एमयूमा रजिष्ट्रार र डिनमा दरखास्त आह्वान

सुर्खेत, २२ असार ।
मध्यपश्चिमाञ्चल विश्वविद्यालय (एमयू) ले रजिस्ट्रार र डीनका लागि दरखास्त आह्वान गरेको छ । एमयूले सोमवार सुचना जारी गर्दै इच्छुक र योग्य व्यक्तिका लागि दरखास्त आह्वान गरेको हो ।
सोमबार प्रकाशित सूचनाअनुसार रजिस्ट्रारका लागि ७ दिन र डीनका लागि १० दिनभित्र दरखास्त दिनुपर्ने छ । रजिस्ट्रारको हकमा शैक्षिक प्रशासनमा विशिष्टतासहित भिजन पेपर पेस गर्नुपर्ने मापदण्ड तोकिएको छ ।
त्यस्तै, डीनका लागि मध्यपश्चिमाञ्चल विश्वविद्यालयको सम्बन्धित संकायका प्राध्यापक वा सम्बन्धित संकायमा सेवा गरेका सहप्राध्यापक वा मान्यत प्राप्त विश्वविद्यालयका सम्बन्धित संकायका प्राध्यापक वा सहप्राध्यापक हुनुपर्ने उल्लेख छ । डीनका लागि पनि आवेदनसँगै भिजन पेपर पेस गर्नुपर्ने सूचनामा भनिएको छ ।
मध्यपश्चिमाञ्चल विश्वविद्यालय ऐन–२०६७ को दफा २५ बमोजिम रजिस्ट्रारको नियुक्ति उपकुलपतिको सिफारिसमा कुलपति (प्रधानमन्त्री) बाट हुने प्रावधान छ । सोही ऐनको दफा २६ मा डीनहरुको नियुक्ति कार्यकारी परिषद्को निर्णयअनुसार उपकुलपतिबाट हुने भनिएको छ ।







