निकुञ्जको स्थलगत अनुगमनपछि फर्कियो संसदिय टोली
रामचन्द्र न्यौपाने
डोल्पा, १२ मंसिर ।
डोल्पाबाट कृषि सहकारी तथा प्राकृतिक श्रोत समितिको संसदिय टोली फर्किएको छ । नेपालकै ठुलो शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्रको स्थलगत भ्रमण सँगै जनताको राय सुझाव लिएर उक्त टोली फर्किएको हो । पछिल्लो समयमा निकुञ्जमा भएका विकास निर्माणका बिषयलाई लिएर निकुञ्ज,जनता र स्थानीय तह बिच बड्दै गएको दुरीका बारेमा स्थलगत अध्ययनका लागि संसदीय टोली डोल्पा पुगेको हो ।
करिब एक साताको बसाई पछि टोली विहिबार फर्किएको निकुञ्जले जनाएको छ । समितिका सभापति माननीय पूर्णा कुमारी सुवेदीको नेतृत्वमा स्थलगत अध्ययन भ्रमण उप–समितिका पदाधिकारीहरु माननीय भवानी प्रसाद खापुङ, माननीय भुपेन्द्रबहादुर थापा र माननीय राजबहादुर बुढाको टोली जनस्तरतमै पुगेर बृहत अन्तक्रिर्या कार्यक्रम गरेर फर्किएको निकुञ्जको भनाई छ ।
उक्त टोलीसँगको अन्तक्र्रियामा जनताले विकास निर्माणका कामहरु निकुञ्ज क्षेत्रमा गर्न पाउनु पर्ने,स्थानीय जडिबुटीमा यहाँका जनताको मात्रै एकधिकार हुनुपर्ने लगायतका मागहरु राखेका थिए । जनताबाट लिएका राय सुझावलाई निकुञ्ज ऐनमा संसोधनका लागि पेश गर्ने,शे–फोक्सुण्डो निकुञ्जको कोर क्षेत्रमै बस्ती भएकाले छुट्टै नियमावली बनाउनु पर्ने लगायतका कुरामा संसदमा शिफारिष गर्ने कुरा संसदीय टोलीले गरेको निकुञ्जका वार्डेन सरोजमणी पौडेलले बताए ।
उक्त टोलीले त्रिपुरासुन्दरी नगरपालिका,ठुलिभेरी नगरपालिका,शे–फोक्सुण्डो गाउँपालिका जनताहरुसँग निकुञ्जको काम कारवाही र निकुञ्ज क्षेत्रमा गरिने विकास सम्बन्धि बृहत छलफल गरेको थियो । निकुञ्ज कोर क्षेत्रमै निकुञ्ज स्थापनाहुनु भन्दा अघिका बस्तीहरु भएकाले गम्भिर रुपमा अध्ययन गरेरमात्रै संसदमा शिफारिष गर्ने समितिका सभापति पुर्णाकुमारी सुवेदीले बताईन् ।
देशको मुल कानुन संविधाननै गतिशिल दस्तावेज भएको बताउँदै निकुञ्ज ऐन पनि धेरै पुरानो भएकाले संसोधन गरेर समयसापेक्ष बनाउनु पर्ने उनको भनाई छ । त्यसैगरी संसदीय समितिका सदस्य तथा प्रतिनिधि सभा सदस्य राजबहादुर बुढाले निकुञ्ज क्षेत्रका जनताले कठिन जनवीवन बिताईरहेकाले शे–फोक्सुण्डो निकुञ्जका लागि छुट्टै ऐन नियम बनाउन सरकारलाई सुझाव दिने बताए । शे–फोक्सुण्डो निकुञ्ज विश्वकै दुर्लभ वन्यजन्तु हिँउ चितुवा, कस्तुरी, नावर,वहुमुल्य जडिबुटी यार्सागुम्बा,नेपालकै गहिरो फोक्सुण्डो ताल लगायतका पक्षबाट विश्वमाझ चिनिएको छ ।