कपिलवस्तुमा झाडापखालाको प्रकोप, दुई जनाको मृत्यु, सयौँ बिरामी
कपिलवस्तु । जिल्लाको कृष्णनगर नगरपालिकामा झाडापखालाको प्रकोप फैलिएको छ। नगरको वडा नंम्बर ७,८,९ मा राति १२ बजे देखि बान्ता र झाडापखाला लाग्ने बिरामीको सङ्ख्या ह्वातै बढेको हो । स्थानीय शिवराज अस्पताल बहादुरगंजमा उपचारकोलागि सयौँ बिरामीहरू आइरहेको र अस्पतालमा बिरामीको चाप थामिनसक्नु छ ।

नगरपालिकाको बहादुरगंज , सुखरामपुर , देवानगढिया , जमुनी , दयानगर, विजयनगर ,जुमिला, डबरा लगायतका गाउँमा झाडा पखाला र बान्ताका बिरामी निरन्तर बढ्दै गएको कृष्णनगर स्वास्थ्य शाखाले जनाएको छ ।
प्रकोपका कारण दुई जनाको ज्यान गएको छ भने सयौँ बिरामी अस्पताल भर्ना भइरहेका छन् । एक जना बिरामीको अस्पतालमा र अर्का एकजनाको निजी क्लिनिकमा मृत्यु भएको जनाइएको छ। स्थानीय क्लिनिकमा पनि बिरामीको चाप रहेको स्वास्थ्य शाखाले जनाएको छ। स्थानीयहरुले अहिलेसम्म दुईसयभन्दा बढी मानिसहरु बिरामी परेको बताएका छन् ।





