ढकालको प्रवेश पछि बदलिएको प्रदेश आयुर्वेद औषधालय

सुर्खेत । प्रदेश आयुर्वेद औषधालय सुर्खेतमा औषधालय व्यवस्थापन समितिको अध्यक्षमा विनोद ढकालको नियुक्त भएपछि औषधालयको मुहारनै फेरिएको छ । उक्त समितिको अध्यक्षमा २०७६ बैशाखमा नियुक्त भएका ढकालले आफ्नो कार्यकालको समय अवधिमा औषधालयको वातावरण नै फेरिएको बताएका छन् ।
आफु औषधालयमा प्रवेश गरेपछि हाल सम्म पछिल्लो दुई वर्षको अवधिमा आयुर्वेद औषधालयले आफ्नो सेवा कर्णाली जनताका सामु उच्च राखेको बताए । हाल प्रदेश औषधालय सुर्खेतमा आयुर्वेद पद्धतीमा महत्वपूर्ण उपचार विधि मानिने सर्वाङ्ग तथा एकाङ्ग श्वेदन (स्टिम वाथ) र कोरोना महामारीमा प्रभावकारी उपचार गरेपछि औषधालयप्रति सेवाग्राहीको संख्या पनि बढेको हो ।
साथै ढकालको प्रवेश पछि जिर्ण अवस्थामा रहेको औषधालयका भवन, जनशक्तिको सही परिचालन, आवश्यक स्रोत साधनको पूर्ति, औषधालयले प्रभावकारी सेवा जस्ता पक्षको जोहो गरिदिएका छन् । ‘औषधालयप्रतिको विश्वास बढाउन र आवश्यक स्रोत साधनको प्रवन्ध गर्नमा कुनै कसर बाँकी राखिन,’ अध्यक्ष ढकाल भने, ‘मेरो कार्यकालमा केही सुधारात्मक काम भएका छन्, नागरिकको विश्वास बढेको छ र आउने अध्यक्ष ज्यूले अझै यसको गरिमा उच्च बनाउनु हुनेछ भन्नेमा विश्वस्त छु ।’

त्यस्तै औषधालयका प्रमुख डा.शंकर रिजालले आर्थिक वर्ष २०७५/०७६ मा २२ हजार ९० जना, ०७६/०७७ मा २८ हजार ३५५ र गत आर्थिक वर्षमा ३४ हजार २७३ जनाले सेवा लिएका बताए । स्टिमवाथ, पायल्स पीडितलाई क्षारसुत्र विधिबाट उपचार, ल्याब र भिडियो एक्सरे सेवा थप गरेपछि सेवाग्राहीको संख्या बढेको प्रमुख डा. रिजालले जानकारी दिए ।
औषधालय व्यवस्थापन समितिको अध्यक्षमा २०७६ बैशाखमा नियुक्त भएका विनोद ढकालले आफ्नो दुई वर्षे कार्यकालमा छोडेका छन् ।






