कर्णालीको काेराेना कोषमा सुर्य नेपालको एक करोड
सुर्खेत, २ साउन ।
कर्णाली प्रदेश विपद् कोषमा निजी क्षेत्रबाट अहिले सम्मकै सबैभन्दा धेरै नगद रकम सहयोग प्राप्त भएको छ । बहुराष्ट्रिय कम्पनी सुर्य नेपाल प्रा.लि. ले सामाजिक उत्तरदायित्व अन्तर्गत कर्णाली प्रदेश विपद् कोषमा एक करोड रकम सहयोग गरेको हो । कोरोना संक्रमण रोकथाम, नियन्त्रण, राहत र उपचारका लागि कर्णाली प्रदेश सरकारले स्थापना गरेको विपद् कोषमा उक्त रकम सहयोग गरिएको छ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीलाई एक कार्यक्रमवीच एक करोडको चेक हस्तान्तरण गरिएको थियो ।
सूर्य नेपाल प्रा.लि. को तर्फबाट क्षेत्रीय विक्रि प्रवन्धक दामोदर शर्मा, कर्णाली प्रदेश इन्चार्ज दिनेश शाह, सुर्खेतका अधिकृत विक्रेता श्रृजना स्टोरका प्रोपराईटर विष्णु बहादुर शाही र देउती एजेन्सीका प्रोपराईटर टेक बहादुर भण्डारीले संयुक्त रुपमा एक करोडको चेक हस्तान्तरण गरेका थिए ।
चेक हस्तान्तरण कार्यक्रममा बोल्दै मुख्यमन्त्री शाहीले कोरोनाले निजी क्षेत्र समेत प्रभावित भएको अवस्थामा पनि हातेमालो गर्दै सहयोग गर्ने सबैप्रति हार्दिक धन्यवाद दिएका थिए । सूर्य नेपाल प्रा.लि. जस्तो बहुराष्ट्रिय कम्पनीले नाफासंगै सामाजिक उत्तरदायित्व निर्वाह गरेकोमा खुशी व्यक्त गर्दै प्रशंसा गरेका थिए ।
अधिकृत विक्रेता श्रृजना स्टोरका प्रोपराईटर विष्णु बहादुर शाहीले कम्पनीसंगको सरसल्लाहमा यहाँका जनतालाई राहत पु¥याउन सानो भएपनि सहयोग रकम प्रदेश सरकारको कोषमा जम्मा गर्न सफल भएको बताए । कोरोना भाईरसको रोकथाम, नियन्त्रण, उपचार र राहतका लागि सात वटै प्रदेशमा स्थापित कोषमा सुर्य नेपाल प्रा.लि. को तर्फबाट एक/एक करोड रकम सहयोग गरिएको क्षेत्रीय विक्रि प्रवन्धक शर्माले जानकारी दिए ।
बहुराष्ट्रिय कम्पनी सूर्य नेपालले चुरोड, मंगलदिप अगरबत्ती, तिर सलाई र ट्रफी चक्लेट उत्पादन तथा विक्रि वितरण गर्दै आएको छ । कर्णाली प्रदेश सरकारले स्थापना गरेका विपद् कोषमा निजी क्षेत्रबाट यस अघि २५ लाख नगद रकम भाटभटेनी सुपर मार्केट र २५ लाख सुर्खेतको बौद्ध ग्रामीण बचत तथा ऋण सहकारी संस्थालेले सबैभन्दा धेरै उपलब्ध गराएका थिए । यहाँका बाणिज्य बैंक तथा वित्तिय संस्थाहरुले ५० हजारदेखि १० लाखसम्म नगदै सहयोग कोषमा जम्मा गरेका थिए ।