कर्णालीमा एक अर्बको क्षति, पाँच हजारको रोजगारी संकटमा

सुर्खेत, २२ असार ।

लकडाउन अघिसम्म शुभ होटलमा ५८ जना कर्मचारीले रोजगारी पाएका थिए । लकडाउनकै अवधिमा होटलले ४६ जना कर्मचारीलाई घर पठायो । घर विदा पठाएका कर्मचारीलाई कहिले फर्काउने भनेर होटलले निर्णय गर्न सकेको छैन ।

हाल होटलमा सरसफाइ र सुरक्षागार्ड गरी १२ जना कर्मचारीहरु मात्र कार्यरत छन् । कोरोनाको त्राससँगै होटल सिद्धार्थले एकै पटक ३३ जना कर्मचारी घर पठायो । ४५ जना कर्मचारीमध्ये हाल होटलमा १२ जना मात्र कार्यरत छन् । चैत ९ गते घर पठाइयो पठाइएका कर्मचारीलाई काममा फर्काइएको छ न त तलव नै खुवाउन सकेको छ ।

सुर्खेतका ठूला होटल भनेर चिनिने शुभ र सिद्धार्थ मात्रै होइन सुर्खेतका अन्य होटल व्यवसायीको हालत उस्तै छ । कोरोनाको त्रासपछि भएको लकडाउनका कारण होटल व्यावसाय सबैभन्दाबढी मारमा परेका छन् । अकास्मात ब्यवसाय बन्द हुँदा होटलको स्टक सामानहरु खेर गएको छ । करिव तीन महिनापछि अन्य व्यवसायहरु विस्तारै खुल्नेक्रममा छन् ।

तर कोरोनाको संक्रमण फैलिन सक्ने भन्दै होटल व्यवसाय नखोल्न र प्याकिङ गरेर होमटेलिभरी सेवा दिन सरकारले आव्हान गरेको छ । यद्यपी कर्णालीमा होमडेलिभरी सेवाको सम्भव छैन । जसका कारण होटल व्यवसाय पूर्णरुपमा बन्द नै छन् । लामो समय व्यावसाय बन्द हुँदा साना तथा ठूला होटल ब्यवसायीलाई बैंकको लोन र घरभाडा तिर्न हम्मेहम्मे भएको छ ।

छैन रोजागारी र तलबको टुङ्गो

कोरोनाको त्रासपछि होटल व्यावसाय बन्दहुँदा कर्णाली प्रदेशमा झण्डै पाँच हजार बढीको रोजगारी संकटमा परेको छ । होटल व्यावसाय तत्काल खुल्ने टुङ्गो नलागेपछि होटलमा कार्यरत युवाहरुको रोजागरी संकटमा परेको हो ।

सुर्खेतमा मात्रै १२ सयबढी होटल व्यावसाय छन् । सरकारले तत्काल होटल व्यवासीलाई राहत उपलब्ध गराउन नसके कम्तिमा पाँचहजार युवाको रोजागरी संकटमा पर्ने होटल व्यावसाय संघ कर्णाली प्रदेशका अध्यक्ष तर्कबहादुर शाहीले जनाए । ‘लकडाउनपछि होटल ब्यवसायीले बैंकको लोन र घरभाडासमेत तिर्न सकेका छैनौँ’ शाहीले भने, ‘सरकारले तत्काल राहतका कार्यक्रम ल्याउन नसके पाँचहजार युवाको रोजागारी संकटमा पर्छ ।’

बन्दाकाको अवधिमा कर्मचारीलाई तलव समेत खुवाउन सकेका छैनन् । संक्रमणको अवधि लम्बिदै गए कर्मचारी रोजागरी तवल ग्यारेन्टि लिन नसक्ने ब्यवसायीहरुले जनाएका छन् ।

दश दिनको मात्रै तलव

लकडाउनका कारण देशभरका होटल व्यावसाय बन्द । तर सुरक्षा गार्डको डिउटी भने हटेको छैन । चोरी डकैतीलाई ध्यानमा राखी सुरक्षा गार्डको डिउटीमा झै कडा पारिएको छ ।

सामान्य अवस्थामा साँझ, विहान र राती फरक–फरक सुरक्षागार्डले होटलको सुरक्षामा खटिन्थे । तर लकडाउनपछि कुनै होटलले दश÷दश दिन त कुनैले १५÷१५ दिनको अवधिमा मिलाएर सुरक्षागार्डलाई काममा खटायो ।

