२०८२ बैशाख १७ गते
×

Now Playing

दैलेखमा ३७ सय नागरिक भित्रिए, पीसीआर किट अभाव

अमर सुनार,
दैलेख, ११ जेष्ठ ।
भारतमा मजदूरी चल्न रोकिएपछि दिनहु हजारका दरले जिल्लामा भित्रिने क्रम बढेको बेला दैलेखमा कोरोना भाइरस संक्रमण जाँच्ने पीसीआर अभाव भएको छ । जिल्लामा ५० वटा पीसीआर र ५० वटा आरडीटी मात्र बाँकी रहेको स्वास्थ्य सेवा कार्यालय दैलेखका कोभिड फोकल पर्सन थीरप्रसाद रेग्मीले जानकारी दिनुभयो ।

आइतबारसम्म दैलेखमा करिव ३७ सय नागरिक भित्रिसकेका छन् । जवकि शनिबारसम्म दैलेख २३ सय ९२ जना नागरिकहरु क्वारेण्टीनमा छन् । आइतबार मात्र १३ सय भन्दा बढी नागरिकहरु जिल्ला भित्रिएका रानीमत्ता प्रहरी चौकीले जानकारी दिएको छ । चार जनाका लागि ५० वटा कीटले के गर्नू ? स्वास्थ्य प्रमुख डा. निरञ्जन पन्त हैरान हुनुहुन्छ ।  दिनहुँ भारतबाट नागरिक ओइरहेको अवस्थामा पीसीआर कीटको अभावमा परीक्षणमा अवरोध पुगेको दैलेखका प्रमुख जिल्ला अधिकारी युवराज कटेलले बताउनुभयो ।

पन्ध्र दिन अघि पाँच हजार पीसीआर कीट मागिएको तर वास्ता नभएको प्रमुख जिल्ला अधिकारी कटेलले टिप्पणी गर्नुभयो । कर्णाली प्रदेशको कोरोना इपिसेण्टर भनिएको दैलेखमा ४० हजार नागरिकहरु भारतमा मजदूरी गर्दै आएको सर्वेक्षणबाट थाहा भएको र ३० हजार जति नागरिकहरु १० दिनभित्र आउने आकलन गरिएको जिल्ला समन्वय समितिका प्रमुख प्रेमबहादुर थापाले जानकारी दिनुभयो । भारतमा मजदूरी गर्न गएकाहरु दैलेखका युवाहरु फर्किने क्रम पनि बढेको र कर्णालीको पहिलो कोरोना संक्रमित पनि दैलेखमै देखिएको कारण स्थिति भयावह हुन सक्ने जानकारी सहित संघीय सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालको ध्यानाकर्षण गराइएको प्रतिनिधिसभाका साँसद पार्वती बिशुन्केले बताउनुभयो । सुन्ने तर काम नगर्ने सरकारको शैलीले जनता सास्ती भएको साँसद बिशुन्केले टिप्पणी गर्नुभयो ।

कर्णाली प्रदेश प्रयोगशालाले पठाउदै आएकोमा दैलेखमा अत्याधिक माग बढेको कारण कोरोना भाइरस जाँच्ने कीट अव प्रदेशले व्यवस्थापन गर्न नसक्ने अवस्था भएको कारण स्थानीय तहहरुले आफैले कीट किनेर ल्याउने नोजल स्वाव संकलन स्वास्थ्य सेवा कार्यालय संकलन गर्ने र परीक्षण कर्णाली प्रदेश प्रयोगशालामा गर्ने गरी छलफल अगाडि बढेको प्रयोगशालाका निर्देशक डा. रीता भण्डारीले जानकारी दिनुभयो ।

केन्द्र सरकारले प्रदेशमा पठाउने, प्रदेशले पालिका पठाउने गरिएका कोरोना भाइरस जाँच्ने कीट अव प्रदेशले व्यवस्थापन गर्न अहिले स्थानीय तहहरुलाई नै थुपारी दिएपछि प्रति कीट तीन सय जति पर्ने जानकारीका आधारमा खरिद प्रक्रिया थाल्ने तयारी भएको नारायण नगरपालिका प्रमुख प्रशासकीय अधिकृत छविलाल नेपालीले बताउनुभयो ।

प्रदेशको उच्च जोखिममा रहेको दैलेखमा पीसीआर कीट व्यवस्थापन गर्न नसक्नु स्थानीय तह, स्वास्थ्य सेवा कार्यालय, प्रशासन, प्रदेश र केन्द्र सरकारका निकायहरुको अक्षम्य त्रुटी भएको नेपाल मजदूर किसान पार्टीका जिल्ला सचिव लक्ष्मीकुमार बिकको टिप्पणी छ । २–३ दिनमा पीसीआर परीक्षण नभए क्वारेण्टीनमा आन्दोलन हुनसक्ने उहाँले बताउनुभयो ।

जिल्लाका ११ स्थानीय तहका ९० वडामा जिल्लाभर ८ सय ६७ जनाको मात्र बेड व्यवस्था गरिएका क्वारेण्टीनमा खानेपानी, शौचालय असुविधा र सुत्नको लागि ठाउको अभाव भोगिरहेका नागरिकहरुको स्वास्थ्य परीक्षण र कोरोना संक्रमण भए नभएको जाँच्न नसके उनीहरुमा मानसिक तनाव थपिन सक्ने टीपीओका नारायण नगरपालिका मनोविमर्शकर्ता सीता चौधरीको भनाई छ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *