भगवान, विकास र विनाश

देवराज भट्ट । मानव सभ्यताको आरम्भदेखि नै समाजका विभिन्न वर्गले भित्रभित्र स्वरूप र आकृतिका भगवान् मान्दै तथा पूजा गर्दै आएको विषय त हाम्रा प्राचीन सभ्यताले पुष्टि गर्दै आएका छन् ।

यसरी मानिँदै र पुजिँदै आएका अधिकांश भगवान्का स्वरूप कोही ठुल्ठूला उच्च पृष्ठभूमिका सन्त एवं साम्राज्यका राजा–महाराजाका वंशज नै देखिएका छन् र सबै आ–आफ्ना ज्ञानगुन र सुकृत्यका आधारमा स्थापित भएका देखिन्छन् । पछिल्लो कालखण्डका भगवान् गौतम बुद्ध पनि यसै कडीका उदाहरण हुन् ।

भगवान् भन्ने बित्तिकै आममानिसको मानसपटलमा आउने आकृति भनेको स्वच्छ, सुग्घर र सबै कुराले भरिपूर्ण ज्ञानगुनको भण्डारको आकृति हो । यहाँसम्म कि शिला रूपमा भगवान्को कल्पना गर्दा पनि उपलव्ध शिलामध्ये सबैभन्दा उत्कृष्ट र सुन्दर शिलाको छनोट र स्थापना गरिन्छ ।

अतः विभिन्न स्वरूप र प्रकृतिको चरित्रलाई सदगुण, सुन्दरता, सतक्रम उन्मुख, ज्ञानको परिपूर्णता एवं भरिपूर्णताका आधारमा हामीले पूजा गर्दै आएका छौं । तापनि भगवान्को वास्तविक आकृति वा अनुहार कस्तो हुन्छ त भन्दा कुनै पनि व्यक्तिसँग स्पष्ट जवाफ नहुन सक्छ ।

भगवान् शब्दसँग जोडिएका उपर्युक्त सबै शृंखला, चलचित्र एवं प्राचीनतम ग्रन्थ एवं सभ्यताको अध्ययन विश्लेषण गर्ने हो भने सबै तत्कालीन सभ्यताको विकास, जनताको हित, एवं सामाजिक न्यायसँग जोडिएका देखिन्छन् ।

रामायणमा दक्षिण भारतीय समुद्र तटदेखि श्रीलंकासम्म निर्माण गरिएको सामुद्रिक मार्ग ‘रामसेतु’ होस् वा महाभारतकालीन लाक्ष्यागृह निर्माण क्रममा संकटपूर्ण स्थिति वा आगलागीबाट ‘निस्किन निर्माण गरिएको वुप्त सुरुङमार्ग’ हुन् यी सबै तत्कालीन अवस्थाको विकास र प्रविधिका उत्कृष्ट नमुना हुन्, जसको अवशेष आज पनि छ र त्यसको वैज्ञानिक परीक्षण एवं पुष्टि पनि भइसकेको छ ।

उल्लिखित विषयवस्तु खासगरी भौतिकवादी (वामपन्थी) का लागि कोरा कल्पना हुन सक्छ, केहीका लागि सत्य हुन सक्छ । जे होस् कोरा कल्पना सपनामै भए पनि तत्कालीन समाजको विकास, सामाजिक न्याय, चारित्रिक शुद्धीकरण, रामसेतु र सुरुङमार्गजस्ता ठुल्ठूला विकास निर्माणको सफल निर्माण आदिबाट मानव जातिका लागि जनताको विकास र सामाजिक न्याय नै मूलभूत तत्व हुन् भन्ने स्पष्ट हुँदैन र ? उपर्युक्त प्रसंगानुसार हाम्रा सबै प्राचीन सभ्यता, ग्रन्थ र सन्देशले अध्ययन–अनुसन्धानमूलक खोज एवं विश्लेषण गरी आफ्नो देश र जनताका लागि भौतिक सुख, सुविधा एवं सामाजिक न्यायका सबै मानकको परिपूर्णतातर्फको यात्रा जारी राख्दै विश्व विजयी सुपर पावरका रूपमा स्थापित हुँदै आएका छन् ।

