मनकला हत्याकाण्ड : एकै घरका ४ जनामाथि अनुसन्धान

रुकुम (पूर्व) : रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका–४ की २६ वर्षीया मनकला खत्री खड्का हत्या आरोपमा पक्राउ परेका दुई किशोरका आमालाई पनि प्रहरीले पक्राउ गरेको छ। मनकलाकी आमाको किटानी जाहेरीका आधारमा प्रहरीले उनलाई सोमबार प्रहरीले पक्राउ गरेको हो।
उक्त घटनामा यसअघि नै ११ र १५ वर्षीय किशोर र उनीहरूका बुवालाई प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ। सुरुमा २ छोरा र बुवालाई पक्राउ गरिएकामा बुवालाई तारेखमा रिहा गरिएको थियो।
तर मनकलाकी आमाले पक्राउ परेका किशोरका आमा र बुवाका नाममा किटानी जाहेरी दिएपछि बुवा र आमालाई पनि पक्राउ गरेर अनुसन्धान थालिएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक ध्रुवकुमार श्रेष्ठले जानकारी दिए।
बुवालाई भने आइतबार नै प्रहरीले पक्राउ गरेको थियो। बारीमा बाँधेका वस्तुभाउलाई घाँस हाल्न गएकी मनकलाको साउन ११ गते बेलुकी हत्या भएको थियो।
उनका जेठाजुका छोराहरू ११ र १५ वर्षीय किशोरले हत्या गरेको स्वीकार गरिसकेको प्रहरीको भनाइ छ। हत्यामा किशोरको मात्र नभई आमा र बुवाको पनि संलग्नता हुन सक्ने भन्दै पक्राउ गरेर स्थानीयले अनुसन्धान गर्न माग गर्दै आएका थिए।
आमा र बुवा पनि पक्राउ परेसँगै मनकला हत्याकाण्डमा एकै घरका ४ जनामाथि प्रहरीले अनुसन्धान गरिरहेको छ।





