हैन ! कर्नालीका भौतिक मन्त्रीलाई केभा होला ? जो आयो त्यही भक्लक्क हुन्छन् त गाँठे ।

हैन ! कर्नालीका भौतिक मन्त्रीलाई केभा होला ? भौतिक मन्त्रीयाँ जो आयो त्यही भक्लक्क हुन्छन् त गाँठे । यो भन्दा अघिका मन्त्री नी ओभरड्राफ्ट काण्डाँ गए । के गर्ने ? ठेक्दारी पेशा गर्ने मन्त्री काम नगरी पैसो कमाउन नसकिने ठेक्का पट्टाबाट पैसो कमाउन परो भनेर लाका ठेक्दार मन्त्रीलाई काँ बैंक ग्यारेण्टियाँ घप्लाबाजी गरे भनेर विचराको मन्त्री पद २ बर्ष नपुग्दै खाइदे ।
अहिले फेरि बल्लबल्ल फ्लोरक्रस गरेर महेन्द्रबहादुर शाहीको जागिर बचाई देका मन्त्री अमरबहादुर थापाको जागिर खाईदिने मेलोमेसो पो मिलाएछन् । आफ्ना मान्छेलाई मुख्यमन्त्री बन्न नदेको रिसाँ हिजोसम्म आफ्नै पार्टियाँ हुँदा दुधले न्वाका र सफा मान्छे उनको मान्छ्या लविबाट अर्कैमा गाका नेतालाई यही हो मौका भनेर पुरानो मुद्दा कोट्याएर अदालताँ मुद्दा हाल्देछि बिचरा मन्त्रीको जागिर धरापाँ परो भन्छन् ।
अहिले अदालत फेरि ओलीबाका लागि सति जाने परो । मन्त्री थापा परे माधवका, उजुर गर्ने परे ओलीबाका ! अनि त थापाकाजीको ३० जेठको अदालति निम्तो बडा डेन्जर अवस्था छ जस्तो लाग्या छ । मन्त्रीले अषाढ मसान्तका नाममा योजना र विकासबाट भागबण्डासमेत उठाउन नसक्ने स्थिति पो आउने होकी जस्तो भो त ! दैलेखका डाँडाकाँडा छेडेर २ वर्षा अवधियाँ मनग्गे पैसा कमाम्ला र मस्ति काटम्ला भनेर मन्त्री हुने रिस्क ल्याबेलाँ एक्कासी शत्रु लाएछि विचरा मन्त्रीको हालत के भा होला ? शत्रुनी आफ्नै घरको छ ।

एकैठाँ बसी खाँदा सबै कुरा थाहा पा अनि त उसका हाताट पर्या मुद्दा कमजोर हुने त कुरो भएन । त्यसैले मन्त्री ज्यु गोडा पन्ध्र्र दिन त मन्त्री हुन अँझै नि पाउनुहुन्छ । किन डराउनु भाछ । १५ दिनाँ मन्त्रालयको बजेट जति सारा सामसुम पारेर अर्काले जति छामछुम गरेनी नभेटाउने गरी सिध्याउने अवसर त रैछ नि । त्यही अवसर छोपे भैगोनी । कृषि मन्त्रीले बिना भैंसी भैंसीको बजेट सकेझैँ विकास मन्त्रीले नि बिना विकास र बिना सडक रुप्पियाँ हान्दे भैगो नी ।
जल्ले हान्यो त्यल्ले जान्यो भन्ने बुझ्झएकै होला क्यारे । कमिनिष्टहरुले गर्या भष्टाचारलाई भष्टाचार मानिन्न के । विश्वका मजदुर एक हौँ भन्ने त कमिनिष्टको नारा हुन्छ । अनि तपाइँहरुले कमाको रुप्पियाँ विश्वका मजदुरलाई बाँडनुपर्ने भएछि मजदुरलाई बाँड्या रुप्पियाँ भष्टाचार हुन्न भन्ने कुरा कर्नालीका जनतासहित विश्वका जनताले बुझ्नु परा नी । त्यसैले मन्त्रीज्यु कमाउने कुराँ निर्धक्क भएर कमाउनोस् । त्यसको विरुद्धमा मुद्दा हाल्न कुनै माइकालालको दम हुनेछैन ।
वेदर्षि






