प्लान्ट संचालन गर्दै अक्सिजनमा आत्मनिर्भर बन्ने कसरतमा कर्णाली

सुर्खेत । ‘नेपालगञ्जबाट अक्सिजन आपूर्ति हुन नसकेका कारण अस्पतालले कोरोना संक्रमित विरामीलाई भर्ना लिन सक्दैन ।’ गएको बैशाख ३१ गते राती प्रदेश अस्पताल सुर्खेतले यही बेहोराको सूचना प्रकाशित ग¥यो । महामारीको समयमा अस्पतालले विरामी भर्ना नलिने घोषणा गरेपछि कर्णालीवासी आत्तिए ।

अस्पतालले विरामीको उपचार नगर्ने निर्णयको सर्वत्र विरोध भयो । प्रदेश सरकारले अस्पताल सञ्चालन गर्न नसकेको आरोप लाग्यो । भलै २४ घण्टा नपुग्दै यो निर्णयबाट अस्पताल पछि हट्यो । अस्पतालले कोरोना संक्रमितको उपचार गर्न सक्दिन भन्नुको एउटै कारण थियो, अक्सिजनको अभाव । अस्पतालका बेडहरु संक्रमितले भरिएका थिए ।

सबै संक्रमितलाई अक्सिजनको आवश्यकता थियो । तर अस्पतालसँग अक्सिजन थिएन । अक्सिजन नभएकै कारण बचाउन सकिने संक्रमित पनि मृत्युको मुखमा पुगे । अक्सिजनको अभावमा संक्रमित मर्नुपर्ने अवस्था भयो । तर कोरोना संक्रमणको दोस्रो लहरमा अक्सिजनको हाहाकार बेहोरेको प्रदेश अस्पतालले अहिले अक्सिजन उत्पादनमा आत्मनिर्भर बन्ने कसरतमा जुटेको छ ।

कोरोनाको तेस्रो भेरियन्टलाई लक्षित गर्दै अस्पतालले तीन वटा प्लान्टबाट अक्सिजन आपूर्ति गर्ने तयारी गरेको छ । तीन वटा प्लान्ट मध्ये दुई वटा सञ्चालनमा आइसकेका छन् भने थप एउटा प्लान्ट सञ्चालन गर्ने तयारी छ । ‘प्रदेश अस्पतालमा अहिले दुई वटा प्लान्ट संचालनमा आएका छन्, केन्द्र सरकारको सहयोगमा चाँडै अर्को प्लान्ट जडान गर्दैछौं’

प्रदेश अस्पताल सुर्खेतका निर्देशक डाक्टर डम्बर खड्काले भने, ‘अहिले विरामीको बेडमा सिधै अक्सिजन पुग्छ, चाँडै सिलिण्डरमा पनि भर्ने व्यवस्था गर्दैछौं ।’ प्रदेश अस्पतालमा हाल दैनिक एकसय भन्दा बढी सिलिण्डर अक्सिजन उत्पादन भइरहेको छ । उनले अब पहिलाको जस्तो अक्सिजनको समस्या नहुने बताए ।

यस्तै जुम्लामा रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा हाल दैनिक ९० सिलिण्डर अक्सिजन उत्पादन गर्न सक्ने प्लान्ट जडान भएको छ । त्यहाँ थप अर्काे अक्सिजन प्लान्टसमेत जडान गर्ने प्रक्रिया थालेको प्रतिष्ठानका उपकुलपति डाक्टर मंगल रावलले जनाए ।

‘जुम्लामा अहिले ९० सिलिण्डर क्षमताको प्लान्ट सञ्चालनमा छ’ उनले भने, ‘अब अर्को प्लान्ट जडानका लागि पनि टेण्डर भएको छ, त्यो पनि चाँडै संचालनमा आउँछ ।’ विद्युतको समस्याका कारण प्लान्ट संचालनमा केही कठिनाइ भइरहेको भन्दै डाक्टर रावलले लाइन जडान गरेर आफूहरुले अक्सिजन सप्लाई गर्ने योजना बनाएको सुनाए ।

प्रतिष्ठानसँग पर्याप्त सिलिण्डर रहेको र उत्पादन क्षमता विस्तार गरेर प्रदेशका अन्य जिल्लामा पनि अक्सिजन निर्यात गर्ने तयारीमा आफूहरु रहेको उनको भनाइ छ । उनले भने, ‘हामी तयारी हालतमा छौं, पहिलेजस्तो डराउनुपर्ने अवस्था छैन ।’ त्यस्तै रुकुमपश्चिमको चौरजहारी अस्पतालले पनि अक्सिजन उत्पादन सुरु गरेको छ ।

दैनिक ४० लिटरका सिलिन्डर भर्न सक्नेगरी प्लान्ट सञ्चालन गरेको अस्पताल प्रशासक डिलबहादुर गिरीले बताए । अक्सिजन उत्पादन सुरु भएसँगै रुकुमपश्चिम, रुकुम पूर्व, जाजरकोट, सल्यान, डोल्पाका कोरोना संक्रमितको उपचारमा सहज हुने छ ।

यहाँ पनि अब अक्सिजन निर्यात गर्ने तयारी छ । प्रदेश अस्पताल सुर्खेत, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र रुकुमपश्चिमको चौरजहारी अस्पताललाई कर्णालीमा प्रदेश सरकारले कोरोना विशेष अस्पतालको रुपमा तोकेको छ ।

