कर्णालीमा ६ सय एचआईभी संक्रमितको पहिचान

सुर्खेत । कर्णालीमा एचआईभी संक्रमितहरु खुल्न थालेका छन् । प्रदेशभर हालसम्म झण्डै ६ सय जना संक्रमित खुलेका छन् । प्रदेशभर कुल पाँचसय ९१ जना एचआइभी संक्रमितहरू खुलेका हुन् । समाजमा खुलेका कारण हाल उनीहरु नियमित उपचार तथा निगरानीमा रहेका छन् ।
प्रदेश स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतका अनुसार सुर्खेतमा मात्रै झण्डै तीन सय जना संक्रमित खुलेका छन् । तथ्याङ्क अनुसार सुर्खेतमा दुई सय ९५ जना, दैलेखमा एक सय ९२ जना, रुकुमपश्चिममा ४८, कालीकोटमा ३७ जना र सल्यामा १९ जना एचआईभी संक्रमितहरु खुलेका छन् । कर्णालीका जुम्ला, हुम्ला, मुगु, डोल्पा र जाजरकोटमा भने एचआईभी संक्रमितको संख्या शुन्य रेहको प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका कृष्ठरोग अधिकृत पदम केसीले जानकारी दिए । ति जिल्लाहरुमा एचआईभी संक्रमति भए नभए एकीन छैन ।
संक्रमित भए पनि समाजबाट अपहेलित हुने डरले नखुलेको हुन सकने प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ । यद्यपी कर्णालीमा प्रदेशमा पछिल्लो समय एचआईभी संक्रमितहरु खुल्नेक्रम बढ्दो छ । खुलेका संक्रमित मध्ये पुरुषको तुलनामा महिलाको संख्या धेरै छ ।
पुरुषको तुलनामा महिलाहरु सहज रुपले खुलेका छन् । खुलेका केही संक्रमितहरु बीचैमा हराउने गरेका छन् । खुलेका संक्रमित मध्ये केही बालबालिकाहरु पनि छन् । खुलेका सबै संक्रमितहरुले नियमति रुपमा रोगप्रतिरोधात्मक क्षमता बढाउने औषधि प्रयोग गर्दै आएका छन् । नियमित रुपमा औषधि सेवन गरेमा रोगप्रतिरोधात्मक क्षमता बढाउन तथा स्वस्थ्य जीवनयापन गर्न सकिन्छ ।
नेपालमा हाल विभिन्न नौ प्रकारका औषधिहरु निःशुल्क रुपमा दिइन्छ । संक्रमित खुलेको खण्डमा सरकारले नजिकको स्वास्थ्यचौकी वा जिल्ला अस्पतालबाट संक्रमितको अवस्था र चरण अनुसार संक्रमितलाई औषधि दिने गरिएको छ । तर हाल कोरोना भाइरसका कारण संक्रमितले सहज रुपमा औषधि पाउन सकेका छैनन् ।
एचआईभी रोकथामको क्षेत्रमा क्रियाशील किड्स नेपाल संस्थाका अनुसार कोरोना महामारीको समयमा संक्रमितले विभिन्न समस्या झेल्नु परेको छ । कर्णालीको भौगोलिक विकटता कारण त्यस क्षेत्रका संक्रमितलाई औषधि उपचार पु¥याउन समस्या हुदै आएको हो । एचआईभीको क्षेत्रमा क्रियाशील संघसंस्थाहरुले अबदेखि स्थानीय तहमा नै औषधिजन्य व्यवस्था गरिदिनुपर्ने बताउँदै आएका छन् ।
कर्णालीमा संक्रमितको संख्या बढ्दै जाँदा एचआईभी भाइरल लोड (संक्रमणको अवस्था) परीक्षणको व्यवस्था छैन । अहिले पनि कर्णालीका संक्रमितको अवस्था जाँचबुझ गर्न कर्णाली बाहिर पढाउनुपर्ने बाध्यता रहको एचआईभी संक्रमतिको क्षेत्रमा काम गर्दै आएको नवकिरण प्लस सुर्खेतका कार्यक्रम संयोजक देवेन्द्र पाठकले बताए । यसैबीच किड्स नेपालले अबदेखि सुर्खेतसहित कर्णालीमा एचआईभी र क्षयरोगका विरामीको उपचार, पहिचान लगायतका क्षेत्रमा काम गर्ने भएको छ ।
संस्थाले यी रोगबाट बच्नका लागि सतेचना जगाउन महिला स्वास्थ्य कार्यक्रम, युवा तथा किशोरी, सुरक्षित मातृत्व तथा सरसफाइ लगायतका कार्यक्रम सञ्चालन गर्ने कार्यक्रम अधिकृत अर्जुन सापकोटाले जानकारी दिए । पछिल्लो समय समाजको व्यवहार परिवर्तन हुँदै गएको र विभेदहरु घट्न थालेका कारण संक्रमितहरु पनि खुल्न थालेका हुन् ।
वीरेन्द्रनगर जोखिममा
सुर्खेतको वीरेन्द्रनगर एचआईभी संक्रमणको हिसावले जोखिममा देखिएको छ । वीरेन्द्रनगर क्षेत्रमा मात्रै हाल ९२ जना एचआईभी संक्रमित खुलेका छन् । यस हिसावले वीरेन्द्रनगर एचआईभी संक्रमणको रेडजोनमा देखिएको छ ।
