‘मेरो कित्ता’ सेवा शुभारम्भ, घरजग्गाको नक्सा हेर्न मालपोत जानु नपर्ने : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले घरजग्गा अनलाइन सेवा ‘मेरो कित्ता’ सेवाको शुभारम्भ गरेका छन् । बिहीबार मीनभवनस्थित नापी विभागमा प्रधानमन्त्रीले सेवाको शुभारम्भ गरेका हुन् ।
यससँगै अब घरमै बसीबसी इन्टरनेटबाटै घर अथवा जग्गाको नक्सा हेर्न र प्रिन्ट गर्न सकिने भएको छ । अब फिल्डमै गएर घर जग्गाको नक्सा हेर्नुपर्ने झन्झट पनि हटेको छ ।

यो अनलाइन सेवा सुरु भएपछि जग्गाको नक्सा प्रिन्ट गर्न र त्यसबापत शुल्क बुझाउन मालपोत कार्यालय धाइरहनुपर्ने छैन । नापी विभागले ‘मेरो कित्ता डट जिओभी डट एनपी’ सफ्टवयर विकास गरिसकेको जनाएको छ।
घरजग्गा अनलाइनसम्बन्धी सम्पूर्ण सेवाहरू यसैबाट लिन सकिने पनि विभागले जनाएको छ । यो सेवा सेवा पहिलो चरणमा काठमाडौं उपत्यकाका डिल्लीबजार, कलंकी र भक्तपुरको कार्यालयमा लागू हुनेछ ।






