वीरेन्द्रनगरमा छोरीहरुमाथी हुने विभेद हटाउने कसरत
सुर्खेत, ३० माघ ।
समाजमा छोरा र छोरीप्रतिको विभेद अहिले पनि कायमै छ । शिक्षित परिवार भनिएकाहरुमा पनि छोराको मोह छ । यही मोहका कारण धेरैले गर्भमा छोरी भएको खण्डमा भ्रुणहत्या गर्दै आएका छन् । यसकारण पनि समाजमा छोरीमाथि गर्भदेखि नै विभेद हुने गर्दछ । वीरेन्द्रनगर पनि त्यही ठाउँ हो, जहाँ बर्षेनी धेरै छोरीहरु गर्भमै मारिन्छन् ।
अर्थात उनीहरु जन्मनै पाउँदैन् । गर्भ परीक्षण गरेर छोरा भए जन्माउने र छोरी भएको खण्डमा भ्रुण हत्या गर्ने प्रचलन अहिले पनि छ । प्रदेश राजधानी रहेको वीरेन्द्रनगरमा यही कारण छोरीहरुको जन्मदर घटन थालेपछि वीरेन्द्रनगर नगरपालिकाले नयाँ रणनीति अगाडि सारेको छ । उक्त रणनीति अनुसार नगरपालिकाले छोरीमैत्री नगर बनाउने अभियान पनि थालेको हो ।
छोरी जन्माउनका लागि उत्प्रेरित गर्न, गर्भमै हुने छोरीको भ्रुण हत्या रोक्न र छोरीहरुमाथि भइरहेको विभेद रोक्न नगरपालिकाले छोरीका लागि बचत खाता अभियान ल्यायो । छोरीहरुलाई आत्मनिर्भर बनाउन र गर्भमै छोरीको हत्या हुने प्रवृति रोक्न वीरेन्द्रनगरले ल्याएको यही नारा पछि कर्णाली प्रदेश सरकारले पनि अनुशरण ग¥यो । अनि कर्णाली प्रदेशभर ‘बैंक खाता छोरीको, सुरक्षा जीवनभरी’ को अभियान नै सुरु भएको छ । परिणामतः अघिल्लो आर्थिक वर्षमा प्रदेशभर सात हजारभन्दा बढी छोरीहरुको बैंक खाता खोलियो । गत आर्थिक वर्षदेखि सुरु भएको बैंक खात्ता छोरीको अभियान अहिले पनि जारी छ ।
छोरीका लागि प्रदेशमै नमूना कामको सुरुवात गरेको वीरेन्द्रनगर नगरपालिका अहिले पनि यो अभियानबाट पछाडि हटेको छैन । अहिले वीरेन्द्रनगरमा कर्णाली प्रदेश सरकार र वीरेन्द्रनगर नगरपालिकाको दुई वटा सेवाहरु छन् । दुबै सरकारले छोरीको बैंक खात्तामा एक÷एक हजार रुपैयाँ जम्मा गरिदिन्छन् । प्रदेश सरकारले २० बर्षसम्म हरेक महिना पाँच सयका दरले छोरीको बैंक खात्तामा रकम जम्मा गरिदिन्छ । बैंकमा छोरीको नाममा खोलिएको बैंक खाताले छोरी भएकै आधारमा हुने विभेदहरु न्यूनिकरण र आर्थिक रुपमा छोरीहरु सवल हुने अपेक्षा छ । प्रदेशमै पहिलो पटक छोरीहरुको बैंक खाता सञ्चालनमा ल्याएको वीरेन्द्रनगरले हिजोआज छोरी तथा महिलाहरुका लागि आधा दर्जन कार्यक्रम ल्याएको छ ।
निशुल्क गर्भवती चाँज, निःशुल्क सेनेटरी प्याड वितरण, घर–घरमा महिला स्वरोजगार वीरेन्द्रनगरको विकास र समृद्धिको मूल आधार, सुत्केरीलाई गाडी भाडा, महिलाहरुको न्यायमा पहँुच जस्ता कार्यक्रमहरु सञ्चालन गरेको छ । जसमध्ये घर–घरमा महिला स्वरोजगार कार्यक्रमले महिलाहरुलाई आर्थिक समृद्धिको बाटोमा डो¥याएको उपप्रमुख मोहनमाया ढकालको दाबी छ । घरघरमा महिला स्वरोजगार कार्यक्रमबाट अनुदानमा महिलाहरुलाई अटोरिक्सा वितरण, ढाँका बुनाई तालिम, सहकारीबाट डेरी उद्योग सञ्चालन, मसला उद्योग, ब्युटिपार्लर तालिम जस्ता कार्यक्रम सञ्चालन गरिएको छ ।