एसियन मुलुक चीन पनि विकासको मार्गमा अग्रसर भएको छ । पश्चिमा देशले विगत २०० वर्षमा गरेको विकास छिमेकी चीनले कडा परिश्रम अनुशासन एवं दृढ इच्छाशक्ति र चारित्रिक शुद्धताकै कारण ५० वर्षमै सम्भव तुल्यायो । प्राचीन मठ, मन्दिर, धार्मिक ग्रन्थ र चलचित्र आदिले नीति, नियमप्रतिको कडा अनुशासन प्रियता र दृढ इच्छाशक्तिले मात्र विकासको स्वरूप सिर्जना गर्न सक्छ ।

जसरी भगवान्को स्वरूप दर्शनका लागि मठमन्दिर छन्, त्यसरी नै विकास हेर्न विकसित पश्चिमा राष्ट्र मात्र होइन, छिमेकमै चीनको विकास हेरे पुग्छ । चीनले ४० वर्षभित्र ७० करोड जनतालाई गरिबी मुक्त गराई विश्व महाशक्तितर्फको यात्रा प्रारम्भ गर्नु, भौतिक विकास निर्माणका क्षेत्रमा विश्वमा स्थापित अधिकांश मानकलाई विस्थापित गर्न सक्नु, दक्षिण कोरियाले अमेरिकन सहयोगमा भौतिक विकासका अतिरिक्त स–साना खोलानाला, बाँध, डाँडाकाँडा आदिको संरक्षण गरी कृत्रिम पर्यटकीय स्थल र वनविकासका माध्यमबाट प्रकृति संरक्षण गर्दै गरेको विकास आदि हेर्दा विकासको तस्बिर र आकृति त स्पष्टै देखिन्छ ।

अमेरिकामा प्राकृतिक र मानव निर्मित हजारौं पर्यटकीय स्थल होलान्, विश्व महान् शक्तिराष्ट्रले विकासका अनेक मानकमा श्रेष्ठता पनि हासिल गरेको होला । तर त्यही अमेरिकाको कोलोराडो सहरको बाहिरपट्टि एउटा पर्यटकीय स्थल छ, जसलाई ‘माउन्टेन अफ गड्स’ भनिन्छ । झण्डै हाम्रो हेटौंडाको महेन्द्र राजमार्गमा पर्ने रातामाटे र चुरियामाई क्षेत्रको झल्को दिने रातो माटो र बुट्यानयुक्त झाडीले भरिपूर्ण उक्त पत्थरिलो भूमिमा प्राकृतिक रूपले हरिया झाडीको संरक्षण गरी गरिएको शृंगार हेर्दा सरकारको सानै प्रयासले लाखौं पर्यटकको ओइरो लागेको देख्दा विकासको झल्को स्पष्ट हुँदैन र ?

छिमेकी भारत गरिबी निवारणजस्ता मानवीय सूचांकमा तल भए पनि सुरक्षा सामरिक र पर्यटकीय पूर्वाधारमा उल्लेखनीय प्रगति देखिन्छ । सन् २०१४ मा एनडिए गठबन्धनको विजेपी नेतृत्वको नरेन्द्र मोदीको सरकारले ‘अब विकास आउँछ’ दिएका नारामा जनताले विश्वास गरे । तर, ७ वर्षसम्म पनि अपेक्षित सुधार नभएका भनी विपक्षीयले ‘विकास कहिले आइपुग्ने हो’ भनी मजाक उडाउइरहेका छन् ।

सायद यिनै कुरा सुनेर, देखेर होला २÷४ वर्षयता नेपालमा पनि सुखी नेपाली र समृद्ध नेपालको कुरा हुन थालेको थियो, काम केही नभएर कुरा मात्र भए पनि एकछिनका लागि कर्णप्रिय त लाग्थ्यो । तर हाल आफ्नो कुर्सी मात्र बचाउने खेल उत्कर्षमा भएर होला त्यस्ता दोहोरी कमै मात्र सुनिन्छन् ।

