जो भाईको सहयोगमा निजामति क्षेत्रमा होमिए

कसैको सानो साथ र सहयोग महत्वपूर्ण काम बन्नसक्छ । समय अनुसार बाटो देखाउने र परिस्थिति अनुसार साथ दिनेहरुको योगदान जीवनमा सबैभन्दा महत्वपूर्ण हुन्छ । मनबहादुर थापाले पनि जीवनको महत्वपूर्ण समयमा बाटो देखाउने साथी र अप्ठेरो परिस्थितिमा साथ दिने भाइको साथ पाए । उच्च शिक्षा अध्ययन गर्न नेपालगञ्ज पुगेका उनलाई होस्टेलमा पढ्ने साथीले लोकसेवा आयोग अध्ययन गर्नुपर्छ भन्ने बाटो देखाए । भाइले नेपालगञ्ज बस्दा लाग्ने खर्चको जोहो गरिदिए । उनलाई लोकसेवा पढाउन भाइले भारतबाट खर्च पठाए । परिणामत मनबहादुरले निजामति क्षेत्रमा प्रवेश गर्न अवसर पाए । प्रस्तुत छ, ठाँटीकाँध गाउँपालिका दैलेखका प्रशासकीय अधिकृत उनै थापाको कर्मचारी क्षेत्रको अनुभव र जीवन भोगाइमा केन्द्रित रहेर गरिएको कुराकानीको सम्पादित अंश :

 

संघर्षपूर्ण बाल्यकाल
मनबहादुर थापा घरको जेठो छोरा हुन् । ठाटीकाँध गाउँपालिका वडा–६ भनाचौरमा बुवा विरबहादुर र आमा तुली थापाको कोखबाट २०५१ साल जेठ १२ गते उनको जन्म भएको हो । गाउँले परिवेश । कृषक परिवार । निम्न आर्थिक स्थिति । यि तीन विषयका कारण उनको बाल्यकाल संघर्षपूर्ण रह्यो ।

कृषक परिवारमा जन्मिएका कारण कृषि पेशाबाटै संघर्ष सुरुभयो । कृषि पेशामै सुख, दुःख विताए । स्कुल पढ्दा पनि साँझ विहान मेलापातमा गर्थे । ‘घरको जेठो छोरा भएकै कारण मेलापात छुटेन’ उनी भन्छन्, ‘बुवा इन्डिया जाँदा त खेतबारी आफैले धान्नुपथ्र्याे ।’

घरखर्च चलाउन उनको बुवाले ६ महिना भारत र ६ महिना खेतीपातीमा विताउँथे । मेलापात, खेतीपाति र अर्मपर्ममा बुवाआमालाई सघाउनु उनको मुख्य दायित्व थियो । निम्न आर्थिक अवस्थाकै कारण धेरै अभावहरु धेरै भोगे । तर अभावदेखि कहिले हारेनन् । बरु अभाव, दुःख र संघर्षबाट सफलता प्राप्तिको खोजी गरे ।

अभावले पढाइमा अब्बल बनायो

मनबहादुरले बाल्यकालमै धेरै अभावहरु भोगे । आर्थिक अवस्था कमजोर हुँदाका पीडाहरु खेपे । आर्थिक अभावमा मनका रहर अधुरै राखे । तर यही अभावले उनलाई धेरै ज्ञान दियो । जीवनमा संघर्ष र सफलताको सुत्रहरु सिकायो । परिणामत उनी सानैदेखि पढाइमा मेहनती बने । मेलापात गर्दै कखरा पढे । गाउँकै बालकल्याण प्राथमिक विद्यालय गुवालचिङबाट कक्षा १ देखि ४ र कृषि माध्यमिक विद्यालय लकान्द्राबाट कक्षा ५–१० सम्मको अध्ययन पुरा गरे ।

माध्यमिक तहसम्म पढाइमा उनी अब्बल थिए । माध्यमिक तहमा कहिले प्रथम, दोस्रो र तृतिय हुन्थे । तर तृतियदेखि तल्लो तहमा झरेनन् । अध्ययनसँगसँगै उनी भलिबल खेलको पनि पारखी थिए । उनले विद्यालयमा हुने अतिरिक्त क्रियाकलाप अन्रगत भलिबल प्रतियोगिता कहिलै छुटाउँथेनन् ।