कोरोना विशेष अस्पताल मात्रै होइन, अन्य अस्पतालबाट पनि अक्सिजन उत्पादन सुरु भएको छ । कोरोनाको तेस्रो लहर आउने चर्चा भइरहँदा कर्णालीमा धमाधम अक्सिजन प्लान्ट जडान हुन थालेका छन् । सम्भावित महामारीको जोखिमबाट बच्न र अक्सिजनको अभाव हुन नदिन अस्पतालहरुमा प्लान्ट जडान हुन थालेका हुन् ।

प्रदेशका अधिकांश अस्पतालमा प्लान्ट जडान भइसकेका छन् भने केही अस्पतालले जडानको प्रक्रिया थालेका छन् । यसअघि चरम अक्सिजनको अभाव भोगेको कर्णालीले अब भने आफै उत्पादन गरेर आत्मनिर्भर बन्ने तयारीमा जुटेका हुन् ।

संचालनमा आए हुम्ला र कालिकोटका प्लान्ट

कालिकोट र हुम्ला जिल्ला अस्पतालका अक्सिजन प्लान्ट संचालनमा आएका छन् । कालिकोटमा दैनिक ४८ सिलिण्डर उत्पादन गर्नेगरी प्लान्ट संचालनमा आएको हो । हुम्लामा भने मिनी प्लान्ट संचालनमा आएको हो ।

‘हामीकहाँ दैनिक ४८ सिलिण्डर अक्सिजन उत्पादन हुन्छ’ जिल्ला स्वास्थ्य कार्यालय कालिकोटका प्रमुख कटकबहादुर महतले भने, ‘अब कालिकोटमा अक्सिजन अभाव हुँदैन ।’ पलान्ट संचालनमा आएसँगै नेपालगंज लगायतका स्थानबाट अक्सिजन ल्याउनुपर्ने बाध्यता अन्त्य भएको महतले बताए ।

प्रदेशका दैलेख, जाजरकोट, मुगु, सल्यान र डोल्पाका जिल्ला अस्पतालमा पनि प्लान्ट जडानको प्रक्रिया चलिरहेको प्रदेश सरकारले जनाएको छ । यस्तै केही जिल्लाले मेसिन खरिद गरिसकेका छन् भने केहीले खरिद गर्दैछन् ।

प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका श्यामलाल आचार्यले प्रदेशका ठूला अस्पतालमा पर्याप्त मात्रामा अक्सिजन उत्पादन सुरु भएको र अन्य जिल्ला अस्पतालहरुमा पनि प्लान्ट जडान हुने क्रममा रहेको बताए । उनले भने, ‘सबै जिल्ला अस्पताललाई प्लान्ट जडान गर्न बजेट दिइएको छ, केहीले उत्पादन सुरु गरिसके । केही जडानको प्रक्रियामा छन्, अब कर्णालीमा अक्सिजनको समस्या हुँदैन ।’

कतिपय स्थानीय तहले पनि आफै प्लान्ट जडान गरेका छन् । यसकारण पनि कर्णालीमा अब अक्सिजनको अभाव नहुने प्रदेश सरकारको दाबी छ । प्रदेश सरकारका सामाजिक विकास मन्त्री यज्ञबहादुर बुढाले कोरोना नियन्त्रणमा बजेट अभाव नहुने बताए ।

कोरोनाको सम्भावित तेस्रो लहरसँग जुध्न प्रदेश सरकार पूर्वतयारीमा जुटिसकेको उनको भनाइ छ । उनका अनुसार अक्सिजन उत्पादन र स्वास्थ्य पूर्वाधारको व्यवस्थापनमा प्रदेश सरकारले कुनै कसर बाँकी राख्नेछैन ।

वीरेन्द्रनगरको अक्सिजन प्लान्ट संचालनमा आउँदै

प्रदेश राजधानी वीरेन्द्रनगरमा अर्काे ठूलो क्षमताको प्लान्ट संचालन हुने भएको छ । दैनिक एकसय ५० सिलिण्डर अक्सिजन उत्पादन गर्नेगरी प्लान्ट संचालनमा ल्याउने तयारी भएको हो ।

वीरेन्द्रनगर नगरपालिका, कर्णाली प्रदेश सरकार र चौधुरी ग्रुपको संयुक्त सहकार्यमा निर्माण भएको प्लान्ट केही सातामै संचालनमा आउने वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख मोहनमाया ढकालले बताइन् ।

‘डेढ करोडको लागतमा प्लान्ट जडानको काम अन्तिम चरणमा पुगेको छ’ उपप्रमुख ढकालले भनिन्, ‘केही साताभित्रै उत्पादन सुरु हुन्छ, यहाँबाट दैनिक एकसय ४० सिलिण्डर भर्न सकिनेछ । यो भनेको धेरै उत्पादन हो, हामी अन्य जिल्लामा पनि पठाउने छौं ।’ यसअघि अक्सिजन अभावका कारण समस्या भएको भन्दै अब उनले वीरेन्द्रनगरले प्रदेशका अन्य जिल्लामा अक्सिजन निर्यात गर्ने बताइन् ।

प्लान्ट संचालन गर्दै अक्सिजनमा आत्मनिर्भर बन्ने कसरतमा कर्णाली

करीनाको अर्को छोराको नाम पनि मुगल बादशाहको

Leave a comment

Your email address will not be published. Required fields are marked *