हुन त ३ महिनायताको विकासको विनाश लीला देखेर त्यस्ता दोहोरी गाउन कम भएका हुन् कि ? किनभने हालै २०–२५ वटा त अर्बौँ लागतमा ठुल्ठूला पुल भाँच्चिए, बगे, सयौँ संख्याका झोलुंगे पुल, स–साना पुलेसा, गाउँबस्ती, बाटाघाटा, राजमार्ग, सहर बजार आदि सम्पूर्ण क्षेत्रमा प्रकृतिको विनाशको लीला देखेर दोहोरी बन्द भएको देखिन्छ । यी विपत्ति प्रकृतिको अवैध दोहन र लुट प्रवृत्तिबाट निम्तिएका हुन् ।

प्राकृतिक बहावमा सामान्य अवरोध सिर्जना गरी सञ्चालन गरिने हाइड्रो पावरमा सामान्य क्षति हुनुलाई स्वाभाविक मान्न सकिएला ? तर निर्धारितभन्दा कमसल गुणस्तर र प्राविधिक मापदण्ड पूरा नगरी कमिसन खानका लागि खडा गरिएका संरचनामा पुगेका क्षतिलाई कसरी सामान्य भन्न सकिएला र ?

यसरी नै डोजरे प्रवृत्तिको डेन्जरे विकासका कारण खनिएका बाटाघाटाले निम्तिएको बाढी र पहिरो, ठुल्ठूला बाँध, पुललगायत परियोजना क्षेत्रमा देखिने १२५ थरीका कम गुणस्तरका छरपष्ट सिमेन्टका खाली बोरा, १० थरीका गुणस्तरहीन छडका बन्डल, गुणस्तरहीन गिट्टी बालुवा र १६ मिटर २० मिटर गहिराइको सट्टा ५ मिटर गहिराइमा राखिने ठूला पुलका पिलर (पप्पु कन्स्ट्रक्सन) र तलदेखि माथिल्लो तहसम्मका लागि बटुलिएको कमिसनले विकासको अनुहारमा विनाशको ताण्डव नगरेर के गर्ला ? तर, हाम्रो अवस्थाचाहिँ केटाकेटी खेल्ने लुँडो खेलजस्तै छ । विकासको सिँढी चढ्न खोज्यो कि लुँडो खेलमा सर्पले निलेजस्तै विनाश निम्तिहाल्ने ।

तसर्थ हे भगवान ! तिमी आफैँ आएर यस मुलुकको विकास गरिदिनुपर्ने हो कि ? मुलुकमाराहरूलाई त्यहीँ बोलाएर विकासको कोर्रा हान्नुपर्ने हो, त्यो तिम्रै हातमा छ, छिटो गरिदेऊ ! यिनीहरूले श्रीखण्डजस्तो प्राकृतिक स्वरूपको यस भूमिको संरक्षण र सम्बर्द्धन गर्नुको सट्टा नागजस्तै कुण्डली मारेर विष वमन मात्र गरिरहेका छन् । सायद सेवाभावको पृष्ठभूमिबाट राजनीतिमा स्थापित हुनु र आपराधिक पृष्ठभूमिबाट स्थापित हुनुको फरक यही पो हो कि ?

जसरी भगवान् स्वरुप, आकृतिको दर्शन गर्न मठमन्दिर वा चलचित्र हेरिन्छ, त्यस्तै गरी यो मुलुकमा विकास गर्न वा हेर्नका लागि कहाँ जानुपर्ने हो। प्राचीनदेखि आधुनिक कालखण्डसम्मका सम्पूर्ण मूल्य–मान्यतालाई धुलीसात पार्दै पछिल्ला दशकदेखि बेपत्ता भएको विकास कसरी तथा कसले गरिदिने ? (देशसंचारबाट)

भगवान, विकास र विनाश

ढकालको प्रवेश पछि बदलिएको प्रदेश आयुर्वेद औषधालय

भगवान, विकास र विनाश

घुँयत्राे : एकुन्ताका ओलीबा जसरी चर्चाको शिखराँ

Leave a comment

Your email address will not be published. Required fields are marked *