घट्यो भेडा र च्यांग्राको बिक्री

सुर्खेत, २५ असोज । खाँडाचक्र नगरपालिका–५ कालिकोटका कौशल शाही यसपालीको दशैंमा केही च्याङ्ग्रासहित भेडा बिक्री गर्न वीरेन्द्रनगर झरेका छन् । केही च्याङ्ग्रासहित ५५ वटा भेडा लिएर उनी वीरेन्द्रनगर झरेका हुन् । तर चार दिनमा आधा मात्रै भेडा बिक्री भएका छन् । दशैंको दिन नजिकिदै गर्दा उनलाई भेडा बिक्री नहुने चिन्ता छ ।

‘केही च्यांग्रा सहित ५५ वटा भेडा ल्याएर सुर्खेत आएको हुँ’ उनी भन्छन्, ‘यसपालीको दशंैमा सबै बिक्री हुँदैनन् जस्तो छ ।’ भेडा बिक्री नहुने पक्का जस्तै भएको उनी बताउँछन् । दशैंमा भेडा बिक्री नभएपछि आफै काटेर मासु बिक्री गर्ने उनको योजना छ । उनी हरेक वर्षको दशैंमा भेडाच्याङ्ग्रा बिक्री गर्न वीरेन्द्रनगर आउँछन् । तर विगत दुई बर्षदेखि भने भेडा र च्याङ्ग्रा बिक्री नै हुन छोडेको उनको अनुभव छ ।

‘पहिले–पहिले ल्याएका सबै भेडा र च्याङ्ग्राहरु बिक्री हुन्थे’ उनी भन्छन्, ‘ कोरोना सुरु भएदेखि च्याङ्ग्रा नै बिक्री हुन छोडे ।’ गतबर्ष भेडाच्याङ्ग्रा बिक्री नभएपछि उनले आफै काटेर मासु बिक्री गरेका थिए । ‘मैले पनि खरिद गरेर भेडा सुर्खेत ल्याएको हुँ’ उनी भन्छन्, ‘अब मूल्य उठाउन भए पनि आफैले काटेर बिक्री गर्ने सोचमा छु ।’ ‘च्याङ्ग्राले बढी मूल्य पाउने भएपछि बुटवल, पोखरा र काठमाडौसम्म लैजान्छन्’ उनी भन्छन्, ‘सुर्खेतमा सस्तो मूल्य भएपछि ल्याउने छोडिसक्यौँं ।’

कालीकोटै नन्द बम पनि केही च्याङ्ग्रासहित ६६ वटा भेडा लिएर वीरेन्द्रनगर झरेका छन् । तर सोचे जसरी भेडा बिक्री भएका छैनन् । भेडा च्याङ्ग्रा बिक्री गर्न उनी वीरेन्द्रनगरका टोल–टोलमा पुगेका छन् । ‘भेडा बिक्री गर्न विहानभरी टोल–टोलमा घुमाउँछु, दिउँसो भोकाउँछन् ।

चौरतिर चराउँछु’ उनी भन्छन्, ‘तर आधा पनि बिक्री भएका छैनन् ।’ भेडा लिएर धेरै व्यक्ति आएका कारण बिक्री गर्न समय लागेको उनको अनुमान छ । ‘वीरेन्द्रनगरमा धेरै जनसंख्या छ, तर सबैले सिंगो भेडा किन्दैनन्’ उनी भन्छन्, ‘व्यापारी पनि धेरै भएका कारण बिक्री गर्न समय लागेको छ ।’ उनीसँग पनि च्याङ् ग्राभन्दा भेडा नै धैरै छन् ।
‘च्याङ्ग्राहरु त व्यापारीहरु गाउँमै पुगेर बाहिर लैजान्छन्’ उनी भन्छन्, ‘दशैं सुरु नहुँदै च्याङ्ग्राहरु काठमाडौँ पुगिहाल्छन्, हामीले त एक÷दुई वटा मात्रै पाएका छौँ ।’

उसो त काठमाडौँमा खाद्य संस्थानले नै भेडाच्याङ्ग्राको प्रतिकिलो साढे ६ सय रुपैयाँ मूल्य तोकेको छ । तर सुर्खेतमा एकसय रुपैयाँ कम अर्थात साढे पाँचसय रुपैयाँमा बिक्री भइरहेको छ । यही मूल्य पनि उपभोक्ताहरुले निकै महंगो मानेका छन् ।
काटेर मासु बिक्री गर्ने वीरेन्द्रनगरका व्यावसायीहरुले भने भेडाच्याङ्ग्राको प्रतिकेजी आठसय रुपैयाँका दरले बिक्री गर्दै आएका छन् । सस्तो मूल्य भए पनि वीरेन्द्रनगरमा च्याङ्ग्राको व्यापार छैन ।