हरेक वडामा महिलाहरुलाई आत्मनिर्भर बनाउने कार्यक्रमहरु सञ्चालन गरिएका छन् । त्यस्तै सुत्केरी हुन स्वास्थ्य संस्था पुग्ने हरेकलाई गाडी भाडा दिँदै उपलब्ध गराउँदै आएको छ । जसको सबैभन्दा बढी लाभ वडा नं. १४, १५ र १६ का महिलाहरुले लिएका छन् । ति वडाहरुमा गाडी भाडा धेरै भएका कारण अधिकांश महिलाहरुले अस्पताल पुग्दा लाग्ने गाडीभाडा लिने गरेको ढकालले बताइन ।
त्यस्तै हरेक वडाका स्वास्थ्य चौकीबाट निःशुल्क सेनेटरी प्याड वितरण कार्यक्रम पनि प्रभावकारी बनेको छ । हिजोआज हरेक महिना महिलाहरु सेनेटरीप्याड लिन स्वास्थ्य संस्था आउने गरेका छन् । त्यस्तै हरेक गर्भवतीलाई एक पटक निःशुल्क रुपमा भिडियो एक्सरे सेवासमेत प्रभावकारी बनेको छ ।
जसका लागि सुर्खेतका देउती अस्पताल, सुर्खेत अस्पताल र प्रदेश अस्पतालबाट एक पटक निःशुल्क भिडियो एक्सरे सेवा सुरु गरेको छ । छोरीलाई जन्मदेखि मृत्युसम्म आवश्यक हरेक आवश्यकताहरु परिपूर्तिका लागि पहल गर्ने नगरपालिकाको योजना छ । ‘ वीरेन्द्रनगरका आधा दर्जन कार्यक्रमहरु छोरी लक्षित छन्’ उपप्रमुख ढकाल भन्छिन्, ‘आगामी दिनमा पनि छोरीलाई आत्मनिर्भर बनाउन थप कार्यक्रम ल्याउँछौँ ।’
सात महिनामा चार सय छोरीको बैंक खाता खोलियो
वीरेन्द्रनगर नगरपालिकामा सात महिनामा चार सयभन्दा बढी छोरीहरुको बैंक खात्ता खोलिएको छ । जसमध्ये वीरेन्द्रनगर नगरपालिकाको कार्यक्रमबाट ७६ जना र कर्णाली प्रदेश सरकारको कार्यक्रमबाट तीन सय ४४ जना छोरीहरुको बैंक खात्ता खोलिएको नगरपालिकाको महिला, बालबालिका तथा जेष्ठ नागरिक उपशाखाकी अधिकृत सरला रेग्मीले जानकारी दिइन् ।
जसमध्ये नगरपालिकाको कार्यक्रमबाट वडा नं. १ मा नौ जना, २ मा आठ जना, ३ मा दुईजना, ४ मा पाँच जना, ५ मा दुईजना, ६ मा तीन जना, ७ मा पाँच जना, ८ र ९ मा ६÷६ जना, १० मा पाँच जना, ११ र १२ मा आठ÷आठ जना १३ मा सात जना, १४ र १६ मा एक/एक जना छोरीको बैंक बचत खाता खोलिएको छ । तर चालु आर्थिक वर्षमा वडा नं. १५ मा भने कुनै पनि छोरीको बैंक बचत खाता खोलिएको छैन । त्यस्तै कर्णाली प्रदेश सरकारको बैंक खाता छोरीको,सुरक्षा जीवनभरीको कार्यक्रमबाट कुल तीनसय ४४ जना छोरीहरुको बैंक खाता खोलिएको छ ।
रेग्मीका अनुसार वडा नं. १ मा ४१ जना, २ मा ४८ जना, ३ मा २० जना, ४ मा ३५ जना, ५ मा १४ जना, ६ मा १७ जना ७ मा १८ जना र वडा नं. ८ मा २० जना छोरीहरुको बैंक खाता खोलिएको छ । त्यस्तै वडा नं. ९ मा ३१ जना, वडा नं. १० मा २४ जना, ११ मा १४ जना, १२ मा ३० जना, १३ मा नौजना, १४ मा सातजना, १५ मा पाँच जना र वडा नं. १६ मा १० जना छोरीहरुको बैंक खाता खोलिएको छ ।