कालीकोटमा स्टेचर अभाव बिरामीलाई अस्पताल लैजान सास्ती

कालिकोट, २५ असोज ।
कालिकोटको नरहरिनाथ गाउँपालिकाका स्वास्थ्य चौकीमा स्टेचर नहुँदा बिरामीलाई सास्ती हुने गरेको छ । स्वास्थ्य संस्थामा स्टेचर नहुँदा बिरामीलाई काठमा झुन्ड्याएर बोक्नुपर्ने बाध्यता रहेको स्थानीयले बताएका छन् ।

गाउँपालिका–५ रुप्सामा बिरामी बोक्ने स्टेचर नहुँदा गर्भवती महिलालाई काठमा झुण्ड्याएर स्वास्थ्य चौकी लिनुपरेको स्थानीय नरबहादुर सहकारीले बताए । नरहरिनाथ गाउँपालिका–५ रूप्सा निवासी २३ वर्षीय मंगला सहकारीलाई सुत्केरी व्यथा लाग्यो । सुत्केरी गराउन आफन्तले स्वास्थ्य संस्थामा त लगे तर सहज रूपमा स्वास्थ्य संस्था पु¥याउन पनि आफन्तलाई हम्मेहम्मे भयो । त्यहाँ स्टेचर नभएपछि उनलाई काठमा बाँधेर स्वास्थ्य संस्था लिँदै गर्दा उनले बाटोमा नै छोरीलाई जन्म दिइन् । स्वास्थ्य संस्थामा स्टेचर नहुँदा नरहरिनाथका अधिकांश महिलाले उपचारका लागि सास्ती खेप्नु परिरहेको छ ।
सिंहदरबारको अधिकार गाउँगाउँमा भने पनि अझै नरहरिनाथका बिरामीले उपचार पाउनै मुस्किल भएको छ । अहिलेको स्थानीय सरकारभन्दा पहिले नै बिरामीले उपचार पाउने गरेको स्थानीयले बताएका छन् । ‘पहिले बिरामी बोक्नका लागि स्टेचर त हुन्थ्यो अहिले त्यही स्टेचर पनि पाउन मुस्किल भइसक्यो,’ नरहरिनाथ गाउँपालिकाका स्थानीय मन सहकारीले गुनासो गरे । स्थानीय सरकार आउनुभन्दा अघि चार वटा बिरामी बोक्ने स्टेचर थिए । अहिले ती स्टेचर कतिपय भाँचिसकेको र केही महिला स्वास्थ्य स्वयमसेविकाको जिम्मामा रहेको रूप्सा स्वास्थ्य चौकीका इन्चार्ज मनोज बोगटीले बताए । ‘ग्रामीण भेगमा भएका बिरामी ओसारपसारका लागि भरपर्दाे साधन भनेको स्टेचर हो,’ उनले भने, ‘तर नरहरिनाथ गाउँपालिकाका नागरिकले चार वर्षदेखि स्टेचर पाउन सकेका छैनन् ।’
स्टेचर नहुँदा सुत्केरी र वृद्धवृद्धाहरूलाई अस्पताल पु¥याउन कठिनाई हुने गरेको इन्चार्ज बोगटीको जानकारी दिए । गाउँगाउँमा सडक पुगेर बिरामी बोक्नका लागि एम्बुलेन्सको समेत व्यवस्था भइसक्दा अझै पनि बिरामी बोक्नेसमेत स्टेचर नहुनु लाजमर्दो विषय भएको भन्दै स्थानीय तहलको व्यापक आलोचना भएको छ । स्टेचरको अभाव हुँदा गाउँमा गर्भवती, विरामी वृद्धवृद्धा प्रभावित भएका छन् । गाउँमा निर्माण गरिएका सडक गाडी गुड्न लायक नभएका वेला स्वास्थ्य संस्थासम्म पु¥याउनका लागि प्रयोग गरिँदै आएको स्टेचर नहुँदा बिरामीले समयमा उपचार पाउन सकेका छैनन् ।






