अक्सिजनमा आत्मनिर्भर

कर्णाली आफैमा भौतिक पूर्वाधारमा कमजोर छ । त्यसमा पनि स्वास्थ्य पूर्वाधारको अवस्था नाजुक छ । कुनैबेला विरामीले सामान्य सिटामोल पनि नपाउने अवस्था थियो । अहिले पनि दुर्गमका धेरै बस्तीमा सामान्य औषधि पनि नपाएर स्थानीयले धामीकै शरणमा पर्ने गरेका छन् ।
सुगम भनिएका जिल्लामा र स्थानमा पनि विशेषज्ञ उपचार प्रविधि र चिकित्सक उपलब्ध छैनन् । यस्तो अवस्थामा विश्वलाई नै थला पार्ने कोरोना महामारी फैलिएको छ । बल्लतल्ल यसविरुद्धको खोप उत्पादन भएको छ ।
तर नेपाल र अझ कर्णाली जस्तो विकटता भएको स्थानका नागरिकले सहजै खोप पाउने अवस्था छैन । यसकारण पनि कर्णालीका ला गि यो महामारी बढी नै चुनौतीको रुपमा छ ।
कोरोनाको पहिलो र दोस्रो लहर फैलिदा धेरै नागरिकले ज्यान गुमाए । दोस्रो लहरमा त अक्सिजनको हाहाकार नै भयो । संक्रमितले अक्सिजन नै पाएनन् । अक्सिजनका लागि मारामार नै भयो । अस्पतालहरुले नै अक्सिजन अभावमा संक्रमितको उपचार गर्न नसक्ने बताए । महामारीमो बेलामा अस्पतालमा भर्ना नै नपाउने अवस्था आउनुले थप त्रास बढाउने नै भयो ।
कर्णालीमा अक्सिजन उत्पादन नै हुने अवस्था थिएन । नेपालगंज लगायतका स्थानबाट आयात गर्नुपर्ने बाध्यता थियो । जसले गर्दा बाहिरबाट नआएसम्म यहाँका विरामीले सहज रुपमा अक्सिजन पाउने अवस्था भएन । यही घटनाबाट पाठ सिकेर कर्णालीमा यतिबेला अक्सिजन उत्पादनको काम सुरु भएको छ ।
अर्थात दुर्गमका जिल्लाहरुमा पनि अक्सिजन उत्पादनका लागि आवश्यक पहल थालिएको छ । प्रदेश सरकारले कोरोना विशेष अस्पतालका रुपमा तोकेका प्रदेश अस्पताल, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र चौरजहारी अस्पतालमा पनि अक्सिजन प्लान्ट स्थापना भएका छन् ।
केही अस्पतालमा त दुई वटा प्लान्ट संचालनमा आएका छन् । यसका लागि स्थानीय, प्रदेश र संघीय सरकारले नै लगानी गरेर अक्सिजन उत्पादनमा चासो दिएका छन् । वीरेन्द्रनगरमा पनि ठूलो क्षमताको प्लान्ट संचालनमा आउँदैछ । यो प्लान्ट संचालनमा आएमा प्रदेशका अन्य जिल्ला पनि पठाउन मिल्ने दाबी गरिएको छ । यस्तै कालिकोट र दैलेखले पनि छिमेकी जिल्लाहरुमा अक्सिजन पठाउन सक्ने क्षमता भएको बताइरहेका छन् ।
दुर्गम जिल्लामा पनि अक्सिजन मेशिन जडान गर्ने प्रक्रिया थालिएको छ । पछिल्लो समय थालिएको यो कदमले अब कर्णालीमा अक्सिजन अभाव कम हुने अपेक्षा गरिएको छ । प्रदेश सरकारले पनि अक्सिजन उत्पादनलाई बढी प्राथमिकता दिएको छ ।
अर्कोतर्फ स्थानीय तह र केही अस्पतालहरुले पनि अक्सिजन व्यवस्थापनमा चासो र लगानी बढाएका छन् । यस हिसावले पनि कर्णाली अब विस्तारै अक्सिजन उत्पादनमा आत्मनिर्भर बन्ने सकेत देखिएको छ । यो महामारी रोकथाम र नियन्त्रणको अभियानमा सार्थक हुनेछ । साथै अब स्थापना भएका प्लान्ट र जडान भएका मेशिन संचालनमा ध्यान दिनु पर्दछ । यसो भएको खण्डमा प्रदेशमा अक्सिजनको अभाव टर्नेछ । उत्पादन बढेमा कर्णाली अक्सिजनमा आत्मनिर्भर हुनेछ । यसले कोरोना महामारीविरुद्ध लड्न सहज हुनेछ ।





