भिआइपी गाडीमा तस्कारीको आशंका

सुर्खेत, ५ असार ।
काठमाडौंबाट हिडेका दुई भिआइपी सवारी साधन (गाडी) संशास्पद अवस्थामा भेरीगंगा नगरपालिकाको छिन्चुबाट पक्राउ परेका छन् । गृह मन्त्रालयबाट ट्राभल्सको पास बनाएर सुर्खेत आइपुगेका दुई वटा भिआइपी गाडी प्रहरी नियन्त्रणमा आइपुगेका छन् । बा १८ च ७६२१ नम्बरको हाइलेक्स र बा १५ च ३५०५ नम्बरको स्कारपियो गाडी सशस्त्र प्रहरी सुर्खेतको टोलीले नियन्त्रणमा लिएको थियो । गैरकानूनि कार्यमा संलग्न भएको आशंकामा दुई वटा गाडी पक्राउ परेका हुन भने एउटा गाडी फरार भएको स्रोतले जानकारी दिएको छ ।

भेरीगंगा नगरपालिकाको छिन्चु बजारबाट विहिबार राती सशस्त्र प्रहरीको गस्ती टोलीले नियन्त्रणमा लिएको थियो । छिन्चुस्थिल मनकामना होटलबाट नियन्त्रणमा लिएका एक हाइलेक्स र एक स्कारपियो गाडीले गृह मन्त्रालयबाट ट्राभल्स एण्ड टुर्सको नाममा पास बनाएको स्रोतले जानकारी दिएको छ ।

बहुमुल्य पत्थर काइनाइट र टुर्मालिन पत्थर चोरी, निकासी हुँदै गरेको विशेष सूचनाका आधारमा दुई वटा भिआइपी गाडी सशस्त्र प्रहरी गस्ती टोलीले नियन्त्रणमा लिइएको थियो । सरकारले २०७२ सालदेखि तेस्रोमुलुक निकासी बन्द गरेको जाजरकोटको बहुमुल्य पत्थर काइनाइट र टुर्मालिन पत्थर निकासीका लागि दुई वटा गाडी प्रयोग भएको आशंकामा पक्राउ गरिएको जनाइएको छ ।जाजरकोटमा पाइने बहुमुल्य पत्थरको बजारमुल्य ५ सयदेखि २५ हजार प्रति किलो पर्ने गर्दछ । सरकारले उत्खनन स्वीकृति दिएपनि देशभित्र प्रशोधन उद्योग नहुँदा चोरी निकासी तेस्रो मुलुक भारत, चीन, अमेरिका पु¥याउने गरिएको छ ।

सशस्त्र प्रहरी सुर्खेतको गस्ती टोलीले पक्राउ गरी शुक्रबार विहान जिल्ला प्रहरी कार्यालय सुर्खेतलाई बुझाएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरिक्षक (डिएसपी) रामप्रसाद घर्तीले घटनाको विषयमा अनुसन्धान भैरहेको जानकारी दिए । गाडीसंगै नियन्त्रणमा लिएका व्यक्तिहरुलाई सोधपुच्छ, प्रारम्भिक बयान लिने काम भैरहेको उनले जानकारी दिए । ‘हामी अनुसन्धानकै क्रममा भएकाले थप विवरण आउन बाँकी छ । अनुसन्धान गरेपछि सबै जानकारी गराउँछौं ।’

तपाईको प्रतिक्रिया