कोरोना महामारी कारण पनि भेडाच्याङ्ग्रा बिक्री घटेको व्यावसायीहरुको अनुमान छ । ‘कोरोना सुरु भएदेखि नै च्याङ्ग्राको व्यापार छैन’ बम भन्छन्, ‘यसपाली पनि आधामात्रै भेडाहरु बिक्री हुन्छन् ।’ बलमे भने दशैंमा बिक्री नभए तिहारसम्म भए पनि सबै भेडाहरु बिक्री गर्ने योजना बनाएका छन् ।
दशंैसम्म सबै बिक्री हुँदैनन्, तिहारसम्म भए पनि बिक्री गरेर फर्कनु पर्ला’ उनी भन्छन्, ‘नेपालगञ्ज र बुटवलबाट माग भए उत्तै पु¥याउनु पर्ला ।’ वीरेन्द्रनगरमा भेडाच्याङ्ग्रा बिक्री नभएपछि नेपालगञ्ज, बुटवल, पोखरा र काठमाडौंका साथीहरुसँग कुराकानी गरिरहेको उनले बताए ।
‘काठमाडौंका साथीहरुसँग पनि कुराकानी भइरहेको छ, तर दशैंसम्म त्यहाँ पु¥याउन सकिदैन’ उनले भने, ‘सुर्खेतमा बिक्री नभए बाहिर लैजानुपर्ला ।’ भेडाच्याङ्ग्रा मात्रै होइन, वीरेन्द्रनगरमा अन्य मासुजन्य व्यापार पनि उत्साहजनक छैन ।

‘अधिकांशले घरमै खसी काट्ने गर्छन्’ मासु व्यावसायी संघ सुर्खेतका अध्यक्ष टोपेन्द्रजंग शाही भन्छन्, ‘दशंै आए पनि यसपाली मासुको व्यापार बढेको छैन ।’ बरु कोरोना महामारीपछि दशैं–तिहारमा समेत मासुको बिक्री घटेको उनको अनुमान छ ।

बढ्यो मासुको उत्पादन

नेपाल राष्ट्र बैंकले गरेको प्रदेश आर्थिक गतिविधि अध्ययन २०७७÷०७८ ले पनि कर्णालीमा पशुपंक्षीको उत्पादन बृद्धि भएको देखाएको छ । मासु उत्पादन २९.६८ प्रतिशत, दूध उत्पादन ०.६९ प्रतिशत र अण्डा उत्पादन २.२३ प्रतिशतले बढेको अध्ययन प्रतिवेदनमा उल्लेख छ । गत वर्षको सोही अवधिमा मासु उत्पादन ०.८३ प्रतिशत, दूध उत्पादन ३.०२ प्रतिशत र अण्डा उत्पादन १०२.७५ प्रतिशतले बढेको थियो ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस नियन्त्रणको लागि सरकारले गरेको सकारात्मक प्रयास तथा यस क्षेत्रमा कर्जा लगानीसमेत बढेका कारण समग्र पशुजन्य उत्पादनमा वृद्घि भएको अनुमान छ । कर्णाली प्रदेशको प्रथम पञ्चबर्षिय योजनाले पनि पशुपंन्छी मत्स्य तथा मौरीपालनलाई प्रदेशको कृषि विकासको महत्वपूर्ण अंगका रुपमा लिएको छ ।

व्यावसायिक पशुपन्छी पालनको विस्तारगरी रोजगारी सिर्जना गर्ने लक्ष्य लिएको छ । साथै पशुपालनलाई आर्थिक उन्नतीको मुख्य क्षेत्रको रुपमा विकास गर्ने प्रथम पञ्चबर्षिय योजनामा उल्लेख गरिएको छ ।

मासुमा आत्मनिर्भर बन्दै कर्णाली

दशैंका लागि मात्रै कर्णालीबाट ५० हजार खसी, बोका र भेडा निर्यात भएको पशुपन्छि विकास निर्देशनालयले जनाएको छ । ‘गतबर्ष कर्णालीबाट एकअर्ब बराबरको निर्यात भएको थियो’ निर्देशनालयका निमित्त निर्देशक मोहन गिरीले भने, ‘ योबर्ष ५० हजार भेडा, च्यांग्रा, खसी र बोका निर्यात भएको अनुमान छ ।’ अहिले पनि एक अर्ब बराबरकै भेडाच्याङ् ग्रा र खसी निर्यात भएको निर्देशनालयको अनुमान छ ।

कर्णालीका विभिन्न जिल्लाबाट खशीबोका र भेडाच्यांग्रा पोखरा तथा काठमाण्डौं लगायतका सहरमा निर्यात हुने गरेको छन् । पछिल्लो समय कर्णाली मासुमा आत्मनिर्भर बनेपछि निर्यात पनि बढेको छ । हिजोआज पशुपालन व्यावसायमा आकर्षण बढेपछि कर्णाली मासुमा आत्मनिर्भर भएको हो । कोरोनाका कारण वैदेशिक रोजगारीबाट फर्किएका युवाहरु अहिले पशुपालन व्यावसायमा आकर्षित भएको भन्दै कर्णालीमा मासुको उत्पादनमासमेत वृद्धि भएको गिरीको भनाइ छ ।

प्रदेशका करिव ६० प्रतिशत नागरिक पशुपालनमा निर्भर रहेको निर्देशनालयको तथ्यांक छ । कर्णालीका सुर्खेत, दैलेख जाजरकोट जिल्लाका स्थानीय जातका खशी बोका र हिमाली जिल्लाका भेडाच्यांग्राको माग पनि बढ्दै गएको छ । खरिदका लागि व्यापारीहरु कृषकको घरसम्मे पुग्ने गरेका छन् । व्यापारीहरु घरसम्मै आएपछि कृषकले आकर्षक मूल्य पनि पाउन थालेका हुन् ।

 

घट्यो भेडा र च्यांग्राको बिक्री

अनुदानमा बिचौलिया

Leave a comment

Your email address will not be published. Required fields are marked *