२०८३ असार २ गते
×

Now Playing

‘गिट्टी कसैले किन्दैन, यो धर्ती छाड्न पाए स्वर्गमा बुढासँगै बस्‍न हुन्थ्यो’

वीरेन्द्रनगर : नयाँ वर्ष । धेरैको जीवनमा हर्ष उल्लास र खुशी ल्याउने दिन । जीवनमा आओस नआओस । तर मनमा आउँछ । नयाँ सपना सजाउनका लागि पनि नयाँ वर्ष विशेष दिन हो ।

फूलेका आँप, लिच्ची, दाना बसेका नासपातीका हाँगाहरू, बोट–बिरुवामा भर्खरैका चिल्ला पातहरूले बसन्त ऋतुको आगमन गराउँछन् ।

कुहु–कुहु गरेका कोइलीको सुमधूर गीतले पनि सबैलाई नव वर्ष विशेष लाग्छ । खुशी ल्याउँछ भन्ने सन्देश दिन्छ । तर सुर्खेतको वीरेन्द्रनगर नगरपालिका १४ घर भएकी वृद्धा ७५ वर्षीया तुल्सी विश्वकर्मालाई नयाँ वर्षको कुनै रौनक छैन ।

दिउँसोको टन्टलापुर घाममा बसेर गिट्टी कुट्नु उनको दैनिकी हो । बीच सडकमा गाडीको चर्को ध्वनीलाइ पनि बेवास्ता गर्दै ७५ वसन्त कटेकी तुल्सी एकनासले गिट्टी कुट्छिन । चाउरी परेका गालामा गिट्टी कुट्दैका उनका पीडा देखिन्छन् ।

पसिनै पसिनाले शरिर निर्थुक्क भिजेको छ । टाउकोमा रुमाल । शरीरमा गुन्यु चोली लगाएकी उनको हातमा हथौडा छुट्दैन । वीरेन्द्रनगर १४ बयलकाँडामा बस्दै आएकी उनी दुई वर्षदेखि कपासेमा बसेर गिट्टी कुट्छिन ।

बिहानदेखि साँझसम्म गिट्टी कुट्नु उनको दैनिकी हो । दिन ढल्केर साँझ पर्ने पर्ने बेला पनि उनले छुट्कारा पाउन मुश्किलछ । बिहान उदाएको सुर्य दिउँसो भएर साझ डाँडामाथिबाट अस्ताउने बेलाको छायाँ भए जस्तै बाचुन्जेल साझँ बिहानको छाक टार्न भएपनि उनी गिट्टी कुट्दै गुजारा चलाउँछिन् ।

उनी यहि ठाउँमा गिट्टी कुट्दै आएको दुइ वर्ष भयो । यही बाटो सरकारका मन्त्री सरर सरर चिल्लो गाडी हुइकाउँदै सयौँ पटक ओहोरदोहोर गर्छन् । तर उनीतिर एक नजर पर्दैन् । ‘उमेरले ७५ पुगेर डुब्ने बेलाको घामजस्तै भइसके । म बुढीका दुःख कसैले बुझेनन्’ तुल्सी भन्छिन्, ‘म जस्तै वृद्धाले यसरी गिट्टी कुटे उनीहरुको मन किन रसाउँदैन बाबु ?’

बिहान घामको झुल्को नझुल्किदै घरबाट निस्किने उनी अध्याँरो नहुन्जेसम्म सडक छेउमा बसेर गिट्टी कुट्छिन । बिहानदेखि रातीसम्म दैनिक दुई बोरा गिट्टी कुट्छिन, तुल्सी । तर त्यसरी कुटिएका गिट्टी किन्ने कोही छैनन् । सुरु सुरुमा उनको गिट्टी बिक्री हुन्थे । तर अहिले सडकमा गिट्टीको थुप्रो भएपनि उनले कुटेका गिट्टी बिक्री हुँदैनन् ।

‘बिहानदेखि दिउँसोभरि दुइ बोरा गिट्टी कुट्छु, त्यही पनि कसैले लिदैनन्’ उनी भन्छिन्, ‘एक्लै छु, गुजारा चलाउन मुस्किल छ । कुटेका गिट्टी पनि कसैले नलिएर यहि थुप्रेका छन् ।’ हातमा ठेला आउने गरी कुटिएका गिट्टी कसैले नलिँदा उनको पेट पोल्छ । मन आत्तिन्छ ।

कुनैबेला उनको घरपरिवार पनि रहरलाग्दो थियो । श्रीमान थिए । चार छोरा थिए । सबै एकैठाउँ बसेर खानपिन गर्दा उनलाई स्वर्गकै टुक्रामा बसेर जीवन बिताएको महसुस हुन्थ्यो । तर अहिले त्यस्तो छैन् । श्रीमानले साथ छाडेर स्वर्ग पुगेको २३ वर्ष भइसक्यो ।

श्रीमान बितेपछि उनी एक्ली भइन् । छोराहरु हुर्के । बिवाह गरे । आ–आफ्नो घरजममा लागे । गर्न त छोराबुहारी पनि मजदुरी गर्छन् । तर आफ्नो र नाती नातिनीको पेट पाल्नका लागि हातका नंग्रा खियाँउछन् । उनका लागि समय छुट्याउँदैनन् । सम्झिदा उनी भावुक बन्छिन् ।

‘चार छोरा छन् । एउटा दिल्लीमा छ । अरु यतै मजदुरी गर्छन्’ तुल्सी भन्छिन्, ‘आफ्नै छोराछोरी पाल्न मुस्किल छ उनीहरुलाई । मलाई कसरी हेरुन् ?’ उनलाई वृद्धा भत्ता नआउने होइन । तर उपचारका लागि ठीक्क हुन्छट । चार महिनाको १२ हजार रुपैयाँ आएपनि उनलाई त्यो पैसा आफ्नै वृद्ध शरीरको उपचारलाई पुग नपुग हुन्छ ।

वीरेन्द्रनगरमै उनको बस्ने कप्टेरो छ । दिनभरी गिट्टी कुटेपछि उनको टाउको लुकाउने त्यही झुपडी हो । जहाँ कैयौँ रात उनले भोकभोकै काटेकी छिन् । जीवनका अनेकौ कठिन मोड सम्झिदै आँशु बगाएकी छन् । उनका हरेक दुःख र आँशुको साक्षी हो, त्यो कप्टेरो ।

‘बिहानै आउछु । साँझ घर फर्किन्छु । हातखुट्टा दुख्छन् । कटकटी जीउ दुख्छ । कति दिन जीउ दुखेर साँझ सुत्न सक्दिन’ जीवनको व्यथा सुनाउँदै सारमा प्रश्न गर्दै तुल्सी भन्छिन्, ‘कैले त लाग्छ, यो बुढेसकाल किन लाग्छ ? यहाँसम्म बुढेसकालले छोइसकेको थियो । यो धर्ती छाडेको भएपनि हुने । यतिका दुःख गर्नुभन्दा स्वर्गमा बुढासँगै बस्न हुन्थ्यो ।’

जितेन्द्र थापा/ईकागजबाट

‘गिट्टी कसैले किन्दैन, यो धर्ती छाड्न पाए स्वर्गमा बुढासँगै बस्‍न हुन्थ्यो’

खेलकुद प्रतियोगिता उद्घाटन गर्दै संसद शाहले भने

‘गिट्टी कसैले किन्दैन, यो धर्ती छाड्न पाए स्वर्गमा बुढासँगै बस्‍न हुन्थ्यो’

गण्डकी प्रदेशको अधिवेशन अन्त्य

Leave a comment

Your email address will not be published. Required fields are marked *