कसको आदेशमा रोकिन्छन एम्बुलेन्स ?

सुर्खेत, २४ बैशाख ।
विरामी बोकेका एम्बुलेन्सहरु बबई पुलमा मंगलबार दिनभरी रोकेर राखियो । माथिको आदेश छैन भन्दै ड्यूटिमा खटिएको प्रहरी टोलीले मंगलबार विहानैदेखि एम्बुलेन्स आवागमन रोकेका थिए । कोभिड–१९ को जोखिम कर्णालीमा बढेपछि लकडाउनकै अवधिमा प्रदेश सरकारले एक साता नाका सिल गर्ने निर्णय गरेको थियो । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा सोमबार बसेको प्रदेश विपद् व्यवस्थापन केन्द्रको बैठकले एक सातासम्म प्रदेश प्रवेश गर्ने सबै सीमा नाकाबाट सवारी तथा पैदल आवतजावत पूर्ण बन्द गर्ने निर्णय गरेको थियो ।

यद्यपि एम्बुलेन्स, शववाहनलगायत अतिआवश्यक काममा रोक लगाउने कुनै पनि निर्णय भएको थिएन । प्रहरीले एम्बुलेन्स रोकेको समाचार आएपछि प्रदेश सरकारका मुख्यमन्त्रीदेखि सबै मन्त्रीहरुले अनविज्ञता प्रकट गरेका थिए । प्रदेश सरकार र स्थानीय प्रशासनले निर्वाध रुपमा एम्बुलेन्स सञ्चालन हुने बताएपनि कर्णाली प्रदेश भित्रिने वा बाहिरिने एम्बुलेन्स, सवार विरामी, चालकलाई सेनिटाइजर गर्ने, धुने, सरसफाई गर्नेतर्फ भने कसैको ध्यान पुगेको छैन ।

प्रदेश सरकार, जिल्ला प्रशासन कार्यालय सुर्खेत र जिल्ला प्रहरी कार्यालयवीच समन्वय नहुँदा मंगलबार दिनभरी विरामीले दुःख पाए । बबई पुलमा एम्बुलेन्स रोकेपछि वारीका विरामीलाई पारीका अर्को एम्बुलेन्समा साटफेर गरी विरामी गन्तव्यमा पुरयाउने काम एम्बुलेन्स चालकहरुले गरेका थिए ।

एम्बुलेन्स रोकिएको समाचार सञ्चार माध्यमहरुबाट प्रकाशित भएपछि चौतर्फी आलोचना भयो । प्रदेश सरकार र प्रहरी, प्रशासनको आलोचना विरोध भएपछि जिल्ला प्रशासन कार्यालय सुर्खेतले मंगलबार साँझ सूचना जारी गर्दै विरामी एक जना, कुरुवा एक जना र चालक राखेर एम्बुलेन्स चलाउन पाउने जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय सुर्खेतले जारी गरेको सूचना मातहतकै प्रहरी कार्यालय र प्रहरी यूनिटहरुले अटेरी गरिरहेका छन् । प्रशासनले जारी गरेको सूचना पाएर हो वा सूचनानै नपाएर हो । सिमानामा रहेका प्रहरी युनिटले एम्बुलेन्स अवरोध गर्ने क्रम रोकिएको छैन ।

आज (बुधबार) विहान ४ः०० बजेदेखि सुर्खेतको सिमाना मालारानीको काल्चेको जंगलमा एउटा एम्बुलेन्स विहानैदेखि रोकि राखिएको छ । अर्वुद्ध रोग निवारण संस्था सुर्खेतले चलाएको भे १ च ६७६ नम्बरको एम्बुलेन्स विरामीसहित मंगलबार दिउँसो सुर्खेततर्फ आउँदै गरेको थियो । भेरीगंगा–३ सत्तरीका नसाका विरामी विशाल गुरुङलाई लिएर गएको एम्बुलेन्स कोहलपुर मेडिकल कलेजमा चेकजाँच गराएर विरामीसहित फर्किदै थियो । ब्लड चढाउनुपर्छ, उतै चढाउनुहोला भन्दै मेडिकल कलेजले कोरोनाको त्रासले विरामी घर फर्काइदियो । विरामी घर फर्काइदिपछि व्लड सुर्खेतमै चढाउने गरी नसाका विरामी गुरुङ ल्याएर एम्बुलेन्स फर्किएको थियो । विरामी र दुई जना सहयोगीसहित फर्किएको एम्बुलेन्सले बबईबाट सुर्खेत प्रवेश पाएन ।

सुर्खेत प्रवेश नपाएपछि एम्बुलेन्सका चालक विकास रावतले सुर्खेत आउने बैकल्पिक बाटोको साहारा लिए । बबईबाट जान दिँदैन भनेपछि अरु एम्बुलेन्स चालकको सल्लाह अनुसार दाङ–सल्यान हुँदै सुर्खेतको मालारानी काल्चेबाट विरामीसहित सुर्खेत फर्किने गरी आएको चालक रावतले बताए । उनले भने ‘मेडिकल कलेजबाट उपचार गरेर फर्किएको विरामी छ, विरामीका कागजात छन तर पनि प्रहरीले मान्छे किन हालिस भनेर रोकिदिनुभयो ।’

