प्रतिनिधि सभा विघटनविरुद्ध दाहाल-नेपाल समूहद्वारा आन्दोलन घोषणा

काठमाडौं, ९ पुस ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को पुष्पकमल दाहाल–माधवकुमार नेपाल समूहले प्रतिनिधि सभा विघटनविरुद्ध आन्दोलन घोषणा गरेको छ। बिहीबार बसेको केन्द्रीय कमिटीको तेस्रो बैठकले प्रवक्ता नाराणकाजी श्रेष्ठको संयोजकत्वमा २५०१ सदस्यीय आन्दोलन परिचालन समिति समेत बनाएको छ। यो समूहले भोलिदेखि नै आन्दोलन थाल्नेछ।

नेकपा केन्द्रीय सदस्य निरज आचार्यका अनुसार १४ पुसमा काठमाडौं उपत्यकासहित देशव्यापी रूपमा प्रदर्शन गरिनेछ। त्यसअघि ११ पुसमा सबै प्रदेश कमिटीको बैठक सम्बन्धित प्रदेशमा बस्नेछ। १२ पुसमा ७७ वटै जिल्लामा भेला आयोजना गरिनेछ भने सोही दिन वर्तमान अवस्था र कार्यभारका विषयमा प्रशिक्षण सञ्चालन गरिनेछ।
यस्तै, भोलि शुक्रबार बिहान साढे ९ बजे माइतीघर मण्डलमा सबै केन्द्रीय सदस्य जम्मा भएर १० बजे संयुक्त पत्रसहित निर्वाचन आयोग जाने तय भएको छ। भोलि नै २ बजे पत्रकार सम्मेलन समेत गरिनेछ।
२० पुससम्म सबै नगर र गाउँ कमिटीका बैठक र भेला गर्ने तथा २५ पुससम्म सबै वडाहरूमा बैठकरभेला गर्ने दाहाल–नेपाल समूहको निर्णय छ। यसैगरी, १४ पुसभित्र जनसंगठनहरूका बैठक गर्ने पनि निर्णय गरिएको छ। दोस्रो चरणमा सशक्त आन्दोलन गर्ने यो समूहको तयारी छ।
बिहीबार नै नेकपाको केपी ओली समूहको केन्द्रीय कमिटी बैठक पनि बसिरहेको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा गृहमन्त्री रामबहादुर थापा पनि सहभागी भएका छन्।






