी लडाकूलाई लक्षित गरी बिहीबार बेलुका कारबाही गरिएको सेनाले जनाएको छ ।
सेनाले प्रकाशन गरेको विज्ञप्तिमा वार्डुका प्रान्तको निर्ख जिल्लामा भेला हुन थालेका तालिवानी लडाकुलाई लक्षित गरी सेनाले आक्रमण गरेको उल्लेख छ। गत मे महिनामा भिषण संघर्षपछि निर्ख र त्यसको छिमेकी जलरेज जिल्लालाई तालिवान समूहले नियन्त्रणमा लिएका थिए ।
तालिवान समूहले पछिल्लो भिडन्तका बारेमा केही बताएका छैन । संयुक्तराज्य अमेरिका र नेटोका सेनाहरु अफगानिस्तानबाट फिर्ता हुँदै गर्दा देशका विभिन्न भागमा हिंसात्मक घटनाहरु बढ्दै गएका छन् ।