उसो त सुर्खेतकै पञ्चपुरी नगरपालिका र चौकुने गाउँपालिका पनि संक्रमणको उच्च जोखिममा छन् । हाल पञ्चपुरीमा ६६ र चौकुने गाउँपालिकामा ५५ जना संक्रमित खुलेका छन् । त्यस्तै जिल्लाको भेरीगंगामा २३ जना, गुर्भाकोटमा २० र लेकवेशी नगरपालिकामा १८ जना संक्रमित खुलेका छन् । नौ स्थानीय तह मध्ये बराहताल, चिङ्गाड र सिम्ता गाउँपालिकामा भने संक्रमितको संख्या न्यून छ ।
तथ्याङ्क अनुसार बराहतालमा ११ जना, चिङ्गाडमा चार जना र सिम्ता गाउँपालिकामा ६ जना संक्रमित खुलेका छन् । संक्रमित खुलेमा यसको नियन्त्रण र रोकथाममा सहज हुने स्वास्थ्यकर्मीहरुले बताएका छन् । रोग लुकाउँदा संक्रमण हुने जोखिम बढी हुन्छ । यसकारण पनि स्वास्थ्यकर्मीहरुले एचआईभी संक्रमितहरु खुलेमा उनीहरुले उपचार पाउने र समाजमा संक्रमणको दर पनि घट्ने बताएका छन् ।
साथै विगतको तुलनमा पछिल्लो समय संक्रमितमाथिको विभेद घट्दै गएको र यसले संक्रमण रोकथाममा पनि सहयोग पुगेको यस क्षेत्रमा कार्यरत संघसंस्थाहरुले बताएका छन् ।
प्रयोगशा स्थापना गरिंदै
सुर्खेतमा एचआईभी संक्रमितको अवस्था परीक्षणका लागि प्रयोगशाला सञ्चालन गरिने भएको छ । कर्णालीमा एचआईभी संक्रमति खुल्न थालेपछि प्रयोगशाला सञ्चालन गर्ने तयारी भएको हो ।
प्रदेश जनस्वास्थ्य प्रयोगशालाले अबको केही महिनामै प्रयोगशाला सञ्चालनमा ल्याउने तयारी गरेको प्रयोगशाला प्रमुख ओम आचार्यले जानकारी दिए । प्रयोगशाला सञ्चालनमा आएमा कर्णालीका सबै जिल्लाका संक्रमितको स्वास्थ्य अवस्था पहिचान हुनेछ । हाल संक्रमितको अवस्था पहिचान गर्नका लागि संक्रमितको नमूना कर्णाली बाहिर पठाइँदै आएको छ ।
यता कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले भने संक्रमितलाई सेवा सुविधा र औषधिको अभाव हुन नदिने बताएको छ । खुलेका संक्रमितको बर्ष दिनसम्म पुग्नेगरी औषधि व्यवस्थापन गरिने सामाजिका विकास मन्त्रालयका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले बताए । बरु अब समाजमा लुकेर बसेका संक्रमितको पहिचानमा खटिने मन्त्रालयले जनाएको छ ।
यसरी बढाउन सकिन्छ संक्रमितको आयु
एचआईभी संक्रमित हुँदैमा वा संक्रमण हुनेवित्तिकै संक्रमितको मृत्यु हुँदैन । एचआईभी संक्रमण भएको खण्डमा ब्यक्तिको रोग प्रतिरोधात्मक क्षमतालाई मात्र विस्तारै कमजोर बनाउँदै लैजाने गर्दछ । साथै एचआईभी संक्रमितहरुमा विभिन्न थरीका संक्रमणहरु एकै पटक देखिन सक्छन् ।
संक्रमित ब्यक्ति वारम्बार विरामी पर्न सक्छन् । तर सही समयमा रगत परीक्षण गरी समयमै उपचार गरेको खण्डमा भने संक्रमितको आयु लम्ब्याउन सकिन्छ । अर्थात संक्रमित लामो समयसम्म बाँच्न सक्छन् । स्वास्थ्यकर्मीको सल्लाह लिएर एआरटी औषधि सेवन, राम्रो खानपान, नियमित औषधिको प्रयोग गरेको खण्डमा एचआईभी संक्रमितले पनि सामान्य जीवन जीउन सक्छन् ।
तर समयमै एचआईभीको उपचार नगरेको खण्डमा भने यो एड्समा परिणत हुन्छ । यो एचआईभी संक्रमणका कारण हुने एक अवस्था हो । एचआईभी संक्रमितको शरीरले अन्य विभिन्न संक्रामक किटाणुहरुविरुद्ध लड्न नसक्ने अवस्थालाई एड्स भन्ने गरिन्छ । एड्सको अवस्थामा पुगेका एचआईभी संक्रमितहरुले उचित उपचार पद्धति, उचित खानपान तथा सकारात्मक ब्यवहार शैली अपनाएमा बर्षाैंसम्म पनि स्वस्थ जीवनयापन गर्न सक्छन् ।
अहिले यो सामान्य रोग जस्तै बनेको छ । कारण आज एचआईभी संक्रमण रोकथाममा धेरै प्रगति भइरहेको छ । यसकारण पनि संक्रमितहरुले रोग लुकाउने भन्दा पनि खुलेको खण्डमा उनीहरुको आयू पनि बढ्ने स्वास्थ्यकर्मीहरु बताउँछन् ।