आर्थिक रुपमा कमजोर उनका लागि उच्च शिक्षा अध्ययन गर्नु सहज थिएन । पढाइमा अब्बल भएका कारण अन्य उच्च शिक्षा पढ्ने धोको पुरा गरेरै छोड्ने बाचा गरे । बरु एसएलसी दिएर दुई÷चार पैसा कमाउनकै लागि इन्डिया पुगे । एसएलसीको रिजल्ट आएपछि केही रकम जम्मा गरेर नेपाल फर्किए । नेपालगञ्जको होलिलेन्ड माध्यमिक विद्यालयबाट साइन्स विषयमा प्लसटु गरे । त्यही समय हो । उनी बस्ने होस्टेलमा प्यूठानका रेशम केसी बस्थे । तिनै केसीले उनलाई लोकसेवा अध्ययन गर्नुपर्छ भन्ने बाटो देखाए । स्थायी जागिरका लागि लोकसेवा सबैभन्दा राम्रो हुने बताए ।

तर त्यो बेलासम्म उनलाई घरको आर्थिक अवस्थाले नराम्रोसँग पिरोली सकेको थियो । लोकसेवा पढ्ने तीव्र इच्छाशक्ति भए पनि नेपालगञ्ज बस्न सक्ने अवस्था थिएन । त्यहीकारण प्लसटु पढ्न वित्तिकै पुनः इन्डिया गए । जागिर खाने रहर हुँदाहुँदै इन्डिया गएका उनलाई भाई राजबहादुर थापाले नेपाल फर्काइ दिए । ‘जागिर खाने सक्ने भए खर्च म बेहोर्छु, तिमी लोकसेवा पढ । खर्चको चिन्ता नमान’ भाई राजबहादुरले यस्तै भने । लोकसेवा तयारी गर्दा लाग्ने सम्पूर्ण खर्च बेहोर्न बचन दिए । भाइले इन्डियामा रातदिन मजदुरी गरे ।

महिना÷महिनामा खर्च पठाए । नभन्दै तयारी गरेको ६ महिनामै स्थायी जागिर खाइहाले । ‘मंसिरदेखि तयारी गर्न थालेको हुँ, बैशाखमा पोष्टिङ भइहालँे’ उनी भन्छन्, ‘होस्टेलमा बस्ने अग्रज दाइले देखाएको बाटो र भाइको सहयोगकै कारण सफलता हात परेको हुँ ।’ जागिरपछि त्रिभुवन विश्वविद्यालयमा प्राइभेटबाट स्नातक पुरा गरे । उनी हाल महेन्द्रबहुमुखी क्याम्पस नेपालगञ्जमा स्नातकोत्तरमा अध्ययनरत छन् ।

प्रहरी बन्ने रहर थियो

सशस्त्र द्वन्दको समय गाउँमा सुरक्षाकर्मीहरु गइरहन्थे । ‘म पनि ठूलो भएपछि आर्मी वा प्रहरी बन्नुपर्छ’ त्यतिबेला उनले सोच्थे । सके आर्मी नभए प्रहरी बनेर देशको सेवा गर्ने सानैदेखिको रहर थियो । प्रहरी हुने उद्देश्यले २०७२ सालको असइको परीक्षा पनि दिए । तर त्यहाँ सफल भएनन् । पछि लोकसेवाको अध्ययनलाई नै निरन्तरता दिए । २०७३ साल भदौ ५ गते बाँसगढी नगरपालिका बर्दियामा नायव सुब्बामा पास भए । त्यो लोकसेवा आयोगले लिएको परीक्षा थिएन । तर स्थानीय तह अन्तरगतको स्थायी जागिर थियो ।

स्थायी जागिरे भएको दिन उनी जीवनमा सबैभन्दा धेरै खुशी भए । पछि २०७३ साल पुस ३ गते लोकसेवा आयोगको परीक्षामा सफल भए । त्यसपछि केही समय रारा निकुञ्ज मुगुमा विताए । २०७६ साल पुसमा अधिकृतको पास भए । अधिकृत भएपछि जन्मभूमि नै कर्मथलोको रुपमा रोजे । पुसदेखि उनी ठाँटीकाँध गाउँपालिकाको प्रशासकीय अधिकृतको जिम्मेवारी निर्वाह गर्दै आएका छन् । सकेसम्म आफ्नै गाउँमा बसेर नागरिकको सेवा गर्ने उनको इच्छा छ । ‘जन्मेकै ठाउँमा सेवा गर्छु भनेर आफ्नै ठाउँ रोजेको हुँ’ उनी भन्छन्, ‘समयले साथ दिएसम्म गाउँमै बसेर सेवा गर्छु ।’

जो भाईको सहयोगमा निजामति क्षेत्रमा होमिए

कोरोनाबाट थप २७ जनाको मृत्यु, थपिए ७

जो भाईको सहयोगमा निजामति क्षेत्रमा होमिए

राष्ट्रिय जनगणना अनिश्चितकालका लागि स्थगित

Leave a comment

Your email address will not be published. Required fields are marked *