कर्णालीमा रोकिएन ‘डोजरे विकास’

सुर्खेत, २७ साउन ।
पछिल्ला केही वर्ष कर्णालीमा सडक निर्माणलाई मुख्य प्राथमिकता दिइएको छ । त्यो पनि गाउँगाउँमा । स्थानीय सरकार गठन भएपछि अधिकांशको प्राथमिकतामा सडक निर्माण नै छ । एकातिर अधिकांश बस्तीमा सडक पुगेका छन् भने अर्कोतर्फ त्यही सडकका कारण अधिकांश बस्तीहरु पहिरोको जोखिममा परेका छन् ।

भिरालो जमिनमा रहेका अधिकांश बस्ती पहिरोको जोखिममा छन् । गरिबीकै कारण धेरै परिवार भिरालो जमिनमै घर बनाउन बाध्य छन् । पहिरोको जोखिममा पनि उनीहरु नै पर्ने गरेका छन् । अर्कोतर्फ डोजरे विकास अर्थात जथाभावी डोजरको प्रयोगले पखेरो र डाँडाँमा सडक खनिएका छन् । यसको असर बस्तीमा परेको छ । जथाभावी खनिएका सडकका कारण पहिरो र बाढी जाने भएकाले बस्तीमा जोखिम बढाइरहेको छ । अन्धाधुन्ध डोजरले भिरालो जमिनमा सडक खनिएकाले पनि बस्तीहरु पहिरोको जोखिममा छन् ।

जथाभावी सडक निर्माण, घर निर्माणका वेला पहिरोको जोखिमलाइ ख्याल नगरिनु, तीव्र वन विनास, सडक निर्माण गर्दा जथाभावी डोजरको प्रयोग र जोखिमयुक्त भिरोलो जमिनमा घर बनाउनु आदि कारणले पहिरोको जोखिम बर्षेनी बढिरहेको जिल्ला समन्वय समिति जाजरकोटका संयोजक मनबहादुर रावलले बताए ।

उनले भने,‘पहिलाको तुलनामा जिल्लामा पहिरोको समस्या बढेको छ, बस्तीहरु नै बग्न थालेका छन् । यसको मुख्य कारण नै डोजरे विकास हो, डोजर आतंकले डाँडा र पखेरा नै छियाछिया बनेका छन् ।’ जाजरकोटमा जस्तै यसपालीको वर्षात सुरु भएसँगै कालिकोटमा पनि पहिरोबाट धेरै क्षति भएको छ । दर्जनौं परिवार घरबारविहीन बनेका छन् । धेरैले ज्यान गुमाएका छन् । भौतिक संरचनाहरुमा पनि क्षति पुगेको छ । अधिकांश बस्तीहरु अहिले पनि पहिरोको उच्च जोखिममा छन् ।

जिल्लामा पहिरो जानुको मुख्य कारण नै डोजरे विकास नै हो । कालिकोटमा बर्षेनी पहिरो जानुको मुख्य कारण पनि डोजर आतंक नै हो । स्थानीय तहले बस्तीमाथिको भिरालो पहाडमा जथाभावी डोजर चलाएका कारण यो क्षति हुन थालेको हो । जिल्ला समन्वय समिति कालिकोटका प्रमुख अनीपाल शाहीले भने, ‘पहिरोको मुख्य कारण नै डोजर हो, जनप्रतिनिधिलाई तत्काल गाँउगाँउमा गाडी गुडाउने रहर छ । मापदण्डविना नै पखेरामा डोजर चलाउँदा बस्तीहरुमा पहिरो खसिरहेको छ ।’ प्रदेश सरकारले आफ्नो नीति तथा कार्यक्रममा एक करोडभन्दा मुनिका आयोजनामा डोजर प्रयोग नगर्ने उल्लेख गरेको छ ।

पहिरोको चपेटामा जाजरकोट र कालिकोट
कर्णालीका जाजरकोट र कालिकोटमा बर्सेनी पहिरोले सताउने गरेको छ । प्रदेशका अन्य जिल्लाको तुलनामा यी दुई जिल्लामा हरेक बर्ष बस्तीमा पहिरो खस्ने गरेको छ । पहिरोका कारण बर्सेनी दर्जनौं व्यक्तिको ज्यान जान्छ भने सयौं परिवार घरबारविहीन हुने गरेका छन् । भिरालो जग्गामा रहेको बस्ती र जथाभावि डोजरले सडक खनिएका कारण बस्तीमाथि पहिरो खस्ने गरेको हो ।

गत असार २५ गते राती जाजरकोटको बारेकोट गाउँपालिकास्थित जिरीगाँउको सार्कीटोलमा पहिरो गयो । जहाँ १२ जनाको मृत्यु भयो । गाँउपालिकाका विभिन्न वडामा पहिरोले ५६ घर बगायो । बाढीपहिरोले गाउँ नै भासिने त्रासका कारण हाल एक हजार ५५ परिवार विस्थापित भएका छन् । दुईबर्ष अघि जाजरकोटकै भेरी नगरपालिका ३ ठाँटी नजिक गएको पहिरोले दुई वटा घर बगायो । आठ बालबालिकासहित नौ जनाको ज्यान गयो । कालिकोटको पीडा पनि उस्तै छ । जिल्लाको नरहरीनाथ गाँउपालिकामा यही साउन १४ गते पहिरो जाँदा नौ जनाको ज्यान गयो । भिरालो जमिनमा रहेका घरहरु पहिरोले बगाएको हो ।

यस्तै साउन १३ गते रास्कोट नगरपालिकाको वडा नं. १ बडुलतोलामा पहिरो जाँदा एक जनाको मृत्यु भयो भने पाँच जना वेपत्ता भए । साउन १४ गते मात्र महाँवै गाँउपालिका वडा नं. ७ कोटबाडामा पहिरोमा घर पुरिएर दुई जना बालबालिकाको मृत्यु भयो । कालिकोटमा मात्र यसपाली बर्षात सुरु भएयता हालसम्म १९ जनाको मृत्यु भइसकेको छ । सात जना अझै वेपत्ता छन् । नरहरीनाथ गाँउपालिकामा मात्र ५१ घर भत्किएका छन् ।

कर्णालीमा रोकिएन ‘डोजरे विकास’

मुगु पुगेर उपचार गर्दै डा. केसी

Leave a comment

Your email address will not be published. Required fields are marked *