कर्णालीमा थप ७ जनामा कोरोना संक्रमण, पाँच जना डिष्चार्ज

सुर्खेत, २ साउन ।
कर्णाली प्रदेशमा शुक्रवार थप ७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । प्रदेश अस्पताल सुर्खेतस्थित पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा १ जना, दैलेख अस्पतालमा गरिएको परीक्षणमा ४ जना र चौरजहारी नगरपालिकाको पीसीआर प्रयोगशाखामा गरिएको परीक्षणमा २ जनामा कोरोना संक्रमण देखिएको हो ।

प्रदेश सामाजिक विकास मन्त्रालयका अनुसार दैलेख चामुण्डा विन्द्रासैनी–३ का ३२ वर्षीय पुरुष, नौमुले गाउँपालिका ५ का २६ वर्षीय पुरुष, नौमुले ६ का ३० वर्षीय पुरुष र आठबीस नगरपालिका ४ का १८ र ३२ वर्षका पुरुषमा संक्रमण देखिएको हो । यस्तै सल्यान दार्मा ४ का २२ वर्षीय पुरुष र रुकुम पश्चिमको चौरजहारी नगरपालिका ७ का २६ वर्षीय पुरुषलाई संक्रमण देखिएको हो । यो सहित कर्णाली प्रदेशमा हालसम्म १ हजार ७ सय ३३ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य शाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले जानकारी दिए ।
शुक्रवार कर्णालीमा पाँच जना कोरोना मुक्त भई घर फर्किएका छन् । प्रदेश अस्पताल सुर्खेतबाट २ जना, शिवालय आइसोलेसनबाट १ जना, जाजरकोटबाट ३ जना संक्रमित निको भई घर फर्किएका हुन् । संक्रमितमध्ये हालसम्म १ हजार ४ सय ९३ जना निको भई घर फर्किएको डा तिवारीले बताए ।
हालसम्म कर्णालीमा ६ जनाको मृत्यु भइसकेको छ । प्रदेशमा हाल २ सय ३४ जना सक्रिय संक्रमित रहेका छन् । उनीहरुको विभिन्न अस्पताल र आइसोलेसनमा उपचार भइरहेको छ ।