तर जोखिम मोलेर होटलको सुरक्षामा खटिएका गार्डहरुले भने दश दिनको मात्रै तलव पाएका छन् । ‘मैले १५ दिन काम गरे तर दश दिनको मात्रै तलव पाएँ’ नाम नबनाउने सर्तका एक सुरक्षागार्डले भने, ‘अहिले दश दिनको तलवले काम चलाउ, लकडाउन खुलेपछि मिलाउछु भनेका छन् ।’ यता होटल ब्यवसायीले भने कर्मचारीको तलवको बारेमा अहिले नै निर्णय गर्न नसक्ने बताएका छन् ।

व्यवसायबाटै विस्थापित हुनुपर्ने अवस्थामा कर्मचारीलाई तलव खुवाउन नसक्ने तर लकडाउन छिट्टै खुलेको खण्डमा केही सुविधा दिनसक्ने व्यवसायीको भनाइ छ ।

सफ्ट लोन र बैंकको ब्याज मिनाहा गर्न माग

लकडाउनका कारण संकटमा परेका होटल ब्यवसायीहरुले सरकासरसँग सफ्टलोन र लकडाउन ब्याज मिनाहाको माग गरेका छन् । आइतबार कर्णाली प्रदेशमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई १४ बुँदे ज्ञापनपत्र बुझाउँदै होटल व्यावसयीहरुले यस्तो माग गरेका हुन् ।

सरकारले लकडाउन अवधिको बैंक ब्याज मिनाहा गर्नुपर्ने, सफ्टलोन अर्थात न्यून व्याजदरमा ऋण उपलब्ध गराउनुपर्ने, लकडाउनअवधिको घरभाडा छुट व्यवस्था गर्नुपर्ने र संक्रमण रहदासम्म घरभाडामा ५० प्रतिशत छुट दिनुपर्ने र राहतका प्याकेजहरु घोषणा गर्नुपर्ने माग गरेका छन् । प्रदेशका झण्डै ७० प्रतिशत होटल व्यावसाय भाडाको घरमा सञ्चालन हुँदै आएका छन् । घरको भाडा र बैंकको व्याज तिर्न नसके खण्डमा व्यावसायबाटै पलायन उनीहरुको भनाइ छ ।

त्यस्तै पूर्णरुपमा लकडाउन खुलेपनि होटल व्यावसाय नचल्ने भन्दै कम्तीमा एक वर्षसम्मको कर तथा अन्य सबै प्रकारका राजश्व छुट गर्नुपर्ने र बैंकबाट लिइएको ऋण तिर्ने अवधि दुई वर्षसम्म थप गर्नुपर्ने माग राखेका छन् । होटल व्यावसायका लागि पानी बत्ति, टेलिफोन र इन्टरनेट लगायतका महशुलमा विशेष सहुलियतको व्यवस्था गर्न माग सरकारसँग राखेका छन् ।

अर्बौंको क्षति

लकडाउनको अवधिमा शुभ होटलले झण्डै दुई करोड भएको क्षति व्यहोरेको छ । होटल सञ्चालक पदमबहादुर शाहीका अनुसार ठूलो मात्रामा स्टक रहेको सामानहरु नष्ट भएका छन् । ‘एक्कासी भएको लकडाउन अहिलेसम्म खुलेको छैन, तीन महिनासम्म स्टक रहेका सम्पूर्ण सामान खेर गएको छ’ उनले भने, ‘बैंकको ब्याजदेखि पानी बत्तिसम्म गरेर दुई करोडको क्षति भएको छ ।’

होटल शुभको मात्रै होइन लकडाउनको अवधिमा सुर्खेतका होटल ब्यवसायीले आधा अर्वको क्षति व्यहोरेका छन् । होटल व्यवसायी संघ सुर्खेतका अध्यक्ष गोरख रावतका अनुसार लकडाउनका कारण सुर्खेतमा ५० करोड क्षति भएको छ । प्रदेशका १० जिल्लामध्ये सुर्खेतमा १२ सयबढी होटल व्यावसाय छन् । लकडाउनका कारण प्रदेशभर एकअर्व बढी क्षति भएको होटल ब्यवसायी महासंघ कर्णाली प्रदेशले जनाएको छ । प्रदेशमा सानाठूला गरी २५ सय बढी होटलहरु छन् ।

कर्णालीमा एक अर्बको क्षति, पाँच हजारको रोजगारी संकटमा

YUGAAWHAN NATIONAL DAILY (2077-03-22)

कर्णालीमा एक अर्बको क्षति, पाँच हजारको रोजगारी संकटमा

एमयूमा रजिष्ट्रार र डिनमा दरखास्त आह्वान

Leave a comment

Your email address will not be published. Required fields are marked *