आज (बुधबार) विहान ४ः०० बजे सुर्खेत–सल्यान–दाङको सिमाना मालारानी काल्चे आईपुगेको एम्बुलेन्सलाई प्रहरी चौकीले सुर्खेत प्रवेश नदिने भन्दै रोकेर राखेको छ । ‘सुर्खेतको सिमानामासमेत टेक्न दिनुभएको छैन । प्रहरीले जहाँबाट आएको हो उतै जाने भनेपछि एम्बुलेन्स जंगलमा रोकेर राखेको छु, दाङ–कोहलपुर भएर फेरी बबईबाट फर्किने हो तेल छैन’ एम्बुलेन्स चालक विकास रावतले फोनबाट दुखेसो पोखे ।

एम्बुलेन्स चालक रावतले सल्लीबजारबाट फर्किँदै गरेको माया नर्सिङ होम प्रा.लि. को भे १ च १४५० नम्बरको एम्बुलेन्समा विरामी र कुरुवा पठाईदिएको बताए । ‘विरामी र विरामीका सहयोगी सबैलाई अर्को एम्बुलेन्स बनाएर पठाईसके, हाम्रो एम्बुलेन्स खाली छ तर पनि सुर्खेत प्रवेश गर्न पाइदैन भन्दै अवरोध गर्नुभएको छ ।’  जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरिक्षक दिल्लीराज पन्तले एम्बुलेन्सले विरामी भन्दा बाहिरका मान्छे बोकेको बताए । उनले भने ‘विरामी बोकेका एम्बुलेन्स हामीले रोकेका छैनौं तर विरामीका नाममा अन्य मान्छे बोकेको खण्डमा रोकिन्छ । त्यस्ता एम्बुलेन्सलाई कारवाही हुन्छ ।’

प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले एक जना विरामी र एक जना कुरुवा भएको एम्बुलेन्स सञ्चालनमा कुनै रोकावट नभएको बताए । काल्चेमा अवरुद्ध एम्बुलेन्सले विरामी अर्को एम्बुलेन्सले ल्याइसकेको बताउँदै उक्त एम्बुलेन्स सुर्खेत आउन पाउने वा नपाउने त्यस विषयमा भने कुनै प्रतिक्रिया जनाएनन् । उनले भने ‘एसपिसाप यही हुनुहुन्छ, त्यही विषयमा कुरा भैराखेको छ । एम्बुलेन्स कहिँ कतै रोकिएका छैनन । विरामी अर्को एम्बुलेन्सले ल्याइसक्यो ।’ काल्चेको जंगलमा रोकेर राखेको खाली एम्बुलेन्सले सुर्खेत प्रवेश पाउने वा नपाउने भन्ने विषयमा प्रमुख जिल्ला अधिकारी र प्रहरी उपरिक्षक दुवैले कुनै जवाफ दिएनन ।

एम्बुलेन्स रोक्नु कोरोना समास्याको समाधान होइन । समयमै उपचार नपाउँदा विरामीको ज्यान समेत जान सक्छ । द्वन्द्वको समयमासमेत निर्वाध चल्ने एम्बुलेन्स लकडाउन र नाका सिलमा रोकिनु राम्रो होइन तर सिमा वारपार गर्ने एम्बुलेन्स र त्यसमा सवार विरामीलाई सेनिटाइजर गरेर सुरक्षित प्रवेश गराउनु उचित हुने सामाजिक अभियान्ता हरि प्रसाद अधिकारीको भनाई छ ।

सुर्खेतमा १५ एम्बुलेन्स
स्वास्थ्य सेवा कार्यालय सुर्खेतका अनुसार सुर्खेतमा सरकारी तथा विभिन्न सामाजिक संघ संस्था र निजी अस्पतालहरुका गरी १५ वटा सञ्चालनमा रहेका छन् । प्राथमिक स्वास्थ्य केन्द्र अवलचिङको एक, बौद्ध ग्रामीण सहकारी संस्था लि. भे १ च १६३१, यातायात मजदुर जागरण सहकारी संस्थाको भे १ च २४०८, माया नसिंङ होम प्रा.लि. भे १ च १४५०, भू.पू. सैनिक कल्याणकारी समिति सुर्खेत २ वटा चालु अवस्थामा रहेका छन् ।

त्यसैगरी नेपाल रेडक्रस सोसाइटीको भे १ च ६०५, देउती अस्पताल प्रा.लि. सुर्खेत भे १ च १८८०, प्रदेश अस्पताल २ वटा, प्राथमिक स्वास्थ्य केन्द्र सालकोट भे १ च १४१२, शिवधाम धार्मिक संस्था बावियाचौर भे १ च १५९९, नेपाली सेना म.प. पृतना, नेपाल अर्वुद रोग निवारण संस्था भे १ च ६७६, स्वास्थ्य चौकी गुटु भे १ च २६२४, साइनिङ्ग अस्पताल आइएनएफ भे १ च २६६९ नम्बरको एम्बुलेन्सहरु सुर्खेतमा सञ्चालनमा रहेका छन् ।

तपाईको प्रतिक्रिया