संसद विघटनप्रति कर्णालीका दलहरुको विरोध

सुर्खेत । संसद विघटन गरिएकोप्रति कर्णालीका प्रमुख राजनीतिक दलहरुले भत्सर्ना गरेका छन् । नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा (एमाले) माधव नेपाल समूह, जसपा र राष्ट्रिय जनमोर्चाले संसद विघटनको विरोध गरेका हुन् ।
‘राष्ट्रपति र प्रधानमन्त्रीको मिलेमतोमा षड्यन्त्रमूलक ढंगले प्रतिनिधिसभा विघटन गरी संविधानको मर्ममाथि प्रहार भएको छ । यो असैवैधानिक, अलोकतान्त्रिक र प्रतिगमनकारी कदमको कर्णाली प्रदेशका क्रियाशिल राजनीतिक दलहरुको तर्पmबाट घोर भत्सर्ना गर्दछौँ’ संयुक्त रुपमा जारी गरिएको विज्ञप्तिमा भनिएको छ ।
कोरोना महामारीमा मध्यमावधि निर्वाचतर्फ सम्भवन भएको भन्दै उनीहरुले संसद विघटनको विरोध गर्न सबै पेशागत संघ–संगठन, नागरिक समाज र अधिकारर्मीहरुलाई आह्वान समेत गरेका छन् ।
सोमबार नेपाली काँग्रेस केन्द्रिय सदस्य एवम् कर्णाली प्रदेश संसदीय दलका नेता जीवनबहादुर शाही, माओवादी केन्द्रका केन्द्रिय सदस्य मायाप्रसाद शर्मा, नेकपा (एमाले) माधव समूहका कर्णाली प्रदेश संयोजक प्रकाश ज्वाला, जसपा कर्णाली प्रदेशका उपाध्यक्ष लाले कुमाल र राष्ट्रिय जनमोर्चा कर्णाली प्रदेश इन्चार्ज रत्नविक्रम रानाले संयुक्त रुपमा विज्ञप्ति प्रकाशित गर्दै संसद विघटनको विरोध गर्न अपिल गरेका हुन् ।







